logo-img

कहिले लाग्छ मोहन्याल गाउँपालिका केन्द्रको टुंगो ?

कैलालीको मोहन्याल गाउँपालिका पहाडी भू-भागमा पर्छ । यस क्षेत्रमा आवतजावत गर्न अझ पनि सहज छैन । स्तरीय सडक अझै निर्माण हुन सकेको छैन । २०७४ मा मुलुकमा लामो समयपछि स्थानीय तहको निर्वाचन भएको थियो । त्यो निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरूले पाँच वर्ष सम्म पनि यस पालिका केन्द्रको टुङ्गो लगाउन सकेनन् । अहिले निर्वाचित भएका जनप्रतिनिधिहरूले पनि पालिकाको केन्द्र टुङ्गो लगाउन सकिरहेका छैनन् । यही असार १० गते बसेको गाउँ सभामा पालिका केन्द्रका लागि मतदान सम्म भए पनि टुङ्गो लाग्न भने सकेन ।

गाउँपालिकाको १२ औँ गाउँ सभामा हाल वडा नं. ४ को खिमडीमा रहेको पालिकाको कार्यालय वडा नं. १ को भकुण्डेटारमा सार्ने बहुमतले निर्णय गरेपछि स्थानीयले गाउँ सभामै आक्रमण गरे ।

गााउँसभाले केन्द्र सार्ने निर्णय गरेकै दिन गाउँपालिकाको भवनमा ढुंगामुढा प्रहार भएको थियो । गाउँ सभामा नीति तथा कार्यक्रमसहित पालिकाको कार्यालय सार्ने विषयमा गाउँ सभामै विवाद भएपछि स्थानीय र जनप्रतिनिधिबीच कुटाकुट नै भयो । ढुंगामुढाबाट झ्यालका सीसा फुट्नुका साथै कुर्सी भाँचिए । गाउँपालिकाले रातारात गाउँसभाको बैठक राखेर पालिकाको केन्द्र तोक्ने निर्णय गरेपछि स्थानीय आक्रोशितभएपछि कुटाकुट भएको हो । स्थानीयको आक्रमणबाट अध्यक्ष देवीदत्त उपाध्याय तथा उपाध्यक्ष कमल साउदसहित वडा नं. ५ का वडाध्यक्ष प्रविण घर्ती, वडा नम्बर ७ का अध्यक्ष नवराज कठायत लगायत गाउँसभा सदस्यहरू घाइते भएका थिए ।



हाल खिमडीमा रहेको गाउँपालिका केन्द्र सार्ने निर्णय भएपछि केही जनप्रतिनिधि र स्थानीयले निरन्तर आन्दोलन गर्दै आएका छन् । गाउँ सभामा असार १० गते आइतबार नीति तथा कार्यक्रमसहित ४६ करोडको बजेट पनि प्रस्तुत भयो । तर, बजेट पारित हुन बाँकी रहेको छ । गाउँपालिका उपाध्यक्ष कमलबहादुर साउदले केन्द्रको विषयलाई भएको विवाद अझै समाधान हुन नसकेको बताए । ६ वर्षसम्म गाउँपालिका केन्द्र तोक्न सकिएको छैन । २०७४ मा निर्वाचित भएर आएका जनप्रतिनिधिहरूको कार्यकालमै मोहन्याल गाउँपालिकाको केन्द्र सार्ने विषयमा आवाज उठ्दै आएको थियो । त्यसयता पटक–पटक गरिएका प्रयास सफल हुन सकेनन् । यसअघि गाउँपालिकाको ११ औँ गाउँ सभामा पालिकाको केन्द्र सार्ने वा हेरफेर गर्ने प्रस्तावमा सहमति जुट्न सकेको थिएन । त्यसयता ३ पटक कार्यपालिका बैठक स्थगित भएको थियो ।

भौगोलिक विकटताले मोहन्यालको केन्द्र खिमडीसम्म पुग्न पैदल हिँडेर ३/४ दिन लाग्छ । मोहन्यालमा अझै पनि पूर्वाधार विकासले फड्को मार्न सकेको छैन । त्यसैले, सबैलाई पायक पर्ने ठाउँमा केन्द्र सार्नुपर्ने माग यहाँका स्थानीय र जनप्रतिनिधिले अघि सारेका थिए । तर पनि सहमति नजुटेपछि जनप्रतिनिधिको पहिलो कार्यकाल खिमडी, सुखड, फलेबिसौना र धनगढीबाट कार्यालय सञ्चालन गर्दैमा बित्यो । यातायात र सञ्चार सुविधाको पहुँच पुग्न नसक्दा अघिल्लो कार्यकालमा गाउँपालिकाको कार्यालय छिमेकी पालिकाको सुखड, बौनियाबाट अस्थायी कार्यालय राखिएको भन्दै जनप्रतिनिधि आलोचित हुँदै आएका थिए ।

यसअघि पनि गाउँपालिका केन्द्र सार्ने विषयमा गाउँपालिका अध्यक्ष देविदत्त उपाध्याय र उपाध्यक्ष साउदबीच विवाद हुँदै आएको थियो । पालिकाले केन्द्र पायक नभएपछि गाउँपालिकाका उपाध्यक्ष कमल साउदको नेतृत्वमा केन्द्र तोक्न सिफारिस समिति गठन गरिएको थियो । गत २०८० वैशाख २४ गते बसेको गाउँ कार्यपालिका बैठकले मोहन्यालको केन्द्र वडा नं. १ को भकुण्डेटार सार्ने निर्णय गरेको थियो । ६२६.९५ वर्ग किलोमिटर रहेको कुल क्षेत्रफल मोहन्याल गाउँपालिका मोहन्याल, पण्डौन र सुगरखाल गरी तीन गाविसहरू मिलेर बनाइएको हो ।



सम्पर्क कार्यालय सुखडमा 

मोहन्याल गाउँपालिकाले अस्थायी रूपमा सम्पर्क कार्यालय घोडाघोडी नगरपालिका–१ सुखडमा राखिएको छ । वर्षा सुरु भएसँगै गाउँपालिकाको कार्यालय जाने बाटो अवरुद्ध भएको र केही असहजताका कारण केही दिनको लागी सम्पर्क कार्यालय स्थापना गरिएको पालिकाले जनाएको छ ।



आर्थिक वर्ष सकिनै लाग्दा गाउँपालिकाको काम प्रभावित हुन नदिन केही दिनको लागी अस्थायी रूपमा कार्यालय सुखडमा राखिएको गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले जानकारी दिए ।

आर्थिक वर्षको मसान्तसम्म भएका विकास तथा अन्य कार्यक्रमहरूको भुक्तानी दिन अस्थायी रूपमा कार्यालय स्थापना गरिएको उनले बताए । असार १८ गते देखी २४ गते सम्म मात्रै अस्थायी रूपमा कार्यालय सुखडमा रहने जनाएको छ । सबै काम गर्ने भनेर सुखडमा कार्यालय नराखिएको र आर्थिक मसान्त सकिए लगत्तै सुखडमा राखिएको कार्यालय बन्द हुने अध्यक्ष उपाध्यायको भनाइ रहेको छ ।

मोहन्याल गाउँपालिकाले प्रत्येक वर्ष आर्थिक वर्ष सकिनै लाग्दा भुक्तानीको लागी घोडाघोडी नगरपालिका–१ सुखडमा सम्पर्क कार्यालय स्थापना गर्ने गरेको छ । अहिले गाउँपालिकाको स्थायी कार्यालय रहेको खिमडी जाने बाटो वर्षातका कारण विभिन्न ठाउँमा अवरुद्ध छ । 

  • प्रकाशित मिति : असार २२, २०८० शुक्रबार १०:५१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया