logo-img

सुर्ती वा चुरोट उपहार नदिनुस्, कारबाहीमा परिएला

काठमाडौं– बिहीबार राजधानीमा ‘राष्ट्रिय बहुक्षेत्रीय सुर्तीजन्य पदार्थ नियन्त्रण रणनीतिक योजना विकासका लागि सुझाब संकलन गोष्ठी’ सम्पन्न भयो । गोष्ठीमा काठमाडौंका सार्वजनिक ठाउँमा सुर्तीजन्य वस्तुको बिक्री–वितरणमा क्रमशः रोक लगाउँदै जानुपर्ने सुझाब प्राप्त भएको छ ।  

कानुनले सार्वजनिक स्थानमा धुम्रपान निषेध गरेको भए कानुनको पालना नभएकाले अस्पताल, विद्यालयलगायतका संवेदनशील स्थानमा पूर्ण निषेध गर्दै अन्य स्थानमा पनि क्रमशः लागू गर्दै जानुपर्ने सरोकारवालाले सुझाब दिएका हुन् । एकैचोटि गर्नुभन्दा यसरी क्रमशः रोक लगाउँदै जाँदा कार्यान्वयन प्रभावकारी हुने उनीहरूको विश्वास छ । 

विश्व स्वास्थ्य संगठनको तथ्यअनुसार नसर्ने रोगका प्रमुख पाँच कारणमध्ये धूम्रपान, मदिरापान, अस्वस्थकर आहार, निष्क्रिय जीवनलगायत पर्छन् ।  



गोष्ठीमा बोल्दै काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख हरिप्रभा खड्गीले महानगर क्षेत्रभित्रका व्यवसायमा सुर्तीजन्य वस्तुको कारोबारलाई वस्तुगत तथ्यमा उतारेर नीतिमार्फत नियमन गरिने बताइन् । धुम्रपानको असर डरलाग्दो भएको उल्लेख गर्दै खड्गीले अब वडाका जनप्रतिनिधिसँगको समन्वयमा टोल र विद्यालयस्तरीय कार्यक्रम चलाउनुपर्ने बताइन् । 

राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका निर्देशक डा. सुनीलराज शर्माले धूम्रपान छोड्न चाहनेलाई विकल्प दिएर कार्यक्रम बढिरहेको जानकारी गराए । त्यस्तै, विश्व बैंकका जनस्वास्थ्य प्रशासक डा. खुर्सिद आलाम हैदरले नेपालले सुर्तीजन्य वस्तुको नियमनमा प्रगति हासिल गर्दै गएको उल्लेख गर्दै संघ सरकारबाट प्राप्त उपलब्धिलाई स्थानीय सरकारमा हस्तान्तरण गर्नुपर्ने सुझाब दिए । 

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना केन्द्रका स्वास्थ्य शिक्षा प्रशिक्षण प्रशासक डा. भक्त केसीले विश्वमा हरेक ५ सेकेन्डमा १ व्यक्ति धूम्रपानजन्य रोगका कारण मरिरहेको जानकारी गराउँदै नेपालमा वार्षिक करिब २७ हजार व्यक्ति धूम्रपानजन्य रोगबाट अकालमा मरिरहेको बताए । विश्वमा वार्षिक करिब ७० लाख व्यक्ति यस्ता रोगबाट मर्ने गरेको बताउँदै उनले यही अवस्था रहने हो भने सन् २०३० सम्ममा वार्षिक ८० लाख व्यक्तिको मृत्यु हुने चेतावनी दिए ।  



के छ ऐनमा व्यवस्था ? 

–सार्वजनिक स्थानहरू (जस्तैः सरकारी कार्यालय, शिक्षण संस्था, पुस्तकालय, तालिम तथा स्वास्थ्यसम्बन्धी संस्था, विमानस्थल, सार्वजनिक शौचालय, उद्योग तथा कलकारखाना कार्यस्थल, चलचित्र घर, नाटकघर, होटल, मोटल, रिसोर्ट, रेस्टुरेन्ट, बार, भोजनालय, चमेनागृह, छात्रावास, रंगशाला, कर्भडहल, पौडी पोखरी, डिपार्टमेन्टल स्टोर, धर्मशाला तथा टिकट काउन्टर आदि)मा धूम्रपान तथा सूर्ती सेवन गर्न पाइँदैन । 



–निषेधित यी स्थानमा धुम्रपान गरे तत्काल १०० रुपैयाँसम्म जरिवाना हुन सक्नेछ । 

–नियमनकारी निकायले सार्वजनिक स्थानमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्न नपाइने सूचना सबैले देखिने ठाउँमा टॉ‘स गर्नुपर्छ । 

–सार्वजनिक स्थलमा लाइटर, सलाइलगायत सामग्री राख्न पाइँदैन त्यस्तै, फुटकर रूपमा चुरोट, बिंडी वा सिगारका खिल्ली वितरण गर्न पाइँदैन । 

–विक्रेताले १८ वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सूर्तीजन्य पदार्थ बिक्री–वितरण गर्न वा गर्न लगाउन वा निःशुल्क उपलब्ध गराउन पाइँदैन । 

–विक्रेताले कुनै क्रेताको उमेरबारे यकिन हुन चाहेमा निजसँग आवश्यक प्रमाण माग गर्न सक्नेछ । 

–शिक्षण तथा स्वास्थ्य संस्था, बालकल्याण गृह, शिशु स्याहार केन्द, वृद्धाश्रम, अनाथालय र नेपाल सरकारले तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटरभित्रको पसलबाट सुर्तीजन्य पदार्थको बिक्री–वितरण गर्न पाइँदैन । 

–निःशुल्क रूपमा धूम्रपान तथा सूर्तीजन्य पदार्थको वितरण वा उपहारका रूपमा दिन पाइँदैन । 

–सुर्तीजन्य पदार्थलाई बिक्रीस्थलमा सजावट गर्न तथा त्यस्ता पदार्थको प्रदर्शन गर्न पाइँदैन । 

–ऐनविपरीत सुर्तीजन्य पदार्थको बिक्री गरेमा १० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । 

–सुर्तीजन्य पदार्थको हानिबारे सूचना टाँस नगरेमा ५ हजार रुपैयाँसम्म जरिवाना हुनेछ । 

  • प्रकाशित मिति : फागुन २३, २०७५ बिहीबार १५:३६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया