पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा
फाइल तस्बिर

पहिरोका कारण अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे–६ मौरीबजार खण्ड सञ्चालनमा आएको छ ।

मौरीबजारस्थित सडकमा माथिबाट खसेको पहिरोका कारण बिहान ७ बजेदेखि सडक दुईतर्फी अवरुद्ध भएकामा पहिरो हटाएर राजमार्ग पुनः सञ्चालन गराइएको हो । 

स्थानीय पालिका, विपद् व्यवस्थापन प्रहरी जनशक्ति र चिनियाँ कम्पनीसँगको समन्वयमा दुई डोजरको सहायताले पहिरो हटाएर राजमार्ग सुचारु गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । 

केही दिनदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको तनहुँ खण्डमा पहिरोको जोखिम बढेको छ । राजमार्गअन्तर्गत मुग्लिन पोखरा सडक विस्तार आयोजनाको कामका कारण राजमार्गका विभिन्न ठाउँमा पहिरोको जोखिम बढेको छ । 

आयोजनाले सडक छेउका भित्ता काट्ने काम गरेकाले वर्षाले पहिरो झर्ने गरेको छ । शनिबार र आइतबार तनहुँ खण्डका दुई ठाउँमा पहिरो गएको थियो । 

शनिबार साँझ आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरा नजिकै ठूला ढुङ्गा खसी सुक्खा पहिरो जाँदा केही समय राजमार्ग अवरुद्ध भएको थियो । राति नै ढुङ्गा पन्छाएर सडक एकतर्फी सञ्चालन गरिएको थियो भने आइतबार दिउँसो मात्रै राजमार्ग दुईतर्फी भएको थियो ।



आइतबार बन्दीपुर गाउँपालिका–१ बेलभञ्ज्याङमा पहिरो जाँदा अवरुद्ध सडक डेढ घण्टापछि सञ्चालनमा आएको थियो । पहिरो खसेर सडकमै लेदो जमेपछि सडक विभागसँग समन्वय गरी बाटो खुलाइएको थियो । 

वर्षाका कारण पृथ्वी राजमार्गको विभिन्न ठाउँमा पहिरो जान थालेको छ । शुक्रबार मात्रै कन्टारमा सडक भासिएर चार घण्टा राजमार्ग अवरुद्ध भएको थियो ।  



त्यसअघि गत मङ्गलबार व्यास नगरपालिका–१२ स्थित देउरालीमा सडक भासिँदा दिनभर यातायात अवरुद्ध भएको थियो । 

  • प्रकाशित मिति : साउन २९, २०८० साेमबार ९:३९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया