logo-img

विमान दुर्घटनापछि जंगलमा हराएका चार बालबालिकाको ४० दिनपछि जीवितै उद्धार

कोलम्बियास्थित एमजन जंगलमा भएको एउटा विमान दुर्घटनामा परेर लामो समयदेखि बेपत्ता चारजना बालबालिका जीवितै उद्धार गरिएको छ ।   

उद्धार गरिएका बालबालिका १३, ९, ४ र १ वर्षका रहेका छन् । उक्त जङ्गलमा १ मेमा भएको एउटा सानो विमान दुर्घटनामा ती बालबालिकाकी आमा र दुईजना पाइलटको मृत्यु भएको थियो । उनीहरू दर्जनौँ सैनिक र स्थानीय मानिस संलग्न एउटा ठूलो उद्धार अभियानको केन्द्रमा थिए । 

कोलम्बियाका राष्ट्रपति गुस्तभो पेत्रोलेले एकै परिवारका चारजना सन्तानको उद्धार हुनु ‘पूरा देशका लागि हर्षको विषय’ भएको प्रतिक्रिया दिएका छन् । उनले ४० दिनदेखि हराएका उनीहरूको खोजीमा संलग्न भएका कैयौँ सैनिक र आदिवासी समुदायको तस्बिर सेयर गरेका छन् ।

ती बालबालिकालाई विमानमार्फत् देशको राजधानी बोगोटा पुर्याइएको थियो । त्यहाँ एम्बुलेन्सहरूले थप उपचारका लागि उनीहरूलाई अस्पताल पुर्‍याएका थिए । दुर्घटनाअघि ती बालबालिका र उनीहरूकी आमा एमजन्स प्रान्तमा पर्ने अराराकुआराबाट सेस्ना २०६ विमानमा सान खोसे डेल गुआभिआरेतर्फ गइरहेका बेला इन्जिनले काम नगरेपछि पाइलटहरूले आपत्कालीन अवस्थाको जनाउ ‘मे डे’ जारी गरेका थिए ।

सेनाले त्यस विमानमा रहेका तीन जना वयस्क मानिसहरूका शव दुर्घटनास्थलमा फेला पारेको छ । तर ती बालबालिकाहरू भग्नावशेषबाट निस्किएर वर्षावनमा सहायता खोज्न हिँडेको देखिन्छ ।



मे महिनामा विस्तृत खोज कार्य सुरु हुँदा उद्धारकर्ताले ती बालबालिकाले छाडेका सामग्रीहरू फेला पारेका थिए । जसमा एउटा उनीहरूको पानी खाने बोतल, एक जोडी कैँची, एउटा कपाल बाँध्ने रबर, एउटा अस्थायी झुपडी फेला पारिएको थियो ।    

साना पदचापहरू समेत फेला पारिएका थिए जसले गर्दा ती बालबालिकाहरू वर्षावनमा अझै जीवितै रहेको खोजमा संलग्न टोलीले ठानेको थियो ।  उक्त जङ्गल जग्वार, सर्प र अन्य हिंस्रक जनावरहरूको वासस्थान हो ।    



आदिवासी समुदायका मानिसहरू खोज कार्यमा सहभागी थिए भने हेलिकोप्टरहरूले ती बालबालिकाकी हजुरआमाले हुईतोतो भाषामा रेकर्ड गरेको सन्देश बजाएको थियो । जसमा उनीहरूकी हजुरआमाले उनीहरूको अवस्थिति थाहा पाउन सजिलो होस् भनेर हिँड्न रोक्न आग्रह गरेकी थिइन् । 

गत महिना कोलम्बियाका राष्ट्रपतिले भूलवश ती बालबालिकाहरू फेला परेको भन्ने ट्विट गरेपछि आलोचित बनेका थिए । त्यसको अर्को दिन उनले उक्त ट्विट हटाउँदै कोलम्बियाको बाल कल्याण निकायले दिएको उक्त सूचना पुष्टि हुन नसकेको बताएका थिए । –बीबीसी

  • प्रकाशित मिति : जेठ २७, २०८० शनिबार १९:४३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया