logo-img

जनकपुरधाम मेयर कप टी–२० क्रिकेट प्रतियोगिता सुरु

जनकपुरधाममा बिहीबारदेखि ‘जनकपुरधाम मेयर कप टी–२० क्रिकेट प्रतियोगिता’ सुरू भएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा ‘अन्तर्राष्ट्रिय विकास र शान्तिका लागि खेलकुद’ भन्ने मूल नाराका साथ सुरू भएको यस प्रतियोगतामा कूल १२ वटा टोलीको सहभागिता रहेको छ । 

प्रतियोगिता जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१४ रजौलस्थित निर्माणाधिन रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालामा सुरू भएको छ ।

प्रतियोगितामा जनकपुरधाम, महोत्तरी र सिरहा, हेटौंडा, रौतहट र बारा, काठमाडौं, सप्तरी र पोखरा तथा विराटनगर, सर्लाही र पर्साका टिमहरूले प्रतिस्पर्धा गरिरहेका छन् ।

सहभागी टोलीलाई चार समूहमा विभाजन गरी प्रत्येक समूहमा तीन/तीनवटा टिम राखेर लिग कम नकआउटका आधारमा टी–२० फर्म्याटमा खेलहरू सञ्चालन गरिएकाे जिल्ला क्रिकेट संघ धनुषाले जनाएको छ ।

प्रतियोगितामा सहभागी चारवटै समूहको नामाकरण माता सीतालाई सम्बोधन गर्नेगरी जानकी, बैदेही, मैथिली र भूमिजा राखिएको छ ।



गोला प्रथाद्वारा टिमहरूको समूहगत छनोट गरिएकोमा जानकी समूहमा जनकपुरधाम, महोत्तरी र सिरहा, वैदेही समूहमा हेटौडा, रौतहट र बारा, मैथिली समूहमा काठमाण्डौं, सप्तरी र पोखरा तथा भूमिजा समूहमा विराटनगर, सर्लाही र पर्साका टिमहरूलाई समावेश गरिएको छ ।

यस प्रतियोगितालाई आफूहरूले जनकपुरधाममा अन्तर्राष्ट्रिय खेल मैदान (रंगशाला) निर्माणको एक भर्याङको रुपमा लिएको प्रतियोगिताका संयोजक सरोजकुमार मिश्रले बताए । उनले जनकपुरधामबासीलाई रंगशाला निर्माणतर्फ ध्यान केन्द्रित गर्न यस प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने दाबीसमेत गरेका छन् ।



जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकन्त पाण्डे(गुड्डु)ले प्रतियोगिताको फाइनल खेल वैशाख १ गते हुने जानकारी दिए । उनले प्रतियोगिताको विजेता टिमलाई २ लाख ५१ हजार र उपविजेतालाई १ लाख ५१ हजार पुरस्कारसहित ट्रफीसमेत प्रदान गरिने बताए ।

म्यान अफ दि सिरिजले २५ हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार र म्यान अफ दी म्याचले ३ हजार नगद पुरस्कार पाउने छन् ।

जनकपुरधाममा रंगशाला निर्माणका प्रमुख अभियानी दिनेश पुर्वेले सुरू गरेको अभियानलाई उजागर गर्नु प्रतियोगिताको प्रमुख उद्देश्य रहेको अध्यक्ष पाण्डेले बताए । निर्माणाधिन रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको कार्यलाई गति दिनुका साथै सम्पूर्ण सरोकारवालाहरूलाई स्वामित्व ग्रहण गर्न आग्रह गर्दै उनले सबैजनालाई यसमा अगाडि आउन जरूरी रहेकोसमेत बताए ।

उद्घाटन खेलमा जनकपुरधाम विजयी

प्रतियोगिताको पहिलो दिनको उद्घाटन खेलमा जनकपुरधाम टिम विजयी भएको छ । 

उद्घाटन खेलमा महोत्तरीलाई ३२ रनले पराजित गर्दै जनकपुरधामले विजयी शुरुवात गरेको हो । निर्धारित २० ओभरको खेलमा जनकपुरधामले दिएको १४८ रनको लक्ष्य पछ्याएको महोत्तरी ७ विकेटको क्षतिमा ११५ रनमै सीमित भयो ।

महोत्तरीका लागि सर्फराज अन्सारी २०, अभिषेक तिवारीले १९ र विनोद सहनीले १४ रनको योगदान गरे । अन्य ब्याट्सम्यानहरुले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । 

महोत्तरीलाई सस्तैमा समेट्न जनकपुरधाम टिमका कृष्णा कार्कीले घातक बलिङ्ग गर्दै सर्वाधिक ३ विकेट लिन सफल भए । त्यस्तै आकाश राय, हरिशंकर साह र बिक्रम यादवले १/१ विकेट लिए । 

टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरधामले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४७ रनको स्कोर खडा गरेको थियो । जनकपुरधामका लागि हिमांशु दत्त र पर्शुराम यादवले २८/२८, शरद भेष्वाकरले १७ रनको योगदान गरे । 

महोत्तरीका लागि विनोद सहनीले सर्वाधिक ३ विकेट लिए । त्यस्तै नितेस यादव, अभिषेक तिवारी, रमेश सहनी र नविन यादवले १/१ विकेट लिए ।

जनकपुरधाम उपमहानगरपालिका आयोजक रहेको यस प्रतियोगताको संयोजन जिल्ला क्रिकेट संघ धनुषाले गरेको छ भने प्रतियोगिता आयोजनाका लागि फ्याक्ट्स नेपालले सहकार्य गरेको छ ।

  • प्रकाशित मिति : चैत २३, २०७९ बिहीबार १९:१०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया