विद्यार्थीलाई सीपसँग जोड्दै ‘पढ्दै कमाउँदै’ कार्यक्रम

तनहुँको ऋषिङ गाउँपालिका–८ स्थित शिव सरस्वती माध्यमिक विद्यालयमा भेटेरिनरी जेटिए अध्ययनरत ऋषिराम थापा अध्ययनसँगै पशुपालनमा आबद्ध छन् । विद्यालयले सुरु गरेको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत उनले पशुपालन गरेका हुन् ।  

बिहान ६ः३० बजेदेखि ११ बजेसम्म पढाइमा व्यस्त उनको त्यसपछिको समय भने फार्ममा बित्छ । विद्यालय नजिकै विद्यालयकै जग्गामा फार्म बनाइएको छ । फार्ममा ब्रोइलर कुखुरा, पाडा, बाख्रापालन गरिएको छ । 

शिक्षकले पढाएका कुरा अभ्यासमा उतार्न थापाजस्तै १७ विद्यार्थी फार्ममा पुग्ने गरेका छन् । विद्यार्थी पशुलाई दाना पानीको व्यवस्थापनमा आफैं खटिन्छन् । पछिल्लो समय विद्यार्थीको दैनिकी प्रयोगात्मक सिकाइ र अभ्यासमा बित्दै आएको छ । 

पाठ्यक्रममा आधारित पशुपालन र उपचार पद्धतिबारे अध्ययनरत विद्यार्थीले नजिकका टोलमा गई किसानले पालेका पशुचौपायाको औषधि उपचार पनि गर्छन् । उपचार पद्धति र प्रक्रियाबारे निपूर्ण हुनका लागि किसानका पशु चौपायाको उपचार गर्दा आत्मविश्वास बढ्ने विद्यार्थी थापा बताउँछन् ।  

प्राविधिक धारअन्तर्गत पर्ने १८ महिने (भेटेरिनरी जेटिए) पढ्ने विद्यार्थीले पढ्दै कमाउँदै कार्यक्रममार्फत आयआर्जन गर्न थालेका छन् । फार्ममा पालिएका कुखुरापालनमा विद्यालयले लगानी गरेता पनि मुनाफा भने विद्यार्थीले पाउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर श्रेष्ठले जानकारी दिए । ‘पढ्दै कमाउँदै कार्यक्रम प्रभावकारी बनेको छ । समूहमा विभाजित विद्यार्थीले अहिले अध्ययन मात्र नभइ एक सिजनमा मात्र प्रतिविद्यार्थी ५ हजारदेखि ७ हजार रुपैयाँसम्म कमाउने गरेका छन्,’ उनले भने । पढ्दै कमाउँदै कार्यक्रमबाट भएको आम्दानीले विद्यार्थीलाई अध्ययनमा टेवा मिलेको उनको भनाइ छ । 

जिल्लाको आँबुखैरेनी गाउँपालिका–६ स्थित कन्यादेवी माध्यमिक विद्यालयका विद्यार्थीले पढ्दै कमाउँदै कार्यक्रममार्फत कुखुरापालन सुरु गरेका छन् । प्रयोगात्मक शिक्षा अन्तर्गत विद्यालयका विद्यार्थीले स्थानीय जातको कुखुरापालन सुरु गरेका हुन् । 



विद्यालयको एउटा कोठामा २ सय स्थानीय प्रजातिका कुखुराको चल्ला पाल्न सुरु गरिएको विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले जानकारी दिए । गाउँपालिकाको ‘एक वडा एक उत्पादन’ र ‘पढ्दै कमाउँदै कार्यक्रम’ मार्फत कुखुरापालन सुरु गरिएको हो । 

विद्यार्थी नै कुखुराका लागि दाना पानीको व्यवस्थापनमा खटिन्छन् । प्रअ गुरुङले भने, ‘यो कार्यक्रमले विद्यार्थीलाई आत्मनिर्भर हुन पनि सिकाउँछ ।’ आँबुखैरेनी–४ आमडाँडाबेँसीस्थित चण्डेश्वरी आधारभूत विद्यालयमा पनि पढ्दै कमाउँदै कार्यक्रममार्फत अदुवाखेती गरिएको छ ।



विद्यालयस्तरका बालबालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले पढ्दै कमाउँदै परियोजनाअन्तर्गत दुई रोपनी जग्गामा १ सय ७५ किलो अदुवा र १ सय ६५ किलो हलेदो रोपिएको छ । विद्यार्थी आफैंले बारी खनेर अदुवा र हलेदो रोपेको विद्यालयका प्रधानाध्यापक कुवेर ढकालले जानकारी दिए । यो कार्यक्रमले विद्यार्थीलाई सीपयुक्त बनाउन सहयोग पुग्ने ढकालको भनाइ छ । ‘पढाइका अतिरिक्त विद्यार्थीलाई अतिरिक्त ज्ञान पनि आवश्यक पर्दछ, त्यसमाथि सीपमूलक ज्ञान त झन प्रभावकारी हुन्छ,’ ढकालले भने, ‘विद्यार्थी पनि यो कार्यक्रममा उत्साहित छन् ।’ 

विद्यार्थीलाई सीपसँग जोड्ने उद्देश्यसहित पढ्दै कमाउँदै कार्यक्रम लागू गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । ‘विद्यार्थीलाई आत्मनिर्भर बनाउनुपर्छ, सकिन्छ भन्ने दृढ इच्छाशक्तिका साथ शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्नुपर्छ’, चुमानले भने, ‘सीपयुक्त एवं स्वावलम्बी नागरिक उत्पादन गर्ने मुख्य लक्ष्यसहित यो कार्यक्रम सुरुआत गरेका हौँ ।’ 
                         
गाउँपालिकाले विद्यालयको जग्गाको उपलब्धता, विद्यालयको माग र आवश्यकताका आधारमा अन्य पालिकामा पनि यो कार्यक्रम विस्तार गर्ने जनाएको छ । रासस 

  • प्रकाशित मिति : साउन १५, २०८० साेमबार ९:३४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया