एसिसी प्रिमियर कप
साउदीसँग अंक बाँडे पनि नेपाल एक खेल अगावै सेमिफाइनलमा

एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेटमा आज हुने भनिएको नेपाल र साउदी अरबबीचको खेल रद्द भएको छ । वर्षा नरोकिएपछि खेल रद्द भएको हो । योसँगै नेपाल र साउदीले १/१ अंक बाँडे । 

खेल रद्द भए पनि नेपाल एक खेल अगावै प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । नेपाल–साउदीबीचको खेल बिहान ९ बजेदेखि मूलपानी क्रिकेट मैदानमा सुरु हुने तालिका थियो । तर, पानी नरोकिएपछि म्याच रेफ्रीले औपचारिकरूपमा नेपाल र साउदी अरबबीचको खेल रद्दको निर्णय सुनाए । 

अब नेपालले समूह चरणको अन्तिम खेलमा बिहीबार कतारको सामना गर्नेछ । नेपाल र कतारबीचको खेल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

नेपाल र साउदीले अंक बाँडेसँगै कतार र मलेसिया भने प्रतियोगिताबाट बाहिरिएका छन् । अब समूह ‘ए’ बाट ओमान र साउदी अरेबियाको विजेतामध्ये एकले सेमिफाइनलमा स्थान बनाउनेछ ।   

खेल रद्दपछि समूह ‘ए’ को शीर्ष स्थानमा रहेको नेपालको ३ खेलबाट ५ अंक भएको छ । साउदीले ३ खेलबाट ३ अंक जोडेको छ । यही समूहमा रहेका ओमानको ३ खेलबाट ४ अंक रहेको छ । मलेसियाले ३ खेलबाट २ जोड्दा कतार भने अंकविहीन छ ।

जारी प्रतियोगिताको समूह समूह ‘ए’ मा नेपाल, ओमान, साउदी अरेबिया, मलेसिया र कतार तथा समूह  ‘बी’ मा यूएई, सिंगापुरसहित हङकङ, कुवेत र बहराइन रहेका छन् ।



दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । ​प्रिमियर कप च्याम्पियन टिमले आउँदो एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने मौका पाउनेछ ।  



  • प्रकाशित मिति : वैशाख ११, २०८० साेमबार १२:५४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया