तीन करोडको आरोप लागेपछि ढाकाविरुद्ध मानहानिको मुद्दा दर्ता गर्ने तयारीमा ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता डा. मुकुल ढकालले पार्टीका निलम्बित समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठविरुद्ध मानहानिको मुद्दा दर्ता गर्ने बताएका छन् ।  

श्रेष्ठले सांसद बनाउँदा आफूसँग पार्टीका प्रवक्ता ढकाल र उपसभापति डिपी अर्यालले झन्डै ३ करोड रुपैयाँ लिएको आरोप लगाएपछि ढकालले उनीविरुद्ध मानहानिको मुद्दा दर्ता गर्ने बताएका हुन् ।   
  
‘केही सञ्चारमाध्यममा मैले र पार्टी उपसभापति डिपी अर्यालले ढाकाकुमार श्रेष्ठसँग २ करोड ८४ लाख मागेको भनेर समाचार आएकोमा गम्भीर ध्यानाकर्षण भएको छ’, प्रवक्ता ढकालले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो हाम्रो मान, प्रतिष्ठा र इज्जतलाई धुमिल्याउन सकिन्छ कि भनेर सार्वजनिक गरिएको देखिन्छ । यसलाई कसैले पुष्टि गर्छ भने हामी जस्तोसुकै सजाय भोग्न तयार छौँ । यसबाट हामीले हाम्रो मानहानि भएको महसुस गरेको हुँदा अदालतमा मानहानिको मुद्दा दर्ता गर्दै छौँ ।’

उनले आरोप लगाइएको २ करोड ८४ लाख बराबर नै क्षतिपूर्तिको माग दाबी गर्दै मुद्दा दर्ता गर्ने पनि उल्लेख गरेका छन् । अदालतले क्षतिपूर्ति दिलाएमा उक्त रकम रास्कोट अस्पताललाई सहयोगार्थ दिने पनि ढकालले घोषणा गरेका छन् ।  
 
ढाकाकुमारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिकपछि रास्वपाले उनलाई पार्टीबाट निलम्बन गरेको थियो ।   
 





  • प्रकाशित मिति : जेठ ११, २०८० बिहीबार ९:९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया