सफ्टवेरिका कलेजमा ‘टेक–एक्स २०२३’ प्रदर्शनी सुरु (भिडियाे)
आइटी क्षेत्रमा सफ्टवेरिकाको योगदान महत्वपूर्ण : सञ्चारमन्त्री

आज (बिहीबार)देखि सफ्टवेरिका कलेजमा ‘टेक–एक्स २०२३’ प्रदर्शनी सुरु भएको छ । पानसमा दीप प्रज्वलन गरी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रदर्शनीको उद्घाटन गरेकी हुन् । 

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शर्माले नेपालमा पछिल्लो समय प्रविधिमा विद्यार्थीको रुचि बढेकोमा खुसी व्यक्त गर्दै भविष्यमा दक्ष जनशक्ति उत्पादन हुने विश्वास व्यक्त गरिन् । साथै उनले सूचना–प्रविधिबारे मानिसलाई व्यावसायिक तालिममार्फत पनि सिकाउने तयारी गरिरहेको उनले बताइन् ।

‘वर्तमान अवस्थामा देखापरेका समस्या समाधानका साथै आगामी दिनमा उत्पन्न हुन सक्ने असहज परिस्थितिको सामना गर्नका लागि सूचना तथा प्रविधिको सही प्रयोग आवश्यक छ,’ मन्त्री शर्माले भनिन् । यसका साथै उनले सफ्टवेरिका कलेजले नेपालको आइटी क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याइरहेको बताइन् ।

नेपालमा पनि पछिल्लो दशकमा अन्य क्षेत्रको तुलनामा सूचना तथा सञ्चार प्रविधिमा उल्लेख्य प्रगति भएको बताउँदै मन्त्री शर्माले सरकारले पनि यसको आवश्यकता महसुस गरी विभिन्न क्षेत्रमा सूचना प्रविधिको प्रयोग बढाएको समेत उल्लेख गरिन् । 

वर्तमान अवस्थामा देखापरेका समस्या समाधानका साथै आगामी दिनमा उत्पन्न हुनसक्ने असहज परिस्थितिको सामना गर्नका लागि सूचना तथा प्रविधिको सही प्रयोग आवश्यक भएको उनको भनाइ थियो । उनले भनिन्,‘संसार सूचना तथा प्रविधिको विकासमा अगाडि बढिसकेको छ, पछिल्लो समयमा गुणात्मक प्रगति भएको क्षेत्र यो मात्रै हो ।’



नेपालमा पनि पछिल्लो दशकमा अन्य क्षेत्रको तुलनामा सूचना तथा सञ्चार प्रविधिमा उल्लेख्य प्रगति भएको भन्दै मन्त्री शर्माले सरकारले पनि यसको आवश्यकता महसुस गरी विभिन्न क्षेत्रमा सूचना प्रविधिको प्रयोग बढाएको उल्लेख गरिन् । मानवीय जीवनको बहुआयामिक पक्षमा सूचना प्रविधिले महत्वपूर्ण प्रभाव पारेको उनको जिकिर थियो ।  



सरकारले ल्याएको चालू आर्थिक वर्षको बजेट कार्यान्वयनमा गइसकेको बताउँदै उनले कुल पुँजीगत खर्चको एक प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्ने बताइन् । सञ्चार मन्त्रालयले साइबर सुरक्षा नीति बनाएर मन्त्रिपरिषदमा पठाएको छ । 

०७६ देखि अगाडि बढाइएको डिजिटल नेपाल फ्रेमवर्क कार्यक्रममार्फत कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा र पूर्वाधारलगायत क्षेत्रमा सूचना प्रविधिको प्रयोग बढ्दै गएको छ ।

मन्त्री शर्माले सरकारी सेवामा सूचना प्रविधिसम्बन्धी दक्ष जनशक्तिलाई आकर्षण गर्ने गरी सरकारले योजना बनाएको बताइन् । साथै, संघीय निजामती ऐनमा आइटी समूहलाई अलग बनाउने तयारी भइरहेको भन्दै उनले युवालाई सरकारी सेवामा प्रवेश गराएर देशप्रति प्रतिबद्ध बनाउने र स्वदेशमै रोजगारीको सिर्जना गर्ने सरकारको लक्ष्य रहेको दाबी गरिन् । ।   

प्रदर्शनीमा सफ्टवेरिका कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले नेपाललाई आइटीमय बनाउन अत्यावश्यक रहेको औँल्याए । ‘नेपालमा साइबर सेक्युरिटी र डेटा सुरक्षासम्बन्धी काम गर्न धेरै नै बाँकी छ । सरकारले आइटीलाई प्राथमिकतामा राखेर नीति, नियम निमार्ण गर्नुपर्छ,’ अध्यक्ष श्रेष्ठले भने । निजी क्षेत्र मात्र नभई सरकारले पनि नेपालको आइटी क्षेत्रको विकासका लागि समयमै सोच्नुपर्ने बेला भइसकेको अध्यक्ष श्रेष्ठले बताएका छन् । 

यस्तै, कलेजका प्रमुख प्रमोद पौडेलले आइटी क्षेत्रले संसारको जुनसुकै कुनामा पुगेर पनि काम गर्न सक्ने वातावरण निर्माण गर्ने भएकाले नेपालमा यसको महत्व धेरै रहेको बताए । ‘नेपालका ३० देखि ४० प्रतिशत विद्यार्थी नेपालमा आइटीको सम्भावना छैन भन्दै विदेशिएको पाइयो । त्यस्तै, शिक्षाको गुणस्तर र रोजगारी अभावका कारण पनि दिनहुँ युवाहरू विदेशिन बाध्य छन् । विद्यार्थीको चाहनालाई मध्यनजर गरी आइटी क्षेत्रमा सफ्टवेरिका कलेजले महत्वपूर्ण भूमिका खेलेको छ,’ प्रमुख पौडेलले भने । 

प्रदर्शनीको पहिलो दिन अवलोकनकर्ताको बाक्लै भीड थियो । प्रदर्शनीमा आइटी क्षेत्रमा चासो राख्ने र आइटीबारे जान्न, बुझ्न चाहने व्यक्तिहरूको उल्लेख्य उपस्थिति देखिन्थ्यो । प्रदर्शनीमा चर्चित नेपाली महिला फुटबलर साबित्रा भण्डारी (साम्भा), एपेनकी सेक्रेटरी सम्झना बस्नेत, युट्युबका मोटो भ्लगर तथा कन्टेन्ट क्रिएटर सिसन बानियाँलगायत काठमाडौं उपत्यकामा रहेका विभिन्न स्कुलका कक्षा ८ देखि १० सम्मका विद्यार्थीको उपस्थिति थियो ।
 
‘टेक–एक्स २०२३’ एक प्राविधिक प्रदर्शनी हो । सफ्टवेरिका कलेजले ‘टेक–एक्स’ प्रदर्शनी आयोजना गरेको यो तेस्रोपटक हो । प्रदर्शनीमा सफ्टवेरिका कलेजमा अध्ययनरत एआई र साइबर सुरक्षा क्षेत्रमा विद्यार्थीहरूले तयार पारेका प्रोजेक्टहरू प्रदर्शनमा राखिएको छ । डिल्लीबजारस्थित कलेजको प्रांगणमा प्रदर्शनी भइरहेको छ । 

प्रदर्शनीमा ‘रोबो वार’ मुख्य आकर्षणको रूपमा रहेको आयोजकले जनाएको छ । प्रदर्शनीमा ३० भन्दाबढी प्रोजेक्टका स्टलहरू छन् । प्रदर्शनी बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निःशुल्क रूपमा अवलोकन गर्न सकिने कलेजले जनाएको छ । 

यस प्रदर्शनीको मुख्य उद्देश्य भनेको २१औँ शताब्दीका युवा पुस्तालाई आइटीको क्षेत्रमा भइरहेको आमूल परिवर्तनबारे जानकारी दिनु रहेको कलेजले जनाएको छ । कलेजका अनुसार कम्तीमा पाँच हजारभन्दा बढी अवलोकनकर्ताले कार्यक्रम अवलोकन गर्नेछन् । प्रदर्शनीमा मनोरञ्जनात्मक क्रियाकलाप, फुडस्टल, बौद्धिक खेलसमेत समावेश गरिएका छन् । ‘टेक–एक्स २०२३’ प्रदर्शनी आइतबारसम्म चल्नेछ ।

  • प्रकाशित मिति : साउन ११, २०८० बिहीबार १९:४१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया