दबाब बढेपछि नयाँ शैक्षिक सत्रदेखि दुवै भाषामा प्रश्नपत्र छाप्ने तयारीमा त्रिवि
‘प्राविधिक विषयको नेपालीमा प्रश्नपत्र बनाउन कठिन छ’

त्रिभुवन विश्वविद्यालयले नयाँ शैक्षिक सत्रदेखि दुवै भाषामा प्रश्नपत्र छाप्ने तयारी गरेको छ । स्नातक तह र स्नातकोत्तर तहको प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा बनाउनुपर्ने माग बढेपछि त्रिविले आगामी शैक्षिक सत्रदेखि दुवै भाषामा प्रश्नपत्र छाप्ने तयारी गरेको हो । 

यसअघि त्रिविले स्नातक तह र स्नातकोत्तर तहको प्रश्नपत्र अंग्रेजीमा मात्र निकाल्ने गरेको थियो । अंग्रेजीमा प्रश्न हुँदा परीक्षामा विद्यार्थी अन्योल हुने गरेको व्यापक गुनासोपछि तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलले त्रिविलाई स्नातक तह र स्नातकोत्तर तहको प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा बनाउन निर्देशन दिएका थिए । 

उनको निर्देशनपछि त्रिविले काम थाल्ने बताएको पनि थियो । तर, त्यतिबेला पूर्वमन्त्री पौडेलको निर्देशन कार्यान्वयन भएन । ‘विद्यार्थीले लगातार गुनासो गर्न थालेपछि मैले यसबारेमा त्रिविलाई प्रश्नपत्र नेपालीमा पनि बनाउनुपर्छ भनेको थिएँ । म मन्त्रीमा रहँदा विविध कारणले निर्णय हुन सकेको थिएन । तर, त्रिविले यस विषयमा निर्णय गर्ने जनाएको थियो,’ पौडेलले भने । 

स्नातक तह र स्नातकोत्तर तहको प्रश्नपत्रलाई दिएर संसददेखि अदालतसम्म गुनासो पुगिसकेको छ । रास्वपाका सांसद सुमना श्रेष्ठले ५ असारमा बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा तत्काल नेपालीमा पनि प्रश्नपत्र छाप्ने व्यवस्था गर्न माग राखेकी थिइन् । यससँगै नेपालीमा प्रश्नपत्र छाप्ने माग संसदमा मात्रै होइन, सर्वोच्च अदालतमै रिट दायर भएको छ । 

अहिले अंग्रेजी माध्यममा मात्रै प्रश्नपत्र छापिँदै आएकोविरुद्ध २०७४ सालमै सर्वोच्च अदालतमा रिट परेको थियो । अधिवक्ता विश्वास पौडेलले नेपाली र अंग्रेजी दुवै माध्यममा प्रश्नपत्र निर्माण गर्न माग गर्दै रिट दायर गरेका थिए । तर, हालसम्म अदालतबाट मुद्दाको सुनुवाइ भएको छैन ।

स्नातक तह र स्नातकोत्तर तहको प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा छापिनुपर्ने भन्दै पछिल्लो समय चर्को विरोध हुँदै आइरहेको भएपनि यस विषयमा कुनै ठोस निर्णय आइसकेको छैन । प्रश्नपत्र अंग्रेजीसँगै नेपालीमा पनि छाप्न बारम्बार माग उठे पनि सरकारले यसप्रति कुनै चासो नदेखाउँदा संविधानमा उल्लेख भएको व्यवस्थाबाटै विद्यार्थी वञ्चित हुनु परेको आरोप पनि बेला–बखत लाग्दै आएको थियो । 



नेपालको संविधानले कुनै पनि नागरिक शिक्षाबाट वञ्चित हुन नपाउने व्यवस्था गरेको छ । संविधानको धारा (३१) को शिक्षासम्बन्धी हकको उपधारा (१) मा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुने उल्लेख छ । उपधारा (२) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुने व्यवस्था छ ।

आफ्नो मातृभाषामा शिक्षा पाउने अधिकारसमेत छ । धारा (३१) को शिक्षासम्बन्धी हकको उपधारा (५) मा भनिएको छ, ‘नेपालमा बसोवास गर्ने प्रत्येक नेपाली समुदायलाई कानुन बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक हुने व्यवस्था छ ।’



संविधानअनुसार निजी होस् वा सरकारी विद्यालयका विद्यार्थी कुनै अवरोध नभइ आफूले जानेको भाषामा स्वतन्त्र ढंगले पढ्न र लेख्न पाउनुपर्ने अधिकार छ । तर, ज्ञान प्राप्त गर्ने र परीक्षाको प्रश्नपत्रमा अनिवार्य अंग्रेजी भाषा लादिएका कारण कैयौँ विद्यार्थी पढ्नबाट पछि हट्ने गरेको पनि जनगुनासो बढिरहेको थियो । यहीबेला आगामी शैक्षिक सत्रबाट भने स्नातक तह र स्नातकोत्तर तहको प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा गर्ने तयारी भइरहेको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका इक्जाम कन्ट्रोलर पुष्पराज जोशीले जानकारी दिए । 

‘लामो समयदेखि विवादमा रहेको यो विषयमा त्रिविको ध्यानाकर्षण भएको छ । पूर्व शिक्षामन्त्री ज्यूले पनि निर्देशन त दिनुभएको थियो । एकैपटक परिवर्तन गर्न गाह्रो भएकाले केही समय लागेको हो,’ इक्जाम कन्ट्रोलर पुष्पराज जोशीले भने । उनका अनुसार स्नातक तह र स्नातकोत्तर तहको प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा बनाउने विषयमा एक चरणको छलफल सकिएको छ । अन्तिम निर्णय भने आउन बाँकी छ । 

‘स्नातक तह र स्नातकोत्तर तहको प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा बनाउने त भनियो । अझै पनि कुन संकायको प्रश्नपत्रलाई बनाउने भन्नेमा अन्योल छ । मानविकी, शिक्षाजस्ता संकायमा त परिवर्तन गरिन्छ । तर, प्राविधिक विषयमा नेपालीमा प्रश्नपत्र बनाउन भने कठिन नै हुने देखिन्छ,’ इक्जाम कन्ट्रोलर पुष्पराज जोशीले भने । 

यस्तै, त्रिविका उपकुलपति धर्मकान्त बास्कोटाले पनि आगामी शैक्षिक सत्रबाट लागू हुनेगरी स्नातक तथा स्नातकोत्तर तहको प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा छापिने स्पष्ट पारे । ‘सरोकारवालाहरूसँगको एक चरणको छलफल सकिएको छ । चाँडैमा निर्णयमा पुग्छौँ र यसबारेमा सूचना जारी गर्नेछौँ,’ उपकुलपति बास्कोटाले भने ।

त्रिविले स्नातक तथा स्नातकोत्तर तहको प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा उपलब्ध हुँदा धेरै विद्यार्थीले राहतको श्वास फेर्ने भएका छन् । प्रश्नपत्र अंग्रेजी भाषा मात्रै आउँदा धेरै विद्यार्थीले शिक्षाबाट नै पलायन हुने मनस्थितिमा पुगिरहेका थिए । 

यो पनि- त्रिविको अंग्रेजी माेह : पढाइ-लेखाइ नेपालीमा, प्रश्नपत्र अंग्रेजीमा कहिलेसम्म ?

  • प्रकाशित मिति : साउन ५, २०८० शुक्रबार १९:५९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया