भारतले नेपाललाई दियो ३४ एम्बुलेन्स र ५० बस उपहार

काठमाडौंस्थित भारतीय राजदूतावासले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने सङ्घसंस्थालाई ३४ वटा एम्बुलेन्स र ५० स्कुल बस उपहारस्वरूप प्रदान गरेको छ । 

आज आयोजित एक कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले एम्बुलेन्स र स्कुल बसको चाबी हस्तान्तरण गरेको सो दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहयोग पुर्याउँदै आएको भारत सरकारले सन् १९९४ देखि भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसका अवसरमा नेपालका विभिन्न क्षेत्रका लाभग्राही संस्थालाई एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरूप प्रदान गर्दै आएको छ । 

त्यस अवसरमा मन्त्री राईले भारत सरकारको सहयोगमा नेपालमा जारी विकास परियोजनाको सराहना गरे । उनले ती परियोजनाले दुई देशबीचको जनताजनताबीचको सम्पर्क र द्विपक्षीय सम्बन्धलाई निरन्तर सुदृढ बनाउँदै लैजाने बताए ।

राजदूत श्रीवास्तवले उक्त एम्बुलेन्स तथा स्कुल बस नेपालको स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा गरिएको सहयोग हो भन्दै यो कार्यक्रम भारत र नेपालबीचको विकास साझेदारीकै एक अंशका रुपमा रहेको जानकारी दिए ।

यस कार्यक्रमअन्तर्गत सन् १९९४ यता भारतले नेपालका विभिन्न जिल्लामा रहेका विभिन्न सङ्घसंस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ स्कुल बस उपहारस्वरुप उपलब्ध गराइसकेको सो विज्ञप्तिमा उल्लेख छ ।  





  • प्रकाशित मिति : असार ३१, २०८० आइतबार १३:५८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया