नेपालको व्यापार घाटा साढे १४ खर्बभन्दा बढी

गत आर्थिक वर्ष २०७९–८० मा नेपालले साढे १४ खर्बभन्दा बढीको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको वैदेशिक व्यापारसम्बन्धी विवरणअनुसार गत असार मसान्तसम्ममा नेपालले कुल १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख बराबरको व्यापार घाटा व्यहोरेको देखिएको हो ।

अघिल्लो वर्षको तुलनामा भने व्यापारघाटा १५ दशमलव ४५ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा नेपालले कुल १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख बराबरको व्यापार घाटा व्यहोरेको थियो ।

अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष नेपालको समग्र वैदेशिक व्यापारसमेत १६ दशमलव ५८ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा २१ खर्ब २० अर्ब ४७ करोड ७३ लाख बराबरको वैदेशिक व्यापार भएकोमा गत वर्ष भने १७ खर्ब ६८ अर्ब ८७ करोड २४ लाखमा सीमित भएको देखिएको हो ।

विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष मुलुकले कुल १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख बराबरको मालवस्तु आयात गर्दा एक खर्ब ५७ अर्ब १४ करोड छ लाख बराबरको मात्रै निर्यात गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष आयात १६ दशमलव ०८ र निर्यात २१ दशमलव ४४ प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्ष नेपालले गरेको कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९१ दशमलव १२ प्रतिशत र निर्यातको हिस्सा आठ दशमलव ८८ प्रतिशत बराबर छ । अर्थात् नेपालले गरेको कूल निर्यातको तुलनामा कूल आयात १० दशमलव २६ गुणाले बढी हो । गत वर्ष आयातित वस्तुबाट कूल तीन खर्ब ७७ अर्ब २६ करोड चार लाख बराबरको भन्सार राजस्व उठेको छ ।
      
बढी आयात हुने वस्तुमा पेट्रोलियम पदार्थ पहिलो नम्बरमा देखिएको छ । गत वर्ष नेपालले सबैभन्दा धेरै एक खर्ब ५३ अर्ब ७७ करोड बराबरको डिजेल मात्रै आयात गरेको छ । त्यस्तै, ६६ अर्ब ८४ करोड ४८ करोड बराबरको पेट्रोल र ५८ अर्ब १५ करोड ४१ लाख बराबरको खाना पकाउने ग्यास आयात भएको छ । 

फलामजन्य वस्तुको आयातमा ४३ अर्ब ६० करोड, कच्चा सोयाबिन तेल आयातमा ३५ अर्ब ५८ करोड, कोइला आयातमा २७ अर्ब १२ करोड र कच्चा पाम तेल आयातमा २५ अर्ब ९१ करोड बराबर बाहिरिएको देखिन्छ ।



बढी निर्यात भएका वस्तुमा कार्पेट पहिलो नम्बरमा छ । गत आर्थिक वर्ष नेपालले ११ अर्ब ५० करोड ६६ लाख बराबरको कार्पेट निर्यात गरेको छ । त्यस्तै, १० अर्ब ७१ करोड बराबरको प्रशोधित पाम तेल, आठ अर्ब ४७ करोड बराबरको सोयाबिन तेल र आठ अर्ब २७ करोड बराबरको अलैँची निर्यात गरेको छ ।



  • प्रकाशित मिति : साउन ८, २०८० साेमबार २०:३९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया