लघुवित्तले दिएको पीडा : कञ्चनपुरका १४८५ महिलाले ज्यान फाले

कञ्चनपुरका महिला लघुवित्तका कारण पीडामा परेका छन् । घलुवित्तले महिलाहरूबाट रकम असुलेर हिसाब नै नदिने गरेपछि महिलाहरू पीडा भोग्न बाध्य भएका हुन् । 

कञ्चनपुरकी सीता विकले लघुवित्तका कारण महिलाहरु घरबारविहीन हुन परेको सुनाइन् । ‘हामीलाई महिनामा ५ देखि २५ रुपैयाँ केन्द्र कोष भनेर लिने गरेका छन् त्यसको हिसाबकिताब नै हुँदैन । ढिला समूहमा उपस्थित भएको भनेर ५० रुपैयाँ जरिवाना हुन्छ । त्यसको पनि हिसाब हुँदैन,’ उनले भनिन्, ‘सानो–सानो रकम गरेर महिलाबाट करोडौँ रकम लघुवित्तले असुलेका छन् । जसको हिसाब देखाइँदैन ।’

लघुवित्त संघर्ष समितिकी अगुवा सुकमाया मुक्तानले लघुवित्तकै ज्यादती सहन नसकेर एक हजार चार सय ८५ दिदीबहिनीले ज्यान फालेको बताइन् । उनले लघुवित्तमा ५८ लाख आबद्ध भएकोमा ३३ लाख दिदीबहिनीले ऋण लिएको बताइन् । उनले महिलालाई विभिन्न प्रलोभनमा पारेर लघुवित्तले भूमरीमा पारेको बताइन् । 

‘महिला दिदीबहिनीहरू जानेर लघुवित्तमा आबद्ध भएका होइनन्,’ उनले भनिन्, ‘हामीलाई झुटो आश्वासन दिएर प्रलोभन देखाएर लघुवित्त संस्थाले भूमरीमा पारेका छन् ।’ चुलोचौको गरेर बस्ने दिदीबहिनीहरूलाई झुटो प्रलोभनमा पारेर विनाधितो ऋण दिएको उनले सुनाइन् । 

‘घर–घर आए समूह बनाए । समूहमा बचत गराए । पछि ऋण पनि दिए,’ उनले भनिन्, ‘तर, ऋण दिएपछि लघुवित्तले ठग्न थालेको छ । १ लाख ऋण मागे ८५ हजार दिने तर, तमसुक बनाउने ।’ १–२ वर्षको भाका राखेर महिना–महिनामा ऋणको ब्याज सावाँ तिर्न लगाएको उनको भनाइ छ । महिलाहरुलाई बचतको पेन्सन आउँछ भनेर ठगेर अहिले घर न घाटको बनाएको उनले बताइन् ।

कैलालीको जोशीपुरकी सुलेना डगौरा थारुलाई लघुवित्तमा आबद्ध भएको ६ वर्ष पुग्यो । युनिक नेपाल लघुवित्तमा ६ वर्षपहिले आबद्ध भएकी उनले बचतसँगै ऋण पनि चलाउँदै आएकी छन् । सुरुमा ५० हजार ऋण लिएकी उनले पुरानो ऋण चुक्ता गरेर हाल डेढ लाख ऋण लिएकी हुन् । उक्त ऋणको उनले १३ किस्ता तिरिसके पनि अझै अढाई लाख तिर्न बाँकी हिसाब देखिएको छ ।



किस्ता तिर्दै गर्दा उनको व्यापार बन्द भएपछि उनले किस्ता तिर्न सकेकी थिइनन् । ‘कोरोनाको समयमा उक्त रकमको मासिक किस्ता तिर्न नसकेपछि हाल त्यो रकम बढेर अढाईलाख पुगेको छ,’ उनले भनिन्, ‘कोरोनामा केही किस्ता तिर्न रोकिएपछि त्यसलाई नवीकरण गर्नुपर्छ भनियो । त्यो रकम अहिले अढाई लाख पुगेको छ । जबकि डेढ लाख सावाको १३ किस्ता तिरिसकेकी थिएँ ।’ 

अहिले उनीमाथि ऋणको भार थपिने क्रम जारी छ । जसले गर्दा उनी अहिले लघुवित्तले ज्यादती गरेको भन्दै सडकमा आन्दोलनमा छिन । उनले लघुवित्तले आफूहरुको धेरै हिसाब लुकाउने गरेको बताइन् । ‘हामीले लघुवित्तबाट ऋण लिएर नतिर्ने भनेका होइनौँ । तर, हाम्रो पहिले हिसाब चाहियो,’ कैलालीको अत्तरियामा लघुवित्त विरुद्धको आन्दोलनमा सहभागी थारूले भनिन्, ‘म मात्रै होइन, लघुवित्तमा ५८ लाखमहिला आबद्ध छौँ, हामीलाई सबैको हिसाब चाहिन्छ ।’



उनले लघुवित्तले विभिन्न नाममा रकम लिएर हिसाब नदिएको बताइन् । किस्ता माग्न भने घरमै आएर गाली बेइज्जत गर्ने गरेको उनको आरोप छ । पछिल्लो समय लघुवित्त संस्थाहरु विरुद्ध महिलाहरु संगठित भएर आन्दोलित भएका छन् । उनीहरुले व्यक्तिगत पीडा मात्रै नभएर समग्र महिलामाथि लघुवित्तले ज्यादती गरेको भन्दै आवाज उठाउन थालेका छन् ।
 
लघुवित्तको ज्यादती बढेको भन्दै १७ महिनादेखि आन्दोलित महिलाहरु पछिल्लो समय ३ दिने कार्यक्रम राखेर सुदूरपश्चिमका मुख्य बजारमा विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरुले आन्दोनलका कार्यक्रम मानव सामन्तीको रूपमा स्थापित लघुवित्तीय संस्थाहरु खारेज गर, लघुवित्तीय संस्थाद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर, आमगरिब किसानलाई निःशुल्क ऋण प्रदान गर, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर, समाजवादी अर्थतन्त्रको विकास गर लगायत माग राखेका छन् । 
 

  • प्रकाशित मिति : असार ३१, २०८० आइतबार २१:२४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया