कोदोमा पनि परनिर्भर नेपाल, एक वर्षमा भारतबाट ५१ करोडको आयात

मुलुकको पूर्वी पहाडी जिल्लामा कुनै बेला पर्याप्त मात्रामा उत्पादन हुने कोदो पछिल्लो समय भारतबाट आयात गर्ने गरिएको छ । 

युवा वैदेशिक रोजगारीमा जाने गरेका कारण गाउँमा खेत बाँझै छन् । यस्तोमा कोदोमा पनि हामी भारतमाथी नै निर्भर हुनुपर्ने अवस्था आएको हो । 

आर्थिक वर्ष २०७९÷८० मा पूर्वीनाका काँकडभिट्टा भएर ५१ करोड ३१ लाख २० हजार रुपैयाँ बराबरको कोदो भारतबाट आयात भएको तथ्याङ्क छ । काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार सो अवधिमा १६ हजार ३५ मेट्रिक टन कोदो आयात गरिएको छ । 

यसैगरी गाउँघरमा फालाफाल उत्पादन हुने फर्सी नबिकेर किसानले गाईभैँसीलाई खोले पकाएर खुवाउने गरेको अवस्थामा त्यही फर्सी भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ । सूचना अधिकारी ठाकुरका अनुसार आर्थिक वर्ष २०७९/८० मा भारतबाट ७ करोड ५७ लाख २८ हजार रुपैयाँ मूल्यको चार हजार ७ सय ३३ मेट्रिक टन फर्सी आयात गरिएको छ । 

कोदो र फर्सीमात्र होइन फापर, खुर्सानी, घिरौला, लौका, करेला, तरुल, भिन्डी, सिमीलगायतका वस्तु भारतबाट आयात गर्ने गरिएको छ । गत आवमा रु १९ करोड ८३ लाखको १२ हजार ३ सय ९९ मेट्रिक टन हरियो खुर्सानी पूर्वीनाका हुँदै भारतबाट भित्रिएको छ । सोही अवधिमा ३१ करोड ९८ लाख रुपैयाँ बराबरको १९ हजार नौ सय ८८ मेट्रिक टन करेला,१८ करोड ७४ लाख ७२ हजारको ११ हजार सात सय १७ मेट्रिक टन भिन्डी र आठ करोड ९६ लाख ८० हजार रुपैयाँ बराबरको पाँच हजार ६ सय ५ मेट्रिक टन सिमी भारतबाट आयात गरिएको ठाकुरले जानकारी दिए ।  

पूर्वीनाकाबाट सोही अवधिमा ८० करोड ९९ लाख ८४ हजारको २५ हजार तीन सय १२ मेट्रिक टन प्याज, ६० करोड ८१ लाख ६० हजार बराबरको ३८ हजार १० मेट्रिक टन गोलभेँडा, २ करोड ७१ लाख ५२ हजारको एक हजार छ सय ९७ मेट्रिक टन घिरौँला, ४ करोड ९८ लाखको तीन हजार एक सय १३ मेट्रिक टन लौका, ३ करोड १० लाख बराबरको एक हजार नौ सय ३८ मेट्रिक टन तरुल र ३ करोड ४० लाख ९६ हजारको २ हजार रुपैयाँको १ सय ३१ मेट्रिक टन सुठुनी भारतबाट आयात गरिएको तथ्याङ्क छ ।



सूचना अधिकारी ठाकुरका अनुसार गत आवमा ४४ लाख ८० हजारको एक सय १२ मेट्रिक टन फापर, ६ करोड ६६ लाख ६६ हजार रुपैयाँ बराबरको दुई हजार ८३ मेट्रिक टन अम्बक र रु ३४ लाखको पानको पात भारतबाट आयात भएको छ । कार्यालयका अनुसार सोही अवधिमा रु १७ करोड ३१ लाख २० हजारको चार हजार तीन सय २८ मेट्रिक टन चामल र १७ करोड २८ लाख २४ हजार रुपैयाँ बराबरको सात हजार दुई सय एक मेट्रिक टन तरबुजा समेत भारतबाट आयात गरिएको छ ।

पूर्वीनाका काँकडभिट्टाबाट गत आवमा ६ अर्ब २९ करोड ९१ लाख ४९ हजार रुपैयाँको तरकारी र फलफूल आयात गरिएको छ । ३ अर्ब ३५ करोड नौ लाख ८१ हजारको ताजा तरकारी र  दुई अर्ब ९४ करोड ८१ लाख ६८ हजार रुपैयाँको फलफूल आयात गरिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । 



महालक्ष्मी कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष दुर्गा खतिवडाका अनुसार भारतबाट आयातित तरकारीका कारण स्वदेशमा किसानले उत्पादन गर्दै आएको तरकारी बाली बजारमा बिक्री भएको छैन । संस्थाले जग्गा भाडामा लिएर सञ्चालन गरेको कृषि फार्ममा उत्पादन भएको भिन्डीले उचित बजारभाउ नपाएपछि घाटा सहेर अतिकम मूल्यमा बिचौलियालाई बेच्नुपरेको उनको भनाइ छ । 

इलाम नगरपालिका–१२ की तुलसा रायाले करिब एक ट्रक फर्सी बिक्री नभएपछि गाईवस्तुलाई खोले खुवाएको गुनासो गरिन् । रासस 
 

  • प्रकाशित मिति : साउन १०, २०८० बुधबार ७:४७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया