हर्क साम्पाङप्रति वैरभाव राख्नुपर्ने कारण छैन, पूर्व आउँदा धरानमा श्रम गरौँला : विष्णु रिमाल

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईलाई ‘बौलाहा मेयर’ भनेपछि आलोचना खेपेका नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले स्पष्टीकरण दिएका छन् । ​ 

लगातार आलोचित बनेपछि रिमालले आफूले गोप्य प्रयोजनको कार्यक्रममा उक्त कुरा बोलेको भन्दै जवाफ दिएका हुन् । हर्क साम्पाङ र बालेन साहलगायतप्रति वैरभाव राख्नुपर्ने कुनै कारण नभएको पनि उनले उल्लेख गरेका छन् ।  

‘हर्क साम्पाङ र बालेन साहजस्ता साथीहरू स्थानीय सरकारको नेतृत्वमा आउनु भएको छ । केही गर्छु भन्ने युवाहरू, चाहे मेरा पार्टीका हुन् वा स्वतन्त्र, उहाँहरूप्रति वैरभाव राख्नुपर्ने कारण नै छैन,’ रिमालले लेखेका छन् ।  

उनले गोप्य प्रयोजनका लागि भएको कार्यक्रममा बोलेका कुरा सामाजिक सञ्जालमार्फत बाहिरिएको भन्दै डिजिटल युगमा केही कुरा गोप्य हुन नसकेको पनि उल्लेख गरेका छन् ।   

‘डिजिटल युगमा गोप्य, गोप्य रहँदो रहेनछ– कुनै न कुनै तरिकाले ओपन हुँदो रहेछ । हो, यहाँ चाहिँ मेरो असावधानी हुनपुग्यो । हामी छर–छिमेकमा, दाजुभाइका बीचमा कुरा गर्दा दाइ सा’प, काका सा’प भन्दैनौँ । लोकल स्ल्याङ्गमा– कालेदाइ, सेतेदाइजस्ता शब्दहरू पनि प्रयोग हुन्छन् । त्यस्तै, त्यो बन्द/बैठकमा कुरा राख्दा अनौपचारिक तबरबाट प्रयोग भएको शब्द/वाक्य/वाक्यांश सार्वजनिक हुँदा सायद अशोभनीय सुनियो । अमर्यादित जस्तो लाग्न पुग्यो,’ रिमालले फेसबुकमा लेखेका छन् ।   

गत शनिबार एमालेनिकट महिला संगठन अखिल नेपाल महिला संघको कार्यक्रममा रिमालले साम्पाङलाई ‘बौलाहा मेयर’ को संज्ञा दिएका थिए ।  उनको यो अभिव्यक्तिपछि साम्पाङले विभिन्न गाली गर्दै भिडियो सामग्री र स्टाटस पोस्ट गरिरहेका छन् ।  



साम्पाङ र सामाजिक सञ्जाल प्रयोगकर्ताको चर्को आलोचनापछि रिमालले आफूले नकारात्मक तरिकाले उक्त अभिव्यक्ति नदिएको पनि उल्लेख गरेका छन् । 

‘म अहिले पनि भन्छु, यो देश बनाउन काममा निर्लिप्त भएर लाग्नै पर्छ, एकप्रकारले भन्ने हो भने हामी ‘‘बहुलाउनै’’ पर्छ । म पूर्व आउँदा धरानमा पनि आउन सक्छु, मौका मिले त्यहाँ पनि श्रम गरौँला । मौका नमिले पनि म श्रमबाट टाढा छैन,’ रिमालले लेखेका छन् । 



  • प्रकाशित मिति : जेठ ११, २०८० बिहीबार ७:१९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया