बिरामीको मृत्यु भएपछि प्रादेशिक अस्पताल जनकपुरधाममा तनाव

उपचारका क्रममा बिरामीको मृत्यु भएपछि प्रादेशिक अस्पताल जनकपुरधाममा तनाव भएको छ । उपचारमा चिकित्सकले लापरबाही गरेको आरोप लगाउँदै मृतकका आफन्तले शुक्रबार अस्पतालमा तोडफोड गरेपछि तनाव भएको हो ।

छाती दुखेपछि शुक्रबार बिहान अस्पताल भर्ना भएका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ जानकी नगरका ६० वर्षीय रामबाबु साहको दिउँसो करिब २ बजे मृत्यु भएको थियो । 
सामान्य अवस्थामा भर्ना भएका बिरामीको चिकित्सकले लापरबाही गर्दा मृत्यु भएको आरोप मृतकका छोरा कृष्णा साहले लगाएका छन् ।

‘बिहान उपचारका लागि अस्पताल पुगेका बिरामीको दिउँसो मृत्यु भएको छ,’ मृतकका छोरा कृष्णाले भने, ‘छाती दुखेपछि भर्ना गरेका थियौँ । उपचारका लागि डाक्टरलाई पटक–पटक बोलायौँ, तर आएनन् । उपचार गर्न नसक्ने अवस्था भए अन्यत्र रेफर गरिदिनुपथ्र्यो । हामी अन्तै लैजान्थ्यौँ ।’ 

कृष्णाले आफ्नो बुवा दिनको १२ बजेसम्म एकदम ठीक रहेको र आफूले भाइलाई अस्पतालमा छाडेर खाना खान घर गएको बेला अचानक उनको स्वास्थ्य अवस्था खराब हुँदा चिकित्सकहरुले उपचारप्रति कुनै चासो नदेखाएको आरोप लगाए । चिकित्सकहरुसँग उपचारका लागि एक घण्टासम्म गुहार लगाएपनि कसैले केही नसुनेको र अनाहकमा आफ्नो बुवाको ज्यान गएको उनको दुःखेसो छ । 

यता, अस्पतालका चिकित्सक डा.शरद यादवले बिरामीको अवस्था पहिलेदेखि नै खराब रहेको र अक्सिजनको मात्रा पनि कम रहेको बताए । उनले भने, ‘गम्भीर अवस्थामा पनि उनी उपचारकै क्रममा आफैं बाथरुममा आवतजावत गरिरहेका थिए । सोही क्रममा बाथरुममै लडेर अचानक उनको मृत्यु भयो । यस घटनामा अस्पतालको कुनै गल्ती छैन ।’

यसैबिच, अस्पतालमा तोडफोड गरेको भन्दै प्रहरीले मृतकका छोरा कृष्णा साहसहित आफन्तहरु रवि साह र आशिष साहलाई पक्राउ गरेको थियो । उनीहरुलाई ३ घण्टापश्चात् रिहा गरिएको छ । मृतकका आफन्तले उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कारबाही गर्नुपर्ने माग गरेका छन्। चिकित्सकको लापरबाहीका कारण प्रादेशिक अस्पताल जनकपुरमा यस्ता घटना पटक–पटक दोहोरिने गरेको स्थानीयको आरोप छ । 





  • प्रकाशित मिति : वैशाख ८, २०८० शुक्रबार २०:१०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया