बागलुङका होमस्टे सुनसान, खेतबारीमा व्यस्त हुन थाले सञ्चालक

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

बागलुङको ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका घरबास (होमस्टे) बर्खा सुरु भएदेखि पाहुना नआउँदा सुनसान बनेका छन् । असारदेखि नै जिल्लामा पर्यटकको आगमनमा कमी आएको हो । 

घरबास सञ्चालकका अनुसार साउनदेखि घरबासमा पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै घटेको छ । काठेखोला गाउँपालिका–३ धम्जास्थित बेलढुङ्गा सामुदायिक घरबास, अतिथि सत्कार घरबास भकुण्डेलगायतमा पाहुना कम पुग्ने गरेका छन् । घरबासमा पाहुना आउन छाडेपछि सञ्चालकहरू खेतबारीको काममा जुटेका छन् ।

बागलुङ बजार आसपासको बागलुङ कालिका मन्दिर, बागलुङ–पर्वत जोड्ने नेपालकै लामो झोलुङ्गे पुल, पञ्चकोट र शालिग्राम सङ्ग्रहालयबाहेक अन्य स्थलमा कम आगन्तुक पुगेको पाइन्छ । पर्यटकीयस्थल वरपर सञ्चालनमा आएका घरबासले आगन्तुकलाई सहज हुनुका साथै स्थानीयलाई रोजगारी दिएको छ ।

बेलढुङ्गा सामुदायिक घरबासका सञ्चालक गोपाल श्रीस अहिले पर्यटक कम भएपनि असोज लागेपछि मात्रै घरबासमा पर्यटकको आगमन बढ्ने विश्वासमा छन् । बर्खाका कारण बेलढुङ्गासम्म पुग्ने सडकको विभिन्न स्थानमा पहिरो गएको र बाटोमा घाँस पलाउँदा पाहुना कम आएको उनको भनाइ छ ।

‘हिउँदमा जसरी भरिभराउ हुन्थ्यो, अहिले त्यसको तुलनामा निकै न्यून छ’ उनी भन्छन्, ‘अहिले मकै पाक्ने बेला भयो, मकै भित्र्याउने, आलु खन्ने, बारीमा काम गर्नेबाहेक अरू केही गर्न सकिएको छैन ।’ 

बागलुङ नगरपालिका–१० भकुण्डेस्थित अतिथि सत्कार सामुदायिक घरबासकी सञ्चालक मुना थापामगर अहिले पाहुनाको आगमन निकै कम भएको बताउँछिन् । बर्खामा बादल लाग्ने र दृश्यावलोकन गर्न नपाइने हुँदा पर्यटक कम पुग्ने उनको भनाइ छ ।



प्राकृतिक सुन्दरताले भरिएको भकुण्डेमा ताल र दर्जनौँ हिमशृङ्खला अवलोकनका लागि पर्यटक यहाँ पुग्ने गर्छन् । हिउँदमा राम्रो चल्ने हुँदा स्थानीयको आयआर्जनको स्रोत घरबास बनेको छ । 

घरबासले ग्रामीण क्षेत्रका महिलालाई सक्रिय भई पाहुनासँग बोल्न, सत्कार गर्न र स्थानीय कला संस्कृति प्रदर्शन गर्न सक्ने भएका छन् । जिल्लाको विभिन्न स्थानमा घरबास सञ्चालनमा आएपछि मौलिक कला, संस्कृतिको जगेर्नासमेत हुन थालेको छ । रासस 



  • प्रकाशित मिति : भदौ १२, २०८० मंगलबार १४:२८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया