logo-img

कोसी प्रदेश : मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने विपक्षीको निर्णय

कोसी प्रदेशका विपक्षी दलहरुले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेका छन् । विपक्षी गठबन्धनले मुख्यमन्त्रीको विश्वासको मतको प्रस्ताव असफल बनाउने निर्णय गरेका हुन् । 

मुख्यमन्त्री कार्कीले प्रदेशसभाको तेस्रो अधिवेशन असार १४ गते दिउँसो १ बजेका लागि आह्वान गरेपछि काठमाडौंमा सोमबार आकस्मिक बैठक बसेर गठबन्धनले यस्तो निर्णय लिएको हो। 

प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)को प्रदेश संसदीय दलका नेतासहित उपलब्ध सांसदको बैठक काठमाडौंमा बसेको हो। 



गठबन्धनको बैठकमा कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापा, प्रमुख सचेतक भूपेन्द्र राई, सांसद केदार कार्की, माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, सांसद जीवन आचार्य, राजेन्द्र कार्की र जसपा संसदीय दलका नेता निर्मला लिम्बूलगायत सहभागी थिए।

कोसीको ९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्‍याउन ४७ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ। सत्तारुढ एमालेसँग ४० र राप्रपासँग ६ जना सांसद छन्। मुख्यमन्त्री कार्कीलाई विश्वासको मतका लागि थप १ सांसद आवश्यक पर्छ। 

प्रतिपक्षमा रहेकामध्ये कांग्रेससँग २९, माओवादी (सभामुखबाहेक) १२, एकीकृत समाजवादी ४ र जसपासँग १ जना सांसद छन्। 



माओवादीबाट निर्वाचित सभामुख बाबुराम गौतमबाहेक विपक्षीको पनि ४६ जना मात्रै सांसद छन्। समान मत भएका कारण नयाँ सरकार गठनमा निर्णायक मतका लागि प्रतिपक्षीले सभामुखको आश गरेको छ। तर, कानुनविद्हरू सभामुखले राजनीतिक दलको आवद्धता त्यागिसकेका कारण सरकार गठनमा निर्णायक मत दिन नपाउने तर्क गर्छन्। 



  • प्रकाशित मिति : असार ११, २०८० साेमबार २१:४६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया