शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित बनाउन रचनात्मक भूमिका खेल्छौँ : अध्यक्ष भट्टराई

आगामी दुई वर्षसम्म नेपाल शैक्षिक परामर्श संघ (इक्यान) शेषराज भट्टराईको नेतृत्वमा चल्नेछ । शनिबार भएको निर्वाचनमा तीन प्रतिस्पर्धीलाई पछि पार्दै भट्टराई निर्वाचित भएपछि उनले अब दुई वर्ष इक्यान हाँक्ने पक्कापक्की भएको हो । 

इक्यानलाई पछिल्लो समय म्यानपावरको ट्याग लागि रहँदा त्यसबाट मुक्त बनाएर विशुद्ध शिक्षा सरोकारको क्षेत्र बनाउन के कस्ता सूत्र छन् । इक्यानलाई अझ सरल र सहज बनाउने योजना के छन् । सरकारसँग रहेको विवाद समाधानका लागि अब इक्यानले कस्तो कदम चाल्छ भन्ने लगायत विषयमा फरकधारले नवनिर्वाचित अध्यक्ष भट्टराईसँग गरेको कुराकानी ।

इक्यान अध्यक्षका लागि अन्य तीन जनाले पनि तपाईँसँग प्रतिस्पर्धा गर्नुभएको थियो । तपाईँले जित्ने आधार चाहिँ के रहे ?

मैले जित्ने आधारहरू प्रस्ट नै थिए । हामीले हाम्रा एजेन्डा स्थापित गर्नुपर्छ भनेर चुनावको सुरुवाती दिनदेखि नै लागेका थियौ । हामीले लामो समय खर्चेको यो संस्थालाई सम्मानित र मर्यादित बनाउनुपर्छ तथा यो क्षेत्रमा आउने प्रहारविरुद्ध हामी उभिनुपर्छ भन्ने एजेन्डा नै मेरो जितको पहिलो आधार हो ।

दोस्रो आधार भनेको महासचिव र उपाध्यक्षमा बसेर मैले जुन तरिकाबाट इक्यानलाई योगदान गरेको थिए,त्यसलाई मतदाता साथीहरूले बुझ्नु भयो र मेरो नेतृत्व गर्ने तरिकालाई उहाँहरूले मन पराउनु भएका कारण उहाँहरूको चयनमा म परेको हुँ ।

मैले जित्ने तेस्रो आधार भनेको टिमवर्क नै हो । मेरो टिममा यस्ता साथीहरू हुनुहुन्छ जसले इक्यानको गरिमालाई उच्च राख्ने कामलाई सकारात्मक रूपमा लैजान सक्ने क्षमता राख्ने भएकाले पनि मेरो जित सुनिश्चित भएको हो । हिजोका दिनमा मेरो समूहमा भएका साथीहरूले इक्यानमा रहेर धेरै राम्रा काम गरेकाले पनि जित्ने आधारलाई थप बलियो बनाइदियो ।



मतदान गर्ने साथीहरूलाई पनि यो समूहलाई जिताउँदा संस्थाको हक हितमा काम गर्न सक्छन् र नीति, नियम निर्माणमा यो समूह बलियो छ भन्ने मतदातामा परेकाले पनि हामीले जितेका हौँ ।

इक्यानलाई आगामी दिनमा अझै प्रभावकारी बनाउन तपाईँका योजना के छन् ?



हामीले गर्नुपर्ने धेरै कामहरू छन् । हाम्रो नीतिसँगै विवाद छ त्यसलाई कसरी फेस गर्छौँ भन्ने कुरा हाम्रो पहिलो प्राथमिकतामा रहन्छ । शैक्षिक परामर्श क्षेत्रलाई अझै व्यवस्थित र मर्यादित गराउन नीति निर्माण तहमा रचनात्मक भूमिका खेल्नुपर्ने धेरै कुरा छन् । त्यो विषय हाम्रो पहिलो प्राथमिकता रहन्छ ।

दोस्रा विषय महासंघ हो । शैक्षिक परामर्श सम्बन्धित धेरै संघ–संस्थाहरू बनिसकेका छन् । ती संघ–संस्थाहरू बनिरहँदा त्यो भन्दामाथि रहने महासंघले नीति निर्माण अथवा सरकारी ठाउँहरूमा इङ्गेज हुने कुरामा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले महासंघ बनाउने विषयलाई पनि प्राथमिकतामा राखेका छौँ । त्यस्तै व्यवसाय विकासमा पनि हाम्रो समूहले ध्यान दिनेछ । 

शैक्षिक परामर्श संस्थाहरूलाई पछिल्लो समय म्यानपावरको ट्याग लाग्ने गर्छ । यसलाई हटाउन तपाईँको प्रयास के रहन्छ ?

त्यस्तो केही देखिने गरेको छ । जसले गर्दा मिडिया, प्रहरी प्रशासनमा म्यानपावर नै हो कि भन्ने खालको छाप पनि परेको छ तर राज्यको धेरै तह र तप्काले बुझेको कुरा के छ भने यो एउटा विशुद्ध शिक्षामा सरोकार राख्ने क्षेत्र हो ।

केहीले म्यानपावरको ट्याग लगाउने गरेको देखिन्छ तर वास्तवमा त्यस्तो भने होइन । शैक्षिक परामर्श क्षेत्र भनेको विशुद्ध शिक्षामा सरोकार राख्ने क्षेत्र हो त्यस कारण सरकारको शिक्षा मन्त्रालयले हामीसँग सम्बन्धित रहेर काम कर्तव्यहरू गरिरहेको छ ।

यस्तो भनिरहँदा त्यस्ता बदमासी गर्ने संस्थाहरू छैनन् भन्न पनि सकिँदैन । तर त्यस्ता गल्ती गर्नेहरू जो म्यानपावरको रूपमा शैक्षिक परामर्श व्यवसायमा आबद्ध छन् तीनलाई मेरो नेतृत्वको इक्यानले शून्य सहनशीलता कायम गरेर वैधानिक तरिकाबाट कस्तो कारबाही हुन सक्छ त्यसका लागि हामी सिफारिस गर्छौँ ।

सरकार र शैक्षिक परामर्श संस्थाहरूबीच बेला बखतमा विवादहरू सिर्जना भइरहेका हुन्छन् । ती समस्या समाधान गर्न के गर्नुहुन्छ ?

नीति निर्माणसँग सम्बन्धित विवादहरू हुन् । बलियो नीतिका लागि हामीले वकालत  गर्नुपर्छ । त्यसका लागि हामीले लबिङ गर्नुपर्छ । हिजो म महासचिव र उपाध्यक्ष भइरहँदा पनि हामी त्यस्ता विषयमा जोडदार रूपमा लागि सकेका छौँ । आगामी मेरो कार्यकालमा पनि त्यस्ता विषयमा सरोकारवालाहरूसँग डिल गर्ने भन्ने बलिया योजनाहरू बनाए हामी अगाडि बढ्छौँ ।

एनओसी निर्देशिकासँग सम्बन्धी विवाद अझै सरकारसँग तपाईँहरूको छ । त्यसलाई समाधान गर्न के गर्नुहुन्छ ?

त्यसका लागि हामीले साझा अवधारण बनाइसकेका छौँ । एनओसीको सवाल आउँदा हामीले विभिन्न संस्थाहरूसँग मिलेर साझा अवधारणा बनाएका छौँ त्यसलाई नै हामी निरन्तरता दिन्छौँ ।

इक्यानभन्दा बाहिर रहेका शैक्षिक परामर्श संस्थालाई इक्यानभित्र ल्याउने योजना के छ ?

यसका लागि मैले सुरुदेखि नै प्रयास थाल्ने छु । एउटै सोच र उद्देश्यका साथ हिँडिरहेका छौँ भने एउटै थलोमा बसेर काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो । त्यसका लागि अध्यक्षको हैसियतमा मैले गर्नुपर्ने सबै प्रयासहरू र संघ संस्थाहरूलाई मर्ज गर्ने तवरमा कति गर्न सकिन्छ भन्नेमा हामी लागि पर्नेछौँ । 

महासंघ बनाउने विषयमा के कस्ता काम भइरहेका छन् ?

मेरो जनाकारीमा आए अनुसार महासंघले एउटा स्वरूप बनाइसकेको छ । केही दिनमै यसको कार्यसमितिको घोषणा हुन्छ भन्ने मैले सुनेको छु ।

यो विषय तपाईँको प्राथमिकतामा कति पर्छ ?

इक्यानले नै महासंघको ओकालत गरेकाले यो विषय मेरो प्राथमिकतामा पर्छ । आगामी दिनमा महासंघलाई अझ सुदृढ, सबलीकरण र सदस्यमैत्री कसरी बनाउने भन्नेतर्फ हामी सबैको ध्यान रहन्छ ।

खास गरी सरकारी पक्ष, तह र तप्कामा बन्ने कानुन र नीतिसँग कसरी छलफल विमर्श गर्न सकिन्छ भन्ने कुरामा महासंघको ठूलो भूमिका रहने भएकाले हाम्रो पूर्णसाथ सहयोग र समर्थन रहन्छ ।

नेपालबाट धेरै विद्यार्थी वैदेशिक अध्ययनका लागि जाँदै गर्दा नेपालको विदेशी मुद्रा सञ्चिति रकममा ह्रास आउँछ भन्ने गुनासो आइरहन्छ । वास्तविकता के हो ?

यो वास्तविकता हैन । किन भने नेपाल राष्ट्र बैंकको त्यो बुझाई छैन । यस विषयमा मौद्रिक नीति बनाउने राष्ट्र बैंकको आधिकारिक धारणा नआएकाले बजारमा गलत सन्देश सम्प्रेषण गर्नुहुँदैन ।

इक्यानका अन्य पदाधिकारीबाट साथ पाउनेमा ढुक्क हुनुहुन्छ ?

यसमा म ढुक्क छु । हामी दुई वटा समूहबाट आए पनि अधिकांश साथीहरू मेरै समूहबाट हुनुहुन्छ र अन्य समूहबाट आएका साथीहरूमा पनि यो संस्थाका लागि केही गरौँ भन्ने भावना रहेको छ ।

निर्वाचनसम्म हामीले एक–अर्कालाई आरोप प्रत्यारोप लगाएका कुरालाई बिर्सिएर सुदृढ र सम्मानजनक सदस्यमैत्री इक्यान बनाउन जरुरी छ । त्यसमा सबैले साथ र सहयोग गर्नुहुन्छ भन्ने मेरो पूर्ण विश्वास छ ।  

(अध्यक्ष भट्टराईसँगको विस्तृत भिडियो अन्तर्वार्ता हरेक मंगलबार फरकधारमा प्रसारण हुने ‘शिक्षा समीक्षा’ कार्यक्रममा प्रसारण गरिने छ ।)
 

  • प्रकाशित मिति : साउन १, २०८० साेमबार ११:५९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया