गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश- लोकतान्त्रिक आन्दोलनको वाचाको आत्मसमीक्षा गर्न जरुरी छ

राष्ट्रपति रामचन्द्र पौडेलले १६औँ गणतन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपालीमा बधाईसहित सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले दिएको शुभकामना सन्देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवन बलिदान गर्ने अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ ।

उनले गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनको नेतृत्व गर्ने राजनीतिक दलका नेतृत्वप्रति सम्मान तथा यसमा सहभागी राजनीतिक कार्यकर्ता, नागरिक समाजका अगुवालगायत सबैको योगदानको उच्च प्रशंसा गरेका छन् । 

राष्ट्रपति पौडेलले जारी गरेको सन्देशमा भनिएको छ, ‘नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झना चिरस्थायी बनाउन हामीले प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसका रूपमा मनाउँदै आएका छौँ । कुनै एक वंश विशेषमा ज्येष्ठताको आधारमा श्रेष्ठता तय गरिने प्रणालीलाई नागरिकको सहभागिताद्वारा आमूल परिवर्तन गरी हरेक नागरिक समान हुने प्रणालीको स्थापना हुनु हाम्रो बहुलवादमा आधारित लोकतान्त्रिक गणतन्त्रको प्रमुख विशेषता हो ।’

उनले गणतन्त्रले उद्देश्यअनुसारको राजनीतिक आचरण र चरित्र खोजेको कुरालाई बिर्सेमा अग्रजहरूको लामो सङ्घर्ष तथा नागरिकको ठूलो बलिदानप्रति नै अपमान गरेको ठहर्ने बताएका छन् । 

‘लोकतन्त्रका लागि भएका आन्दोलनको मुख्य वाचा ‘शासन प्रणाली हावा, पानी माटो सुहाउँदो होइन जनता सुहाउँदो हुनुपर्छ र त्यसले जनताको जीवनस्तरमा सुधार ल्याउनुपर्छ’ भन्ने थियो । आन्दोलनमा जनतालाई सहभागी हुन तिनताका गरिएका वाचाहरूमा हाम्रो ध्यान कति पुग्न सक्यो कि सकेन भनेर वर्तमानमा आत्मसमीक्षा गर्न जरुरी छ,’ राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा भनेका छन् । 

जनताको अधिकारका लागि एउटै पुस्ताले तीन/तीनपटक सङ्घर्ष र आन्दोलन गर्नुपरेको इतिहास संसारमा बिरलै रहेको भन्दै सत्तरी वर्ष सङ्घर्ष गरेर देशमा एउटा प्रणालीको टुङ्गो लगाएको शुभकामना सन्देशमा उल्लेख छ ।  



‘जनताको हातमा अधिकार पुगेको छ । देश ग्रामीण विकासको बाटोमा अग्रसर छ । वडा तहदेखिकै हजारौं जनप्रतिनिधिमार्फत राज्यसत्तामा जनताको पहुँच र अधिकार स्थापित भइरहेको छ । समावेशी व्यवस्था कायम भएको छ । केही व्यक्ति विशेषका आचरण र व्यवहारलाई लिएर जनताको व्यवस्थामाथि नै आँच पुर्‍याउने गतिविधि र बारम्बारको नयाँ प्रयोग यो राष्ट्रले अब धान्न सक्दैन,’ शुभकामना सन्देशमा भनिएको छ ।

राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र जनताको घर आँगनमा सेवा, सुविधा र विकास पुर्‍याउन सर्वोत्कृष्ट माध्यमको काम गर्ने बताउँदै राष्ट्रपति पौडेलले देशको वर्तमान परिस्थितिले त्यसलाई प्रमाणित गर्नुपर्ने मुख्य चुनौती देखिएको बताएका छन् । शुभकामना सन्देशमा उनले भनेका छन्, ‘यो चुनौतीको सामना गर्न शासन प्रणालीको पारदर्शिता, जनताप्रति जवाफदेही राज्यप्रणाली, सुशासन, जनसहभागितासहितको विकास प्रक्रिया, सामाजिक न्याय, अवसरको न्यायोचित वितरण, रोजगारीमा तीव्र वृद्धि र सेवा प्रवाहमा चुस्तता अनिवार्य आवश्यकता हो । यसका लागि आदर्शप्रेरित, सिद्धान्तनिष्ठ राजनीति, आचरणशील तथा उच्च नैतिक राजनीतिक नेतृत्व पहिलो सर्त हो ।’ 



राष्ट्रपति पौडेलले विपन्न, निमुखा र मूलधारबाट वञ्चित नागरिक नै लोकतन्त्रको सच्चा पहरेदार भएको बताएका छन् । उनले शुभकामना सन्देशमा भनेका छन्, ‘उहाँहरूको उत्थान नहुँदासम्म समृद्ध नेपाल निर्माण हुँदैन भन्ने कुरालाई ध्यानमा राखी हाम्रा नीति तथा योजनाहरू त्यसैमा केन्द्रित होऊन् भन्ने म चाहन्छु ।’  


  • प्रकाशित मिति : जेठ १५, २०८० साेमबार ७:०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया