के सरकार ढल्न लागेकाे हाे ? सत्तापक्ष र प्रतिपक्षका आ-आफ्नै दाबी

सत्ता गठबन्धनमा रहेका तीन दल र विप्लव नेतृत्वकाे नेकपा मिलेर समाजवादी माेर्चा गठन भएपछि अहिले सरकार परिवर्तनकाे चर्चा सुरु भएकाे छ । सत्ता सहयात्री कांग्रेसलाइ दंग्याउन र एमालेलाइ तर्साउन समाजवादी माेर्चा गठन गरेकाे चर्चा चलिरहँदा सरकार परिवर्तनकाे पनि चर्चा सुरु भएकाे हाे । 

शनिबार काठमाडौंमा भएको एक साक्षात्कार कार्यक्रममा नेकपा (एमाले)का युवा नेता माधव ढुंगेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको आयु सकिन लागेको दाबी गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाभित्र सत्ताको आकांक्षा पलाइसकेको भन्दै उनले सरकारको आयु सकिनै लागेको बताएका हुन् ।

साक्षात्कार कार्यक्रममा उनले अहिले कांग्रेसभित्र नेतृत्वको आकांक्षा पलाएको र अब यो सरकार ढल्ने संकेत गरेका हुन् । उनले भने, ‘कांग्रेसले नेतृत्व गर्छु भन्नेबित्तिकै सरकार ढलिहाल्छ नि । यो सरकार कांग्रेसको आकांक्षामा भर पर्छ ।’ एमाले यो सरकार ढाल्ने र गिराउने खेलमा नरहे पनि वर्तमान सरकार आफैँ ढल्ने अवस्थामा रहेको नेता ढुंगेलले बताए । 

सोही कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेले भने प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार अहिलेको अवस्थामा कुनै हालतमा पनि नढल्ने दाबी गरे । नेता पाण्डेले भने, ‘अहिले कुनै पनि नयाँ समीकरण बन्ने र गठबन्धन ढल्ने कुरा हुँदैन । यसमा ढुक्क भए हुन्छ ।’

यता, नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रामकृष्ण यादवले पनि वर्तमान सरकार परिवर्तन गर्ने आफूहरूको कुनै तयारी र योजना नरहेको स्पष्ट पारेका छन् । 

उनले कांग्रेस एमालेसँग मिलेर सरकार बनाउन लागिपरेको भन्ने कुरामा कुनै सत्यता नभएको भन्दै त्यसलाई हल्लाको संज्ञा दिएका हुन् । यादवले वर्तमान सरकार बनाउनको लागि कांग्रेसकै भूमिका निर्णायक भएको भन्दै सरकार परिवर्तन गर्ने कुरा हल्ला र मिथ्या भएको टिप्पणी गरे । 



उनले भने,‘सरकार बनाउनको लागि कांग्रेसले निर्णायक भूमिका खेलेको छ । यो गठबन्धनको अभिभावक कांग्रेस हो । अहिले कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउने भन्ने कुरा आएको छ, त्यसमा कुनै सत्यता छैन । यो हल्ला हो । निराधार कुरा हो । यसमा कुनै सत्यता छैन । यो मिथ्या हो । यो सरकार स्थायी छ । पाँचै वर्ष यही गठबन्धनको सरकार टिक्छ ।’

 



  • प्रकाशित मिति : असार ९, २०८० शनिबार २०:४५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया