खप्तडमा आध्यात्मिक सम्मेलन : प्रधानमन्त्रीले उद्घाटन गर्ने, रामदेवले योगा सिकाउने
फाइल तस्बिर

सुदूरपश्चिम प्रदेशको चर्चित आध्यात्मिक तथा पर्यटकीय क्षेत्र खप्तडमा आजदेखि तीनदिने आध्यात्मिक सम्मेलन सुरु हुँदैछ । सम्मेलनको उद्‍घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् । 

सो कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पूर्वप्रधानमन्त्री, लोकप्रिय योगगुरु बाबा रामदेव र पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्णलगायतको उपस्थिति हुने बताइएको छ । 

प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा हुने यस कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले खप्तड क्षेत्रको समग्र विकास र भावी योजना तथा रणनीतिका बारेमा विशेष सम्बोधन गर्ने आयोजकले जनाएको छ ।

त्यस अवसरमा सुदूरपश्चिमका लोकप्रिय सांस्कृतिक झाँकीहरू भुँवा, हुडक्यौली, गौरा, देउडा, पुतला नाचलगायतका प्रस्तुत गरिने जनाइएको छ । डोटी, अछाम, बझाङ र बाजुराले घेरिएको खप्तड क्षेत्र धार्मिक तथा बहुमूल्य जडिबुटीका लागि प्रख्यात छ ।

बाबा रामदेवले योगाभ्यास गराउने कार्यक्रम रहेको नेपालका योगगुरु लवदेव मिश्रले जानकारी दिए । पहिलो दिन बाबा रामदेव र त्यसपछिका दुई दिन आचार्य बालकृष्ण र आफूले योगा गराउने कार्यक्रम रहेको उनले बताए ।

खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहले दोस्रो दिन योगाभ्यासका साथसाथै त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं इतिहासविद् डा. राजाराम सुवेदीले खप्तडको धार्मिक र पर्यटन सम्बन्धमा कार्यपत्र प्रस्तुत पनि गर्ने छन् ।      





  • प्रकाशित मिति : जेठ २३, २०८० मंगलबार ९:५९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया