साउदीमा सुरक्षा अधिकारीको हत्या गरेको अभियोगमा तीन जनालाई मृत्युदण्ड

साउदी अरबले एक सुरक्षा अधिकारीको हत्या गरेको र ‘आतङ्कवादी समूह’ खडा गरेको अभियोगमा आइतबार तीन आफ्ना नागरिकलाई मृत्युदण्ड दिएको छ ।

एएफपीका अनुसार यस वर्षको सुरुदेखि अहिलेसम्म साउदी अधिकारीहरूले ५२ जनालाई मृत्युदण्ड दिइसकेका छन्, जसमा २० जना आतङ्कवादसँग सम्बन्धित अपराधमा संलग्न छन् ।

साउदी अरबको गृह मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै तीनै जनाले राजधानी रियादमा एक अधिकारीको हत्या गरेको र उनको गाडीमा आगो लगाएर शव जलाएको जनाएको छ ।

उनीहरूलाई आतङ्कवादलाई आर्थिक सहयोग गरेको र हातहतियार, गोलाबारुद र विस्फोटक पदार्थ बनाउन प्रयोग हुने सामग्री राखेको अभियोगमा पनि दोषी ठहर गरिएको मन्त्रालयले जनाएको छ ।

अधिकारीहरूले आइतबार रियादमा मृत्युदण्डको सजाय सुनाएको मन्त्रालयले जनाएको छ । उक्त वक्तव्यमा प्रयोग गरिएको विधिबारे केही उल्लेख गरिएको छैन, तर राज्यले प्रायजसो टाउको छेदन गरी मृत्युदण्ड दिने गरेको छ ।

यस वर्ष ‘आतङ्कवाद’का लागि सबैभन्दा बढी मृत्युदण्ड सुन्नी मुस्लिम राज्यको पूर्वी क्षेत्रमा भएको छ, जहाँ शिया अल्पसङ्ख्यक समुदायको बाहुल्यता छ । गत महिना साउदी अरबले दुई बहराइनीलाई पनि आतङ्कवादसँग सम्बन्धित अपराधमा मृत्युदण्ड दिएको थियो ।



साउदी अरब विश्वकै सबैभन्दा धेरै मृत्युदण्ड दिने मुलुकमध्ये एक हो । गत वर्ष आतङ्कवादसँग सम्बन्धित अपराधमा १४७ जनालाई मृत्युदण्ड दिइएको थियो, जसमध्ये ८१ जना एकै दिन मारिएका थिए । सामूहिक मृत्युदण्डको घटनाले अन्तर्राष्ट्रिय स्तरमा आक्रोश उत्पन्न गरेको थियो ।

सन् २०१५ मा राजा सलमानले सत्ता सम्हालेयता एक हजारभन्दा बढीलाई मृत्युदण्ड दिइएको बेलायतस्थित रिप्रिभ र युरोपियन साउदी अर्गनाइजेसन फर ह्युमन राइट्सले यसै वर्षको सुरुमा प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख छ । 



  • प्रकाशित मिति : जेठ २९, २०८० साेमबार ११:४१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया