प्याजमा सधैँ भारतकै भर, १७ वर्षमा पनि नेपाल बनेन आत्मनिर्भर
प्याज मिसन कार्यक्रम असफल

प्याज निर्यातमा भारतले ४० प्रतिशत कर लगाउने निर्णय गरेसँगै नेपालमा प्याज अभाव हुनुका साथै मूल्य अचाक्ली बढेको छ । भारतको वित्त मन्त्रालयले आन्तरिक मूल्यवृद्धि नियन्त्रण गर्ने लक्ष्यसहित प्याजको निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरेको हो । जसको सीधा प्रभाव नेपालमा परेको छ । 

नेपाल पूर्ण रूपमा भारतीय प्याजमा निर्भर छ । प्याजमा लगाइएको ४० प्रतिशतको कर यो वर्षको डिसेम्बर ३१ सम्म लागू हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अर्थात्, भारतको नयाँ नीतिअनुसार आउँदो पुस १५ गतेसम्मका लागि प्याज निर्यातमा ४० प्रतिशत कर लाग्नेछ । तर, सो नियम नै लागू नहुँदै नेपालमा प्याजमा कालोबजारी सुरु भएको हो । 

नेपालमा प्याजको हाहाकार भएको यो पहिलो घटना भने होइन । भारतले प्याज निर्यातमा कर वृद्धि मात्र होइन, पटक–पटक बन्देज नै लगाउँदै आएको छ । जब भारतले यस्तो कदम चाल्छ अनि दैनिक भान्सामा पाक्ने अधिकांश तरकारीलाई स्वादिलो पार्न अनिवार्यजस्तै बनेको प्याजको मूल्य चर्को हुन थाल्छ । तर, सरकार मूकदर्शक बनेर बस्ने गरेको छ । 

नेपालको तराईदेखि मध्य पहाडसम्म खेती गर्न अनुकूल प्याजको परनिर्भरता निकै हदसम्म घटाउन स्वदेशमै उत्पादन गर्न सकिन्छ । तर, उत्पादन र उत्पादकत्व दुवै न्यून भएपछि आयातमा भर पर्नुपरेको छ । 

कति हुन्छ आयात ?

गत आर्थिक वर्ष ०७९–८० मा भारतबाट ६ अर्ब ८६ करोड रुपैयाँको प्याज आयात भएको थियो । भारतबाट ताजा, सुकाइएको र बिउ गरी तीन प्रकारमा प्याज आयात हुने गरेको तथ्यांक छ । जसमा ताजा प्याजका रूपमा ६ अर्ब ७५ करोड रुपैयाँ बाहिरिएको छ । यस्तै, सुकेको प्याज ११ करोड रुपैयाँको आयात भएको छ भने २३ लाख रुपैयाँ बराबरको बिउ आयात भएको छ ।



यस्तै, आर्थिक वर्ष ०७८–७९ मा भारतबाट ६ अर्ब ४४ करोड रुपैयाँबराबरको प्याज आयात हुँदा आव ०७७–७८ मा चार अर्ब ९६ करोड मूल्य बराबरको प्याज आयात भएको थियो । यसैबीच, आर्थिक वर्ष ०७६–७७ मा नेपालले चार अर्ब २२ करोड मूल्यको प्याज आयात गरेको थियो भने  ०७५–७६ मा पाँच अर्ब ६२ करोड रुपैयाँको आयात गरेको थियो । 

नेपालमा सबैभन्दा धेरै प्याज भारतबाटै आयात हुन्छ भने भारतबाहेक चीन, इन्डोनेसिया, टर्की, इजिप्टलगायत देशबाट पनि प्याज आयात हुन्छ । नेपालको माग धान्न भारतबाट मात्र वार्षिक २० करोड किलोग्राम आसपास प्याज आयात हुने गरेको छ ।



असफल प्याज मिसन कार्यक्रम, १७ वर्षमा पनि बनेन आत्मनिर्भर 

सरकारले प्याजमा आत्मनिर्भर हुने योजना नै नबनाएको भने होइन । आर्थिक वर्ष ०६३–०६४ मै सरकारले पाँच वर्षसम्म प्याजमा आत्मनिर्भर हुने लक्ष्यसहित ‘प्याज मिसन’ कार्यक्रम सञ्चालन गरेको थियो । देशभित्रै प्याजको उत्पादन बढाउन तराईका रुपन्देही, सप्तरी, सिरहा, रौतहट, बारालगायत जिल्लामा यो अभियान लागू गरिएको थियो । 

जसका लागि किसानलाई उन्नत बीउ, तालिम, नर्सरी स्थापनामा सहयोग तथा अन्य आवश्यक औजार खरिदमा यो मिसनले सहयोग गरेको राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रका सूचना अधिकारी बिरुवा संरक्षण अधिकारी तोयनाथ जोशी बताउँछन् । 

उनका अनुसार कार्यक्रम अवधिमा १८ हजार अतिरिक्त जमिनमा प्याज खेती विस्तार गर्ने र दुई लाख ७१ हजार ६ सय ३४ टन थप प्याज उत्पादन गर्ने उद्देश्य मिसनले लिएको थियो । तर, सरकारले पाँच वर्षको अवधिमा दुई हजार एक सय ४८ हेक्टर थप जमिनमा यो कार्यक्रम विस्तार गर्न सक्यो । र, कार्यक्रम नै बन्द गरियो । 

मिसन सुरु भएको पाँच वर्षमा देखापरेका राजनीतिक अस्थिरता, पटकपटक सरकार परिवर्तन र मधेस आन्दोलनको उत्कर्षले पनि कार्यक्रमको निरन्तरतामा बाधा पुर्याएको उनी बताउँछन् ।

प्याज मिसन कार्यक्रम सञ्चालन भएको १७ वर्ष बितिसक्दा पनि न नेपाल प्याजमा आत्मनिर्भर भयो, न उत्पादनको क्षेत्रफल नै बढ्यो । उल्टै लक्ष्यविपरीत आयातको परिमाण बढ्दै गइरहेको छ ।

आत्मनिर्भर बन्ने सरकारको ‘प्याज मिसन’ कार्यक्रम विभिन्न कारणले पूरा हुन नसकेको राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रले जनाएको छ । उत्पादन लिन लामो समय कुनुपर्ने, पहिलो तीन महिना निरन्तर सिँचाइ सुविधा पुर्याउनुपर्ने, बेर्ना अभावलगायत कारणले किसानहरू प्याजखेतीमा आकर्षित हुन नसकेका हुन् ।

उनी भन्छन्, ‘किसानलाई प्याज खेतीतर्फ आकर्षित गर्न धेरै समस्या छ । व्यावसायिक रुपमा प्याज खेती बढाउन अहिले पनि उन्नत बीउको अभाव मुख्य समस्या हो । प्याजको बेर्ना राख्ने बेला बीउको सधैँ अभाव हुन्छ ।’ नेपालमा सरकारी स्तरमा प्याजको बीउलगायत तरकारी बीउ उत्पादन गर्न रुकुम पश्चिममा एक मात्र फार्म केन्द्र रहेको छ । तर, सानो क्षेत्रफलका कारण त्यहाँ निकै कम परिमाणमा मात्र बीउ उत्पादन हुने गरेको छ । सिड टु बल्ब तथा बल्ब टु सिड गरी दुई सिजन लगाई प्याजको बीउ उत्पादन गर्न दुई वर्ष लाग्छ । 

नेपालमा हाल तीन सय किलो मात्र बेर्ना उत्पादन हुन्छ । उनका अनुसार प्याजको बीउ सामान्यतया असार महिनामा उत्पादन हुन्छ । तर, यसका लागि पानी कम पर्ने क्षेत्र चाहिन्छ । देशको पूर्वी र मध्य क्षेत्रका तुलनामा मध्यपश्चिममा कम पानी पर्ने र हावापानी पनि सुहाउँदो भएकाले रुकुमको तरकारी बीउ उत्पादन केन्द्रअन्तर्गत प्याजको बीउ उत्पादन गरिन्छ । तर, त्यसले माग थेग्दैन । 

साथै प्याज उत्पादनको झन्झटिलो विधि, बिरुवा हुर्काउन कठिन हुने हुनाले पनि आत्मनिर्भर हुन नसकिएको सूचना अधिकारी जोशीको भनाइ छ । ‘प्याजको बेर्ना जहाँ तहाँ उत्पादन गर्न सकिँदैन । नेपालमा पाल्पादेखि दैलेखसम्मको मध्य पहाडको रेन्जमा मात्र प्याजको बीउ उत्पादन गर्न सकिन्छ,’ उनी भन्छन्, ‘तर, त्यहाँका किसान प्याजको बीउ उत्पादनमा आकर्षित छैनन् । उनीहरू प्याजको बीउ उत्पादन गर्नुभन्दा पनि धान, मकै, गहुँ, तरकारीको बीउ उत्पादन गर्न रुचाउँछन् ।’ 

साथै सामान्य निरक्षर किसानहरूले प्याजको बीउ उत्पादन गर्न पनि नसक्ने उनको भनाइ छ । भन्छन्, ‘बीउ राख्ने तरिका मिलेन भने उम्रिँदैन । टेक्निकल कुरा धेरै भएका कारण पनि जो कोही किसानले उत्पादन गर्न सक्दैनन् । त्यसकारण पनि किसानहरू व्यावसायिक रुपमा बिरुवा उत्पादनमा आकर्षित छैनन् ।’

‘प्याज मिसन कार्यक्रम’ विफल हुनुमा आफूलाई पुग्दो बीउ देशभित्रै उत्पादन गर्न नसक्नु र भारतले पनि नदिनु मुख्य कारण रहेको उनी बताउँछन् । 

नेपालमा हाल चार जातको प्याजको बेर्ना पाइन्छ । धेरै उत्पादन दिने, रोग, किरा सहने उन्नत जातको बीउ विकास गर्न ‘प्योर लाइन’ (वंश) आवश्यक पर्छ, जुन भारतले हत्तपत्त दिँदैन । ‘हाम्रोमा बीउ र प्याज उत्पादन सफल भए उनीहरूको बजार घट्ने हुँदा नेपालभित्रको अनुसन्धान र उत्पादनमा सजिलोसँग सघाउँदैनन्,’ जोशी भन्छन् । अनौपचारिक हिसाबले बजार प्रवेश गर्ने न्यून गुणस्तरका बीउसँग मूल्यका हिसाबले प्रतिस्पर्धी नहुने भएकाले नेपालमा निजी स्तरमा किसान तथा उद्यमी प्याजको बीउ उत्पादनमा आकर्षित हुन नसकेको उनको बुझाइ छ । 

यस्तै, प्याजको बजारीकरण र भण्डारणमा पनि उस्तै समस्या छ । नेपालमा मुख्य सिजनमा उत्पादन हुने प्याज वैशाख जेष्ठमा खनिन्छ, तर प्याजलाई भण्डारण गर्न २५–३० डिग्री सेन्टिग्रेड तापक्रम र ६५–७० प्रतिशत सापेक्षित आद्रतामा नेचुरल भेन्टिलेसनमा भण्डारण गर्न सकिने भए पनि यो समयमा तराईमा यो अवस्था उपलब्ध हुँदैन ।

कोल्ड स्टोरमा प्याज भण्डारण गर्न विशिष्टीकृत संरचना आवश्यक हुन्छ । सो संरचनाको निर्माण र सञ्चालन व्यावसायिक नहुने अवस्थामा स्थानीय स्तरमा प्याज भण्डारण गर्ने प्रविधि नेपालमा उपलब्ध नभएकाले समेत किसानहरू प्याज खन्नेबितिक्कै जतिसुकै मूल्यमा भए पनि बेच्न बाध्य भएको उनी बताउँछन् । उत्पादनका बेला निकै सस्तो हुने प्याजको मूल्य भदौ–असोजपछि उकालो लाग्दै जान्छ । 

उनका अनुसार चैत–वैशाखमा पनि भारतीय सस्तो लागतको उत्पादनसँग प्रतिस्पर्धा गर्नुपरेकाले किसानहरू प्याज खेतीमा उति आकृष्ट छैनन् । प्रायःले घरायसी प्रयोजनका लागि मात्रै थोरै लगाउने गरेका छन् । व्यावसायिक रूपमा उत्पादन गरी बजारमा पठाउने किसान कमै छन् । 

‘किसानले प्याज उत्पादन गरेका बेला बजारमा मूल्य असाध्यै सस्तो पर्छ । उनीहरुसँग प्याजलाई भण्डार गरी राख्ने क्षमता छैन,’ उनी समस्या सुनाउँछन्, ‘सस्तैमा बिक्री नगरे वर्षा लागेपछि कुहिन थाल्छ ।’ भण्डार गरेर राख्ने क्षमता रहेको भए भदौ–असोजबाट प्याजको मूल्य उकालो चढ्न थालेका वेला भण्डारबाट झिकेर महँगोमा बिक्री गर्ने सुविधा हुने उनको बुझाइ छ । तर, चैत–वैशाखमा सस्तोमा उत्पादित भारतीय प्याजसँग प्रतिस्पर्धा गर्नुपरेका कारण किसानहरु प्याज खेतीमा आकर्षित हुँदैनन् । 

प्याजमा आत्मनिर्भर बन्न सक्छ नेपाल !

नेपालमा विशेष गरी तराईको सिञ्चित क्षेत्र नै प्याज उत्पादनका लागि क्षेत्र विस्तार गर्न सकिने सम्भाव्य ठाउँ हो । हाल नेपालको तराईमा ठूलो जमिनको हिस्सा वर्षामा धान रोपेर बाली भित्र्याएपछि सिँचाइको असुविधाका कारण खाली रहने गरेको छ । उक्त ठाउँमा सिँचाइको प्रबन्ध मिलाउने हो भने प्याजका लागि कुनै देशसँग हात फैलाउन नपर्ने उनको भनाइ छ । 

‘प्याजमा आत्मनिर्भर हुन हामीलाई कुनै समस्या छैन,’ उनी प्रष्ट्याउँछन्, ‘सरकारले पाँचवर्षे प्याज मिसन योजना ल्याएर काम गर्ने हो भने चार लाख मेट्रिक टन प्याज उत्पादन गर्न हामीलाई कुनै समस्या छैन ।’ तर, त्यसका लागि किसानको समस्या सरकारले सम्बोधन गर्नुपर्ने पनि उनी बताउँछन् । 

साथै, प्याजमा नयाँ–नयाँ प्रविधिको प्रयोग पनि गर्नुपर्ने उनको भनाइ छ । ‘भारतमा अहिले मुख्य सिजन– रबी र बेमौसमी– खरिफ गरी दुई सिजनमा प्याज उत्पादन गर्न सकिने प्रविधि विकास भइसकेको छ,’ जोशी भन्छन्, ‘तर नेपालमा हिउँदमा एक सिजनमा मात्र व्यावसायिक प्याज खेती गर्न प्रविधि उपलब्ध छ र उपलब्ध प्याजका जातहरु समेत पुराना र अन्य देशका तुलनामा न्यून उत्पादन दिने मात्र छन् ।’

आत्मनिर्भर हुन के गर्दै छ सरकार ?

प्याज खेतीलाई प्रवर्द्धन गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रले जनाएको छ । केन्द्रका अनुसार हरेक वर्ष सानो स्केलमा प्याज खेती कार्यक्रम गर्दै आएको छ । नेपालमा करिब ६ लाख हेक्टर क्षेत्रफलमा प्याज खेतीको सम्भावना छ । तर, हाल १० हजार हेक्टर क्षेत्रफलमा मात्र प्याज खेती हुँदै आएको सूचना अधिकारी जोशी बताउँछन् । 

जसबाट एक लाख ६९ हजार मेट्रिक टन प्याज उत्पादन हुन्छ भने उत्पादकत्व १२.१५ छ । माग भने चार लाख एक हजार मेट्रिक टन छ । माग र उत्पादनलाई हेर्ने हो भने एक तिहाइ मात्र प्याज नेपालमा उत्पादन हुने गरेको उनी बताउँछन् । 

यस्तै, सरकारले प्याज खेती प्रवद्र्धन गर्न केही स्थानीय तहले किसानलाई अनुदान पनि दिने गरेको छ । तर, सो कार्यक्रम पनि प्रभावकारी हुन सकेको छैन । त्यसकारण प्रधानमन्त्री स्तरबाटै प्याजमा आत्मनिर्भर हुन विशेष योजना सार्वजनिक हुनेपर्ने उनको बुझाइ छ । ‘हामी धान, गहुँ, मकैलगायतमा मात्र आत्मनिर्भर हुने कुरा गर्छौं । तर, प्याजमा आत्मनिर्भर हुने कुरै गर्दैनौँ । अनि कसरी हुन्छौँ आत्मनिर्भर ?’ उनी प्रश्न गर्छन् । 

उनी प्याज उत्पादनका लागि गुणस्तरीय बीउ उत्पादन गर्न प्रोत्साहन गर्ने, तराईका असिञ्चित क्षेत्रमा सिँचाइको प्रबन्धसहित प्याज खेती प्रोत्साहन गर्ने, प्याजको खेती प्रवर्द्धन गर्न आवश्यक प्रविधि विकास वा आयात गरेर प्रमाणीकरणपश्चात् किसानमाझ लैजाने तथा बजार व्यवस्थापन र मूल्यको सुनिश्चितता गर्ने किसिमका कार्यक्रममा तीनै तहका सरकार मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याउँछन् । 

  • प्रकाशित मिति : भदौ ७, २०८० बिहीबार १९:१३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया