logo-img

डाटा रिकभरी नभएपछि लाेकसेवाले गर्याे पुनः दरखास्त आह्वान

लोकसेवा आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएको सरकारी एकीकृत डाटा सेन्टरमा रहेको तथ्यांक हराएपछि आज उम्मेदवारका लागि पुनः दरखास्त आह्वान गरेको छ । 

आयोगले डाटा सेन्टरबाट पहिले दरखास्त बुझाएको फारामको तथ्यांक हराएकाले उम्मेदवारलाई पुनः दरखास्त गर्न आह्वान गरिएको आयोगका सूचना अधिकरी देवीप्रसाद सुवेदीले जानकारी दिए । डाटा रिकभरी गर्न नसकिने भएपछि पुनः दरखास्त गर्नुपरेको उनकाे भनाइ छ । 

'डाटा सेन्टरमा अवस्थित पूर्वाधारमा ०७९ फागुन २३ गते समस्या सिर्जना भएपश्चात् डाटा सेन्टरबाट डाटा रिकभरीको कार्य भइरहेको, तर प्रक्रिया कहिलेसम्म पूरा हुने र के कति डाटा रिकभरी हुने सम्बन्धमा यकिन गर्न नसकिने व्यहोराको जानकारी प्राप्त भएको छ,' उनले भने, 'डाटा रिकभरी भएपछि अनिश्चितकालसम्म आयोगका पूर्वप्रकाशित विज्ञापनसम्बन्धी कार्यलाई यथास्थितिमा राखिरहन नमिल्ने भएकाले यही वैशाख १४ गतेको आयोगको निर्णयले पुनः दरखास्तका लागि आह्वान गरिएको हो ।'

आयोगले गत मंसिर, पुस र माघ महिनामा प्रकाशित ती पदका विज्ञापनमा पुनः दरखास्त आह्वान गरेको हो । ती पदमा सम्बन्धित उम्मेदवारले आगामी जेठ १८ गतेभित्र पुनः दरखास्त पेस गरी सक्नुपर्नेछ । 

०७९ मंसिर महिनामा प्रकाशित राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सोसरहको पदको विज्ञापन, पुस महिनामा प्रकाशित राजपत्र अनंकित प्रथम श्रेणीको अप्राविधिक नायब सुब्बा वा सोसरह पदको विज्ञापन र माघ महिनामा प्रकाशित राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक) नायब सुब्बा वा सोसरह र स्वास्थ्य सेवातर्फ पाँचौँ तहको पदको विज्ञापनमा पेस भएका दरखास्तसम्बन्धी विवरणको डाटा हराएको हो । 

पूर्वउम्मेदवारले दरखास्त दस्तुर बुझाएको राजस्वसम्बन्धी विवरण सरकारको राजस्व व्यवस्थापन सूचना प्रणालीबाट प्राप्त गरी अनलाइन दरखास्त प्रणालीमा अद्यावधिक गरिसकिएको हुँदा पुनः दरखास्त पेस गर्ने उम्मेदवारले दरखास्त दस्तुर बुझाउनुपर्ने छैन ।



पुनःदरखास्त आह्वान गरिएका विज्ञापनमा साविकमा जुन समूहको विज्ञापनमा आवेदन गरिएको हो । सोही समूहको विज्ञापनमा मात्र आवेदन गर्नुपर्नेछ । यसपूर्व दरखास्त पेस गर्ने कुनै उम्मेदवारको प्रोफाइल आयोगको दरखास्त प्रणालीमा उपलब्ध नभई लगइन गर्न असमर्थ भएको अवस्थामा त्यस्ता उम्मेदवारले साविकमा दरखास्त पेस गर्दा आफूले उल्लेख गरेको मोबाइल नम्बर प्रयोग गरी नयाँ प्रोफाइल खोली पुनः दरखास्त पेस गर्नुपर्ने सूचनामा उल्लेख छ ।



  • प्रकाशित मिति : वैशाख २०, २०८० बुधबार २०:१७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया