logo-img

जनैपूर्णिमामा म्याग्दीका शक्तिपीठमा बिहानैदेखि घुइँचो

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

जनैपूर्णिमा पर्वको अवसरमा म्याग्दीका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ । मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ म्याग्दीका विभिन्न धार्मिकस्थल र तलाउमा बिहानैदेखि भक्तजनको घुइँचो बढेको हो । 

जनैपूर्णिमा पर्वमा मात्रै विशेष पूजा हुने म्याग्दीको रिखार, खयरभारनी, नौली बराह, नाँगी बराही, पेरी भारानीलगायतका शक्तिपीठमा पूजाआजा गर्नका लागि हजारौं भक्तजन पुगेका छन् । 

अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारको खयरभारनी थानमा पूजाआजा र तलाउमा स्नानका लागि एक हजार बढी भक्तजन पुगेका छन् । समुद्री सतहदेखि चार हजार ६ सय ३० मिटर उचाइमा अवस्थित खयरभारनी थानमा जनैपूर्णिमाको दिन पूजाआजाका लागि म्याग्दीका साथै छिमेकी जिल्लाबाट समेत भक्तजन पुगेको वडाध्यक्ष राजेश तिलिजाले जानकारी दिए ।



उनका अनुसार, मौसम अनुकूल भएपछि विगतका वर्षहरूको तुलनामा उल्लेख्य मात्रामा भक्तजन र तीर्थयात्री खयर आएका छन् । पाउद्वार हुँदै खयरभारानी जाने तीर्थयात्री खोप्रामा पर्यटन सहकारीमार्फत सामुदायिक लजका साथै खयरभारानी क्षेत्र संरक्षण समितिले बनाएको अस्थायी टेन्टमा आश्रय लिएर बस्ने व्यवस्था मिलाइएको छ । 

क्षमताभन्दा बढी तीर्थयात्री आएपछि आवास व्यवस्थापनमा समस्या भएको छ । खयरभारानीको दर्शनका लागि तीन दिनेअघिदेखि नै पर्यटक र तीर्थयात्री पैदलयात्रा हुँदै खयर पुग्न थालिसकेका थिए ।  

त्यसैगरी रघुगङ्गा गाउँपालिका–८ मा धौलागिरि हिमालको काखमा करिब चार हजार पाँच सय मिटर उचाइमा अवस्थित रिखारमा समेत भक्तजनको बिहानैदेखि भीड लागेको छ । जिल्ला सदरमकाम बेनीदेखि रिखार पुग्न दुई दिनको पैदलयात्रा गर्नुपर्छ । पानीको तलाउनमा रहेको डुङ्गा आकारको ढुङ्गामा निर्मित मन्दिर रहेको रिखार भक्तजन र पर्यटकको लागि अनौठो र आकर्षणको रूपमा रहेको छ । 



ऋखार क्षेत्रमा दुई दिनदेखि तीर्थयात्रीको चाप बढेको सप्तऋषि युवा क्लबका सल्लाहकार अंकित पुनले बताए । हरेक वर्ष ऋखारको भ्रमण र दर्शनमा आउने तीर्थयात्रीको सङ्ख्या बढ्दै गएको छ । 

जनैपूर्णिमाको दिन आफ्नो मनोकाङ्क्षा लिएर नाङ्गीबराही, भगवतीको नौलीबराही र घराम्दीको प्यारीबराही थान र तलाउमा समेत भक्तजनको चहलपहल छ  । यी तलाउ र थानमा जनैपूर्णिमाको अवसरमा मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ भक्तजनले  पूजाआजा र भाकल गर्ने चलन छ । रासस 




  • प्रकाशित मिति : भदौ १४, २०८० बिहीबार ८:०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया