नक्कली शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही हुन्छ : उपाध्यक्ष महरा
फाइल फाेटाे

सरकारको नेतृत्व लिएको नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले ‘नक्कली शरणार्थी प्रकरण’मा संलग्न जोकोहीलाई कारबाही हुने बताएका छन् । महराले सरकार भित्र भए पनि वा बाहिर भए पनि सो प्रकरणका दोषीमाथि कारबाही हुने बताए । 

शनिबार संवाद डबलीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो प्रकरणमा संलग्नहरुलाई कारवाही गर्ने कुरामा कुनै पनि खालको भेदभाव नहुने बताए । उपाध्यक्ष महराले भने, ‘जो दोषी छन् । तिनी कारबाहीको दायरा भित्र पर्दछन् । जो दोषी छैन, त्यो त कारबाहीको दायरा भित्र पर्ने कुरा भएन । सरकार भित्र हुन वा बाहिर, दोषीलाई कारबाही हुन्छ । त्यसमा कुनै भेदभाव हुँदैन ।’

उपाध्यक्ष महराले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिँदैमा वर्तमान सरकार नढल्ने दाबी गरे । राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिए पनि बहुमत रहेकाले वर्तमान सरकार कायमै रहने उनको तर्क थियो । 

उनले सरकारलाई विश्वासको मत लिन पनि कुनै समस्या नभएको बताए । उनले भने, ‘पहिलो कुरा, सरकारको बारेमा के हुन्छ भन्ने कुरा आएको छ आज भोली । जस्तो यो मोर्चामा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी पनि थियो । अब सरकारमा सहभागी हुने वा नहुने विषयमा आजको मितिमा राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा नहुने भन्ने आएपछि सरकार के हुन्छ त ? भन्ने जिज्ञासा हुन सक्छ । यस विषयमा सामान्यतः सरकारलाई सहयोग गरेको पार्टीले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुपर्ने हुन्छ । तर सरकारसँग रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी नभए पनि पर्याप्त बहुमत छ । बहुमतको अभाव छैन । त्यसकारणले सरकार टिक्छ । सरकार यथावत् रहन्छ । र, विश्वासको मत पनि जित्छ भन्ने आधार छ । त्यसकारण यसमा मैले कुनै दुविधामा नरहन पनि पत्रकार मित्रहरूलाई आग्रह गर्न चाहन्छु ।’

उपाध्यक्ष महराले समाजवादी मोर्चा घोषणाका लागि आफूहरू प्रयासरत रहेको समेत बताए । त्यसका लागि नेकपा (समाजवादी पार्टी), जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपासहितका ६ वटा राजनीतिक पार्टीसँगको छलफल जारी रहेको उनले बताए ।  





  • प्रकाशित मिति : वैशाख २३, २०८० शनिबार १५:३२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया