कोशीमा एक वर्षमा ३५१० सवारी दुर्घटना : ४१२ को मृत्यु, ५६०७ जना घाइते
फाइल तस्बिर

कोशी प्रदेशमा विगत वर्षको तुलनामा आर्थिक वर्ष २०७९/८० मा सवारीसाधन दुर्घटनामा कमी आएको छ । सवारीसाधन दुर्घटनाबाट हुने मानवीय क्षति पनि कम भएको पाइएको छ । 

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रवक्ता मोहनविक्रम दाहालका अनुसार आव २०७९/८० मा ३ हजार ५ सय १० सवारीसाधन दुर्घटना हुँदा ४ सय १२ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परी ८ सय १० जना गम्भीर तथा चार हजार सात सय ९७ जना सामान्य घाइते भएका थिए ।

आव २०७८/७९ मा प्रदेशमा तीन हजार आठ सय २० सवारीसाधन दुर्घटनामा परेका थिए । दुर्घटनाबाट ५ सय ३१ जनाको मृत्यु, एक हजार दुई सय तीन जना गम्भीर घाइते र ५ हजार ४ सय ४५ जना सामान्य घाइते भएका दाहालले बताए । ट्राफिक सचेतना कार्यक्रम र प्रहरी कारबाहीको प्रभावकारिताका कारण सवारी दुर्घटना तथा मानवीय क्षति कम भएको उनको भनाइ छ ।   

आव २०७९/८० मा अघिल्लो आवको तुलनामा सवारीसाधन दुर्घटना आठ प्रतिशत कम, मानवीय क्षति २२ प्रतिशत कम, गम्भीर घाइते ३३ प्रतिशत कम तथा सामान्य घाइते १२ प्रतिशत कम भएको तथ्याङ्क छ । आव २०७९/८० मा उक्त अवधिमा ८ हजार ३ सय ६३ जनालाई मादक पदार्थ सेवन कारबाही, २६ हजार ६ सय ६४ जनालाई सवारी शिक्षा र ३ लाख १ हजार ८ सय ७१ जनालाई सवारी नियम उल्लङ्घन गरेकामा  जरिवाना गरिएको प्रवक्ता दाहालले जानकारी दिए ।

आव २०७८/७९ मा पाँच हजार १ सय पाँच जनालाई मापसे कारबाही, १९ हजार ८ सय ३३ जनालाई सवारी शिक्षा र २ लाख ६९ हजार ८ सय २३ जनलाई सवारी नियम उल्लङ्घन गरेकामा जरिवाना गरिएको थियो ।

सवारी नियम उल्लङ्घन गर्नेलाई जरिवाना गर्दा राजस्व सङ्कलनमा समेत वृद्धि भएको छ । आव २०७९/८० मा २० करोड ७ लाख ३५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ भने आव २०७८/७९ मा १८ करोड १ लाख ५९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।  





  • प्रकाशित मिति : साउन ४, २०८० बिहीबार ९:३५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया