तथ्याङ्क विज्ञ दीक्षित भन्छन्- सरकारसँग तथ्याङ्कको योजना नै छैन

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

अर्थशास्त्री तथा तथ्याङ्क विज्ञ आशुतोषमणि दीक्षितले सरकारसँग तथ्याङ्कको योजना नभएको बताएका छन् । तथ्याङ्क विज्ञ दीक्षितले राज्यको नीति तथा योजना बनाउन तथ्याङ्क आवश्यक भए पनि तथ्याङ्कको सङ्कलन, प्रशोधन, प्रकाशन, विविधीकरण र समयसापेक्षीकरण गर्ने योजना नभएको बताए ।

उनले भने,‘राज्यलाई योजना बनाउँदा तथ्याङ्क चाहिन्छ । तर तथ्याङ्कको लागि राज्यसँग योजना छैन । योजना बनाउने बेलामा राज्यका निकायहरूले तथ्याङ्क खोज्ने गर्छन् । तथ्याङ्क पाएपछि तथ्याङ्कलाई कसरी समय सापेक्ष बनाउने र समयमा तथ्याङ्क सङ्कलन गर्ने कुरा प्राथमिकतामा आउँदैन’

विज्ञ दीक्षितले सरकारलाई योजना तथा नीति बनाउन तथ्याङ्क आवश्यक भए पनि समयमा तथ्याङ्क सङ्कलन गर्ने विषय प्राथमिकतामा नपरेको उल्लेख गरे । उनले सरकारका विभिन्न निकायहरूले सङ्कलन गरेका तथ्याङ्कलाई समेत समय सापेक्षीकरण बनाउन नसकेको बताए । 

उनले समयमा तथ्याङ्क सङ्कलन गर्ने विषय प्राथमिकता नपर्दा राज्यले बनाएका नीति तथा योजनाहरू कार्यान्वयनमा समस्या आउने गरेको बताए । तथ्याङ्क  ऐन २०७९ ले राष्ट्रिय तथ्याङ्क कार्यालयलाई प्रधानमन्त्री कार्यालय मातहतमा ल्याएर बलियो संयन्त्र बनाउन खोजेको बताए । उनले राष्ट्रिय तथ्याङ्क कार्यालयले राज्यका विभिन्न निकायहरूले सङ्कलन गरेको तथ्याङ्कलाई एकीकृत गर्ने कार्यविधि बनाउन आवश्यक रहेको बताए ।

दीक्षितले विभिन्न मन्त्रालय, विभाग,प्रदेश सरकार,स्थानीय सरकारले सङ्कलन गरेका तथ्याङ्कहरुलाई एकीकृत रूपमा एउटै माध्यमबाट एकरुपकता साथ बाहिर ल्याउनुपर्ने बताए । उनले सरकारका निकायहरूले सङ्कलन गरेका तथ्याङ्कहरु फरक–फरक हुने भएकाले राष्ट्रिय तथ्याङ्क कार्यालयले कार्यविधि बनाएर गएमात्रै एकरूपता आउने बताए । उनले सरकारी निकायहरूको तथ्याङ्कमा एकरूपता नहुने भन्दै तथ्याङ्कमा एकरूपता ल्याए पद्धतिमा स्थिरता आउने बताए । उनले सरकारका विभिन्न निकायहरूले सङ्कलन गरेको तथ्याङ्क आवश्यक परेको अवस्थामा प्रयोग गर्नको लागि योजना बनाउन अत्यन्त जरुरी रहेको बताए ।

उनी भन्छन्, ‘अहिले विभिन्न निकायहरूले कागजी ढड्डामा वा सूचना केन्द्रमा राखेको होला । भविष्यको लागि राष्ट्रिय तथ्याङ्क कार्यालयले एउटा गाइड लाइन बनाउनु प¥यो । यो निकायले सङ्कलन गरेको तथ्याङ्कलाई यसरी प्रयोग गर्ने, स्थानीय तहले सङ्कलन गरेकोलाई यसरी गर्ने र सङ्कलन भएका तथ्याङ्कलाई हार्मनाइज गराउने हार्मनिज कोर्ड हुन्छ । त्यो कोर्डले विभिन्न निकायहरूमा भएको तथ्याङ्कलाई एकरूपता ल्याउँछ । म्याथलोजिकल कन्सिसटेन्सी भएपछि विभिन्न निकायहरूमा भएको तथ्याङ्कलाई एक अर्कासँग कुरा गर्न सक्यो भने आवश्यक भएको बेला तथ्याङ्क पाउँछ । त्यसको योजना बनाएर जानुपर्छ ।’



उनले राष्ट्रिय तथ्याङ्क कार्यालय वा राष्ट्रिय योजना आयोगले तथ्याङ्क सङ्कलन क्यालेन्डर बनाउन आवश्यक रहेको बताए । उनले सरकारले तथ्याङ्क सम्बन्धी काम गर्ने जनशक्ति र प्रयोगकर्ता विश्लेषकहरूको तथ्याङ्क सम्बन्धी क्षमता विकास गर्नुपर्ने बताए । दीक्षितले तथ्याङ्कको उत्पादनसँगै धेरै प्रयोग हुन आवश्यक रहेको बताए । 



  • प्रकाशित मिति : साउन २७, २०८० शनिबार १५:४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया