logo-img

वीर अस्पतालमा अप्रेसनमा पालो कुर्नुपर्ने बाध्यता हट्ने
आकस्मिक सेवा निःशुल्क सञ्चालन गर्न वीर अस्पतालमै छैन पर्याप्त बजेट
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

वीर अस्पतालले निकट भविष्यमा नै अप्रेसनमा पालो कुर्नुपर्ने बाध्यतालाई समाधान गर्ने भएको छ । वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले अप्रेसनमा महिनौँदेखि पालो कुर्नुपर्ने बाध्यतालाई हटाउन अस्पताल लागि परेको बताए । 

उनले त्यसका लागि अस्पतालको क्षमतामा रहेका अप्रेसन थ्रेटरहरूलाई पूर्ण क्षमतामा सञ्चालन गर्न प्रयास गरिरहेको र करारमा जनशक्ति थप्ने योजना रहेको बताए । अप्रेसनको पालो कुर्नुपर्ने लगायतका समस्या सम्बोधन हुने गरी विस्तारित अस्पताल सेवा सञ्चालनका लागि समिति गठन भएको थियो । समितिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तय गरेका कार्यविधि निर्देशिका र अस्पतालले गर्न सक्ने विषयलाई लिएर तयार पारेको प्रतिवेदन अस्पतालले प्राप्त गरिसकेको छ । 

डा. पौडेलले ग्याष्ट्रोसर्जरी र युरोलोजीमा केही जनशक्ति अभावका कारणले सेवा सुरु गर्न नसकेकिएको बताए । उनले अप्रेसन गर्नुपर्ने जटिल बिरामीलाई पालो कुर्नु नपर्ने गरी वीर अस्पतालले कार्य योजना बनाइरहेको बताए । उनले आकस्मिक सेवाका लागि अहिले पनि एउटै बेडमा दुई/तीन जना बिरामीलाई सेवा दिनुपर्ने बाध्यता रहेको बताए । 



आकस्मिक सेवामा गम्भीर बिरामी र सामान्य प्रकृतिका बिरामीको प्राथमिक करण गर्न थालिएको भन्दै जति नै बिरामी थपिए पनि आकस्मिक सेवामा जटिल प्रकृतिका बिरामीलाई आकस्मिक कक्षको छुट्टै क्षेत्रमा सेवा दिएको बताए । उनले अप्रेसन कक्षलाई सदैव चलायमान बनाउने गरी लागेको बताए । 

डा. पौडेलले भने, ‘विस्तारित अस्पताल सेवा सञ्चालन गर्ने र धेरैभन्दा धेरै नागरिकलाई सेवा दिने भन्ने उद्देश्यले सेवा सुरु गर्ने भन्ने सोचाइमा छौँ । अप्रेसन सेवालाई व्यवस्थित गर्न एउटा सेवा अवधि समय बढाउने, हरेक दिन हरेक विषयका अप्रेसन सञ्चालन गर्ने, जटिल र यथाशीघ्र अप्रेसन गर्नुपर्ने बिरामीलाई थप प्राथमिक करण गरेर चाँडो पालोमा लैजाने भन्ने सोचमा छौँ ।’ 

उनले बिरामीलाई मध्यनजर गर्दै सेवा अवधि थप गरिएको भन्दै ओपिडी भएको स्थानमा काउन्टर स्थापना गरिएको बताए । डा. पौडेलले ल्याब सेवा पनि बिहानदेखि नै सञ्चालन गर्ने व्यवस्था मिलाइएको बताए । यसअघि बिहान ९ बजेदेखि सेवा दिने गरेको वीरले हाल बिरामीको चापलाई मध्यनजर गर्दै बिहान ८ बजेदेखि ४ बजेसम्म सेवा प्रवाह गर्दै आएको जानकारी दिए । 



वीरमा नर्सिङ जनशक्ति थप भएपछि बन्द अवस्थामा रहेको ७० शय्या सञ्चालनमा आएको छ । वीर अस्पतालले आकस्मिक सेवा निःशुल्क सञ्चालनका लागि बजेट पर्याप्त नहुँदा अप्ठ्यारो भएको बताएको छ । 

निर्देशक डा.पौडेलले नीति तथा कार्यक्रममा केन्द्रीय अस्पतालमा आकस्मिक सेवालाई निःशुल्क सेवा दिने भनेर भनिए पनि कार्यान्वयनमा चुनौती सृजना भएको बताए  । उनले गरिब तथा विपन्न बिरामीलाई निःशुल्क औषधि सेवा दिन नसकेको बताए । आकस्मिक सेवाबापत अघिल्लो वर्ष करिब ८ करोड २० लाख रुपैयाँको छुट उपलब्ध गराइएको  तर सरकारले विभिन्न शीर्षकमा १ करोड १५ लाख रुपैयाँ मात्रै दिएको बताए । आकस्मिक सेवातर्फ ५२ शय्या सञ्चालनमा छ । 



आकस्मिक सेवा निःशुल्क गराउन सरकारले तीन करोड बजेट विनियोजन गरे पनि त्यो पर्याप्त नहुने बताए । उनले स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतबाट आकस्मिक सेवा निःशुल्क गराउन निर्देशन प्राप्त गरेको र बजेट अपुग भए शोध भर्ना हुने आश्वासन पाएको बताए । 

उनले भने, ‘अहिले हामीलाई आकस्मिक सेवा सञ्चालन गर्न वीर अस्पतालमा साँच्चिकै समस्या छ । हुन त हामीले धेरै सेवा निःशुल्क दिइरहेका छौँ । औषधि खरिदमा निःशुल्क सेवा दिन सकिरहेका छैनौँ । आकस्मिक सेवामा प्रयोग हुने औषधिलाई पनि छुट दिन सकियो भने राहत पक्कै हुन्थ्यो ।’ 

अस्पतालले आधारभूत स्वास्थ्य सेवादेखि विशिष्टीकृत स्वास्थ्य सेवा एउटै छानामुनि प्रदान गर्दै आएको छ । 

  • प्रकाशित मिति : भदौ ४, २०८० साेमबार १२:८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया