logo-img

कोशी प्रदेशमा नयाँ सरकार गठन गर्न कांग्रेसको अग्रसरता, राप्रपालाई फकाउँदै शीर्ष नेतृत्व

कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत नपाएपछि त्यहाँ नयाँ सरकार गठनको तयारी सुरु भएको छ । शुक्रबार प्रदेश सभाबाट एमाले नेतृत्वको सरकार ढले पछि प्रदेश प्रमुख परशुराम खापुङले कार्की सरकारलाई कामचलाउको जिम्मेवारी दिएका छन् । 

उनले नयाँ सरकार गठनका लागि आह्वान गरिनसक्दै प्रदेशको दोस्रो ठूलो दल नेपाली कांग्रेसले नयाँ सरकारको नेतृत्वका लागि तयारी सुरु गरेको हो । 

काठमाडौंमा आइतबार बसेको कोसी प्रदेश कार्यसमिति पदाधिकारी बैठकले प्रदेशमा निर्माण हुने पहिलो सरकारका लागि पहल गर्ने निर्णय गरेको हो । कांग्रेसले गठबन्धन दलहरुसँग आलोपालो सरकारको नेतृत्व गर्ने प्रस्ताव पनि गरेको छ । 

जसअनुसार पहिलो दुई वर्ष नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा सरकार गठन गर्नका लागि गठबन्धन दलका शीर्ष नेताहरुसँग पहल गर्ने निर्णय भएको प्रदेशका उपसभापति रमेशजंग रायमाझीले जानकारी दिए।

सहमतिको सरकारका लागि कांग्रेस लचिलो हुँदै अघि बढ्ने जानकारी दिँदै उनले केही दिनपछि कांग्रेसका लागि सकारात्मक सन्देशसहित सरकार गठन हुनेमा विश्वस्त रहेको बताए।

नयाँ सरकार गठनका लागि नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग शीर्ष तहबाटै छलफल गरिरहेको छ । प्रदेश सरकारमा राप्रपाको सहयोगविना सरकार गठन हुन नसक्ने अवस्था छ । 



गठबन्धन दलमध्ये ठूलो दल कांग्रेस रहेकाले पहिलोपटक कांग्रेसले नै नेतृत्व गर्न पाउनुपर्ने रायमाझीको तर्क छ । त्यसपछि माओवादी केन्द्र डेढ वर्ष र एकीकृत समाजवादीले बाँकी समय सरकारको नेतृत्व गर्नुपर्ने प्रदेश कार्यसमितिको निष्कर्ष छ । 

प्रदेशमा सरकार गठनका लागि ४७ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । हाल कांग्रेस नेतृत्वको गठबन्धनसँग ४६ मत छ । यदि राप्रपाले सहयोग गरेमा गठबन्धनलाई ६ मत थपिन्छ । 



यसअघि ४० सिट रहेको एमलेले माओवादी, राप्रपा र जसपाको समर्थनमा सरकार गठन गरेको थियो । प्रदेशसभामा एक सिट रहेको जसपा सरकार गठनका लागि प्रदेशमा निर्णयक शक्ति बनेको छ ।

  • प्रकाशित मिति : असार १७, २०८० आइतबार १९:४६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया