logo-img

धरानमा बिरुवा रोप्दै सक्रिय राजनीतिबाट बिदा भइन् एलिजा

गत माघ दोस्रो साता नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी अभिनेत्री एलिजा गौतमले सक्रिय राजनीतिबाट बिदा भएको घोषणा गरेकी छन् । गौतमले धरान उपमहानगरका मेयर हर्कराज राईको कामबाट प्रभावित भएको उल्लेख गर्दै आफूले अब सक्रिय राजनीतिबाट विश्राम लिएको घोषणा गरेकी हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘आज उहाँको (मेयर) श्रम शिविरस्थल पुगेर प्रत्यक्ष भेटवार्ता गर्ने अवसर मिलेको छ । म निकै खुशी छु । सो अवसरमा मेयर साहेबसँगै मैले पनि वृक्षरोपण गर्ने अवसर पाएँ । श्रम शिविरको लागि मैले आफ्नो व्यक्तिगत तर्फबाट १० वटा साबेल पनि प्रदान गरेकी छु । यहाँहरुले पनि आफ्नो तर्फबाट साथ र सहयोग गरिदिनुहुन अपिल गर्दछु ।’ 

उनले समाजसेवामा निरन्तर सक्रिय रहने र राजनीतिबाट बिदा भएको घोषणा गरेकी छन् । उनले लेखेकी छन्, ‘धरान उपमहानगरका मेयर हर्कराज राईको कामबाट प्रभावित छु । उहाँ धराने जनताको सुख र सुविधाका लागि अहोरात्र खटिरहनुभएको छ । उहाँप्रति सधैं उच्च सम्मान छ । देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीलाई पनि हर्कजी प्रेरणाको स्रोत हुनुहुन्छ ।’ 



दलको सक्रिय राजनीति गर्नेहरूलाई एकचोटी धरान आएर मेयरको काम हेर्नसमेत उनले अनुरोध गर्दै भनेकी छन्, ‘यसपटक म सामाजिक कामको सिलसिलामा धरान आएकी हुँ । मेरा आगामी दिन समाजसेवामा नै सक्रिय रहनेछन् । अहिलेलाई सक्रिय राजनीतिबाट विश्राम लिएको पनि यसै पोष्टमार्फत घोषणा गर्दछु ।’

माघमा भैरहवामा आयोजित एक कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा प्रवेश गराएकी थिइन् ।  





  • प्रकाशित मिति : असार २१, २०८० बिहीबार ११:४९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया