शिक्षामा राजनीति : क्याम्पस प्रमुखको कुर्सी १९ दिनदेखि रुखमा

भक्तपुर बहुमुखी क्याम्पसमा एक महिनाअघि लागेको ताला खुल्न सकेको छैन । त्रिविका क्याम्पसहरुको नियुक्ति विवादका घटना बेला–बखत बाहिरिन्छन् । तर, भक्तपुर बहुमुखी क्याम्पसको विवाद भने एक महिना पुग्न तीन दिन बाँकी रहँदा पनि टुंगिने छाँटकाट देखिएको छैन । 

क्याम्पसका क्याम्पस प्रमुख डा. कृष्णप्रसाद पोखरेलले गत ३० चैतमा अनिवार्य अवकाश पाएका थिए । त्रिविले तत्कालीन क्याम्पस प्रमुखको अनिवार्य अवकाशपश्चात् सहायक क्याम्पस प्रमुख सुदर्शना शाक्यलाई निमित्त क्याम्पस प्रमुखमा नियुक्ति गरेको थियो । ३ वैशाखमा भएको उनको नियुक्ति वरिष्ठताका आधारमा भएको त्रिविको दाबी छ । 

त्रिवि कार्यकारी परिषद्ले सहप्राध्यापक शाक्यलाई निमित्त क्याम्पस प्रमुखको हैसियतमा जिम्मेवारी दिएको करिब डेढ महिनापछि १६ जेठमा अर्की सहप्राध्यापक कविता लुइँटेल भट्टराईलाई क्याम्पस प्रमुख नियुक्त गर्ने निर्णय गर्यो । सोही अनुसार २१ जेठमा लुइँटेल नियुक्ति पत्र लिएर क्याम्पस पुगिन् । निमित्त क्याम्पस प्रमुख शाक्य काम गरिरहेकै बेला नवनियुक्त क्याम्पस प्रमुख सहप्राध्यापक लुइँटेल भट्टराई प्रवेशपछि क्याम्पसमा विवाद सुरु भएको हो ।

विना जानकारी नयाँं क्याम्पस प्रमुख पद सम्हाल्न पुगेपछि कार्यवाहक क्याम्पस प्रमुख शाक्य क्याम्पसका कागजात प्रशासन प्रमुखलाई बुझाएर क्याम्पसबाट बाहिरिइन् । क्याम्पसका प्रशासनिक कागजात आफूलाई हस्तान्तरण गर्नुको साटो प्रशासनलाई बुझाएको भन्दै क्याम्पस प्रमुख लुइँटेल असन्तुष्ट बनिन् । विवादको बीजारोपण यहीँबाट सुरु भएको थियो । 

क्याम्पस प्रमुख र निमित्त बीचको मनमुटावबीच नेविसंघ सक्रिय देखियो । नेविसंघका कार्यकर्ताले २२ जेठमा नवनियुक्त क्याम्पस प्रमुख लुइँटेलको कुर्सी, नेमप्लेट लगेर नजिकैको रुखमा झुन्ड्याइदिए । १९ दिन अगाडि रुखमा झुन्ड्याइएको कुर्सी, नेमप्लेट अझै निकालिएको छैन । 

‘रुखमा झुन्ड्याइएको कुर्सी र नेमप्लेट अझै निकालिएको छैन । म सहायक क्याम्पस चिफको कोठामा बसिरहेकी छु,’ क्याम्पस प्रमुख लुइँटेलले भनिन्, ‘स्थानलाई लिएर खासै समस्या नभए पनि अन्य काम जस्तै शिक्षकहरुलाई तलब दिन सकिएको छैन । आर्थिक वर्ष समाप्त गर्ने समयमा यो झमेला हुुँदा प्रशासनिक काममा बाधा भएको छ ।’ विवाद समाधानका लागि पहल पनि गरिरहेको उनको भनाइ छ ।



लुइँटेलका अनुसार विद्यार्थी, प्राध्यापकहरुलाई बोलाएर छलफल भइरहेको छ । ‘क्याम्पसमा नयाँ प्रमुख आएकामा असन्तुष्ट थिए, विद्यार्थीले क्याम्पस प्रमुखको कोठामा ताला लगाए केही भएन । तर, प्रशासनमा किन तालाबन्दी गरिएको हो,  बुझ्न सकिएन,’ लुइँटेलले भनिन् । 

‘विद्यार्थीहरुका जायज मागभित्र पर्दै नपरेको विषयमा विवाद गरिएको छ । विद्यार्थीहरुको मेडम (सुदर्शना शाक्य)लाई दुव्र्यवहार भएको भन्ने गुनासो छ,’ लुइँटेल भन्छिन्, ‘मैले उहाँ मेडम (सुदर्शना शाक्य)लाई र मलाई सँगै राखेर छलफल गरी सहज रुपमा अगाडि बढ्ने वातावरण मिलाइदिन विद्यार्थीमाझ आग्रह पनि गरिरहेकी छु ।’ 



निमित्त क्याम्पस प्रमुख सुदर्शना शाक्य र आफू बसेर छलफल गरियो भने के कुराले विवाद उत्पन्न भएको हो भनेर स्वयं पनि स्पष्ट हुने उनको भनाइ छ । 

यता, नेविसंघले भने वार्तामा नबस्ने अडान लिएको छ । नेविसंघले निमित्त क्याम्पस प्रमुख सुदर्शना शाक्यलाई नै क्याम्पस प्रमुख बनाउनुपर्ने भन्दै क्याम्पस प्रमुखको कुर्सी, नेम प्लेट रुखमा बाँध्नुका साथै प्राध्यापकको हाजिर गर्ने दुईवटा ‘थम्प एटेन्डेन्स’ गायब बनाएको छ ।

क्याम्पस प्रमुख लुइँटेलका अनुसार क्याम्पस प्रमुख र प्रशासनमा तालाबन्दी गरिएको भए पनि विद्यार्थीको पठनपाठनमा भने असर नपरेको स्पष्ट पारिन् । ‘विद्यार्थीको मनोविज्ञानमा असर परेको भए पनि पठनपाठनमा कुनै अवरोध छैन । निरन्तर कक्षा सञ्चालन भइरहेका छन् । विवाद पनि एक–दुई दिनमा सहमति हुन्छ भन्नेमा आशावादी छौँ,’ प्रमख लुइँटेलले भनिन् । 

यस्तै, अनेरास्ववियु र अखिल क्रान्तिकारीले भक्तपुर बहुमुखी क्याम्पसमा भएको तालाबन्दी र क्याम्पस प्रमुखले पद बहाली गर्ने क्रममा कुर्सी रुखमा झुण्ड्याएकोमा अर्को विरोध गर्दै कारबाहीको माग गरिरहेको छ । 

आन्दोलनरत विद्यार्थी संगठनलाई प्रशासनले वार्तामा नबोलाएको, त्रिविका उपकुलपतिले पनि यस विषयमा गम्भीर भएर चासो नदिएका कारण क्याम्पसमा विवाद लम्बिएको भक्तपुर क्याम्पस स्ववियू सभापति पुकार पराजुली बताउँछन् । 

सभापति पराजुलीका अनुसार अनौपचारिक रुपमा त्रिवि रजिस्टारसहितका व्यक्तिहरुसँग छलफल भइरहेको भए पनि विवादको टुंगो लागिसकेको छैन । ‘विरोधको स्वरुप जस्तोसुकै पनि हुन सक्छ । विरोधको स्वरुप जस्तो भए पनि त्यसलाई समयमै क्याम्पस प्रशासनले वार्तामा बोलाएको भए यो विवाद लम्बिँदैन थियो होला । यस विवादले क्याम्पस तथा समाजमा सकारात्मक वा नकारात्मक दुवै मेसेज गइरहेको छ,’ सभापति पराजुलीले भने । 

स्ववियूले बारम्बार वार्ता गर्नुपर्छ भनिरहेको भए पनि त्रिविका तर्फबाट उपकुलपति र रजिस्टारले कुनै चासो नदेखाएको पराजुलीको आरोप छ । उनी भन्छन्, ‘चाँडोभन्दा चाँडो छलपल गरी यो विवादको टुंगोे लगाए समस्याको समाधान हुन्छ । हैन भने यो विवाद अझै लम्बिँदै जानेछ । र, क्याम्पस, विद्यार्थी, समाजमा नराम्रो मेसेज जानेछ ।’  
 

  • प्रकाशित मिति : असार १९, २०८० मंगलबार १९:१४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया