धादिङको रिगाउँ पहिरोको जोखिममा, विद्यालय बन्द

धादिङको उत्तरी क्षेत्रमा पर्ने गङ्गाजमुना गाउँपालिका–१स्थित रिगाउँ पहिरोका जोखिममा परेको छ । गाउँ माथिबाट पहिरो झर्ने खतरा बढेपछि स्थानीयवासी त्रस्त भएका छन् । 

वस्तीमाथि रहेका बारीका गरा भासिन थालेका  र जमिन चिरा परेर बग्न  थालेको स्थानीय एक विद्यालयका प्रधानाध्यापक रामचन्द्र सिटौलाले जानकारी दिए । भासिन थालेको स्थानभन्दा तलका घर खाली गर्न थालिएको छ । हालसम्म भासिन थालेको स्थानको सिधा मुनि रहेका करिब १५ घर खाली गराइसकिएको छ ।

वृद्धवृद्धा र बालबच्चालाई सुरक्षित स्थानतर्फ सारिनाका साथै अन्नपात, लत्ताकपडा र महत्वपूर्ण सामान घरबाट निकालेर सुरक्षित स्थानतर्फ लान थालिएको छ । अहिले त्यहाँका बासिन्दाले  घरायसी सरसामान र बस्तुभाउलाई सुरक्षित स्थानतर्फ सारिरहेको रिगाउँ माविका प्रधानाध्यापक सिटौलाले जानकारी दिए ।

केहीले विद्यालयकै सुरक्षित भवनमा सरसामान थन्याएका छन् भने केहीले जोखिम नभएका छिमेकी र आफन्तको घरमा राखेका छन् । गाउँभन्दा माथिका जमिन भासिन थालेको छ । त्यही भासिन थालेको ठाउँभन्दा मुनि वस्ती छ । 

करिब ५० घरजति पुरिने अवस्थामा पुगेको छ । आसपासका करिब ६० घर पनि जोखिममा रहेको गङ्गाजमुना गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिंखडाले बताए ।

कुनै पनि बेला पहिरो झर्नसक्ने जोखिम उच्च भएपछि उक्त विद्यालयको पठनपाठन बन्द गरिएको छ । स्कुलको दुई वटा भवनमध्ये २० कोठे नयाँ भवन पनि जोखिममा परेको छ । कादुरी भन्ने संस्थाले दुई वर्षअघि निर्माण गरिदिएको खानेपानीको ट्याङ्ककी पनि बगाउन सक्ने सम्भावना बढेको छ ।



हिजोदेखि लगातार पानी परिरहेको र बिहान स्थानीयवासी घाँस काट्न जाने क्रममा जमिन भासिएको देखेर गाउँमा खबर गरेका थिए । सरोकारवाला सबैले गएर गएर हेर्दा थप जोखिम हुने सक्ने भएकाले वस्ती खाली गराइएको हो ।  

जिल्ला सदरमुकाम धादिङबेसीबाट करिब ५४ किलोमिटर दूरीमा रहेको उक्त गाउँमा प्राय: तामाङ समुदायको बसोवास छ । बर्खा लागेपछि यहाँ सवारीसाधन चल्दैन ।  



  • प्रकाशित मिति : साउन २९, २०८० साेमबार १४:१४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया