logo-img

मेडिकल विश्वविद्यालयको माग गर्दै सुदूरपश्चिम प्रदेश सभा घेराउ

कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय माग गर्दै सुदूरपश्चिम प्रदेश सभा घेराउ गरिएको छ । आइतबार सुदूरपश्चिममा आमहड्ताल गरेको विश्वविद्यालय स्थापनार्थ संघर्षले आज सोमबार प्रदेश सभालाई घेराउ गरेको हो । प्रदेश सभाको बैठक सोमबार ३ बजेका लागि बोलाइएको थियो । मुलगेटमै आन्दोलनकारीले घेराउ गर्दै धर्ना दिएपछि पछाडिको गेटबाट सांसदहरूले प्रवेश गरेका थिए । अहिले प्रदेश सभा बैठक जारी रहेको छ ।

संघीय मन्त्रिपरिषद्ले गेटामा विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । नीति तथा कार्यक्रममा पनि गेटामा स्वास्थ्य विश्व विद्यालय सञ्चालन गर्ने भनिएको छ । तर,जेठ १५ गतेको संघीय सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा गेटामा प्रतिष्ठान स्थापना गर्दै एक सय शय्याको अस्पताल सञ्चालन गर्ने उल्लेख भएपछि सुदूरपश्चिममा संघर्ष सुरु भएको हो । प्रदेश सरकारले भने गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन विषयमा एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतिबद्ध जनाएको छ ।

गेटामा स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालन गर्न प्रतिबद्ध रहेको सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रेस विज्ञप्ति जारी गर्नै प्रतिबद्धता जनाएका हुन् । मुख्यमन्त्री शाहले गेटामा प्रदेशका आम नागरिकको चाहना र नेपाल सरकारको पूर्व निर्णय बमोजिम सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने गरी आवश्यक कानुनी र अन्य व्यवस्था मिलाइने प्रतिबद्धता जनाएका छन् ।



मुख्यमन्त्री शाहले सुविधा सम्पन्न अस्पतालसहितको स्वास्थ्य सेवा एवं चिकित्सा शिक्षाको केन्द्रको रूपमा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना र विकासको कार्यमा शीघ्रताका लागि नेपाल सरकारसँग विशेष अनुरोध गरेका छन् । उनले आम सुदूरपश्चिमवासी नागरिकको माग, चाहना र आवश्यकता पूरा गर्न गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको जनाएका छन् ।

‘गेटा मेडिकल कलेज सुदूरपश्चिम प्रदेश र सिङ्गो मुलुककै स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको केन्द्रको रूपमा विकास हुनुपर्छ भन्ने हामी सबैको चाहना हो’, मुख्यमन्त्री शाहले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रा माग र चाहना बमोजिम नै नेपाल सरकारले गेटा मेडिकल कलेजमा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने कानुनी प्रक्रिया अघि बढाएको पनि हामी सबैलाई स्मरण नै छ ।’

यसैबीच अर्थमन्त्री प्रकाशशरण महतले गेटामा मेडिकल विश्वविद्यालय नै बन्ने बताएका छन् । आज संसद बैठकमा सांसदहरूले बजेटमाथि उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले त्यस्तो बताएका हुन् ।
 





  • प्रकाशित मिति : जेठ २९, २०८० साेमबार १५:४७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया