बैतडीमा एसइईमा ३.६ माथि जिपिए ल्याउने विद्यार्थी शून्य

सुदूरपश्चिम प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा खस्किँदै गएको छ । सामुदायिक विद्यालयमा पछिल्लो समयमा शैक्षिक गुणस्तर खस्कँदै जाँदा यसको प्रभाव एसइईको नतिजामा देखिएको हो । 

हालै सार्वजनिक एसइई परीक्षाफलमा सुदूरपश्चिममा तीन दशमलव छभन्दा माथि जिपिए ल्याउने परीक्षार्थीको सङ्ख्या न्यून  छ ।  शिक्षा विकास निर्देशनालयका अनुसार प्रदेशभरि ४ सय २२ विद्यार्थीको मात्रै ३ दशमलव ६ भन्दा माथि जिपिए आएको जनाएको छ ।

यसमा बैतडीमा ३ दशमलव ६ भन्दा माथि जिपिए ल्याउने परीक्षार्थीको सङ्ख्या शून्य रहेको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुस्कर शर्माले जानकारी दिए । उनले भने, ‘बैतडीबाट पाँच हजार तीन सय ३८ जना परीक्षार्थी सहभागी थिए, कसैको पनि ३ दशमलव ६ भन्दामाथि जिपिए आएको छैन । गत वर्ष पनि कसैको उक्त जिपिए आएको थिएन ।’  

सुदूरपश्चिमका ९ जिल्लामामध्ये ३ दशमलव ६ भन्दा माथि जिपिए ल्याउन नसक्ने जिल्ला बैतडी मात्रै रहेको हो । बैतडीबाहेक प्रदेशमा सबैभन्दा बढी कैलालीबाट दुई सय २७ जनाले तीन दशमव छभन्दा माथि जिपिए ल्याएका छन् ।  

यस्तै, डोटीबाट ७४ जनाले, कञ्चनपुरबाट ७२ जनाले, डडेल्धुराबाट २२ जनाले, दार्चुलाबाट १२ जनाले, अछामबाट नौ जनाले, बाजुराबाट पाँच र बझाङबाट एक जनाले ३ दशमलव ६ भन्दा माथि जिपिए ल्याएका छन् । 

माध्यमिक तहसम्मको शिक्षा हेर्ने अधिकार अहिले स्थानीय तहलाई भए पनि  शिक्षा क्षेत्रलाई प्राथमिकतामा नराख्दा गुणस्तर खस्किँदै गएको हो । निरन्तररूपमा शैक्षिक गुणस्तर ओरालो लाग्दै गएको भए पनि स्थानीय तहहरूले शैक्षिक गुणस्तर सुधारमा चासो देखाएका छैनन् । 



स्थानीय सरकारले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा ध्यान नदिँदासम्म नतिजा सोचेअनुसारको हात पार्न नसकिने शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख नरेन्द्र अवस्थीले बताए ।

अहिले माध्यमिक तहसम्मको शिक्षा हेर्ने अधिकार स्थानीय सरकारलाई छ । उनले भने, ‘स्थानीय तहको ध्यान शिक्षातिर कम गएको छ । गुणस्तर सुधार र नियमित अनुगमन र निरीक्षणमा चासो नदिँदा यो समस्या देखिएको हो । स्थानीय सरकारले नै गुणस्तर सुधारमा ध्यान दिनुपर्छ ।’ रासस 



  • प्रकाशित मिति : असार २४, २०८० आइतबार ९:४९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया