नौ किलो सुन काण्ड : छोरा पक्राउ पर्दा बाबु महरालाई किन जोगाउँदै छन् प्रचण्ड ?

विद्युतीय चुरोट (भेप)मा लुकाएर भित्र्याइएको तस्करीको नौ किलो सुन प्रकरणमा सत्तारुढ दल माओवादीका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुलको नाम जोडिएको लामो समय भयो । २७ असार ०८० मा अदालतमा आपराधिक विश्वासघात र संगठित अपराधको कसूरमा मुद्दा दर्ता हुञ्जेलसम्म यस प्रकरणमा महरा बाबुछोराको नाम बाहिर आएको थिएन । प्रहरीले अभियोगपत्र जिल्ला अदालत, काठमाडौंमा दर्ता गरेपछि उनीहरू संलग्न रहेको खबर सार्वजनिक भएको हो ।

सुन तस्कर चिनियाँ गिरोहसँग महरा बाबुछोराले पटक–पटक टेलिफोन सम्पर्क गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धानबाट खुलिसकेको छ । सुन विमानस्थलमा रोकिएको अवधिमा गिरोहसँग महराले छोरा निर्मलका नाममा रहेको मोबाइलबाट २२ पटक र अर्का छोरा राहुलले दुई सय ३४ पटक टेलिफोन संवाद गरेको अनुसन्धानबाट खुलिसकेको छ । त्यति मात्र होइन, महरा बाबुछोरा यो प्रकरणमा संलग्न रहेको भनेर पनि प्रतिवेदनमा स्पष्ट उल्लेख छ । तर, यति हुँदासम्म पनि उनीहरूविरुद्ध न सरकारले मुद्दा चलाएको थियो, न सरकारको नेतृत्व गरिरहेको माओवादीले कारबाही नै ।

उनीहरूमाथि प्रहरीले सामान्य सोधपुछसमेत नगरेपछि चौतर्फी आलोचना हुँदै आएको थियो । अन्ततः बुधबार (भदौ १३) महराका छोरा राहुल पक्राउ परे । भेपमा लुकाएर ल्याएको सुन प्रकरणको अनुसन्धानका क्रममा राहुललाई पक्राउ गरिएको प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले बताए । उनीविरुद्ध संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको छ । नौ किलो सुन तस्करी प्रकरणमा अदालतमा मुद्दा दर्ता भएको झण्डै दुई महिनापछि तस्कर संलग्न समूहमाथि दोस्रो चरणको अनुसन्धान सुरु भएको हो । 

दोस्रो चरणको अनुसन्धानमा बल्ल राहुल पक्राउ परेका हुन् । उनलाई संगठित अपराध र सुन चोरी पैठारीको कसुरमा पाँच दिन हिरासातमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिइएको प्रहरी प्रवक्ता डिआइजी कडायतको भनाइ छ । 

किन पक्राउ परेनन् बाबु महरा ?

यस प्रक्ररणमा महरा बाबुछोराकै नाम जोडिएको छ । चौतर्फी आलोचनापछि छोरा राहुल पक्राउ परे पनि बाबु महरा अझै पक्राउ परेका छैनन् । अभियोगपत्रमा उल्लेखित नम्बर पूर्वसभामुखको नभए पनि उनले भन्सारका कर्मचारीलाई सामानबारे चासो राख्दै फोन गरेको सिआइबी स्रोतको दाबी छ । 



महरा स्वयंले पनि आफूले एकपटक कर्मचारीलाई फोन गरेको स्विकारेका छन् । दाङमा पत्रकारहरुसँग कुरा गर्दै महराले ३० साउनमा चिनियाँ नागरिकले भन्सारमा सामान रोकियो भनेपछि अधिकारीसँग कुरा गरेको स्विकारेका थिए । तर, उनले त्यो सामान सुन भएको भन्ने थाहा नभएको दाबी गर्दै आएका छन् । साथै महराले चिनियाँ नागरिक दाओजिन वाङसँग १०–१२ वर्षदेखि चिनजान र आऊजाऊ रहेको भन्दै उनलाई फलफूल व्यापारीका रूपमा मात्रै चिनेको बताएका छन् । 

‘उनी फलफूल व्यापारी हुन् । मसँग टेलिफोन वार्ता भएको पनि होइन, भेट भएको हो । इलेक्ट्रिक चुरोटको सामान आएको छ भन्सारमा भनेपछि भन्सारका साथीसँग कानुनअनुसार काम गर्नुहोला, रोक्नपर्ने भए रोक्नू, छोड्नुपर्ने हो भने छोड्नू, ढिला गर्नुपर्ने हो भने गर्नू भनेको हो । यत्ति हो, कुराकानी भएको,’ उनले भने । उनले वाङले भन्सारमा इलेक्ट्रिक चुरोटको सामान रोकिएको भन्दा सुनको ‘स’ अक्षर पनि उच्चारण नगरेको बताए ।



‘मैले केही इलिगल सामान हो र ? भनेर सोधेँ । इलिगल होइन भने । इलिगल होइन भने के समस्या हो त भनेर भन्सारका साथीसँग कुराकानी भएको हो,’ उनले भने । तर, आफ्नो र छोराको टेलिफोन संवाद सुनबारे नभएको उनले दाबी गरेका थिए । हिजो (बुधबार) मात्र छोरा राहुल पक्राउ परे पनि उनी अझै पक्राउ परेका छैनन् । प्रमाण जुटे उनी पनि पक्राउ पर्ने प्रहरी प्रवक्ता डिआइजी कडायतको भनाइ छ । उनका अनुसार बाबु महरालाई प्रहरीले नियन्त्रणमा नलिई निगरानीमा मात्रै राखेको छ । अनुसन्धानको विषय भएका कारण पनि थप खुलाउन नमिल्ने उनी बताउँछन् । भन्छन्, ‘यो अनुसन्धान भइरहेको विषय हो । यसमा धेरै बोल्न मिल्दैन । अनुसन्धान गर्दै जाँदा प्रमाण भेटिए जहिले पनि पक्राउ पर्छन् ।’

महराले अर्का छोरा निर्मलका नाममा रहेको मोबाइलबाट तस्करीमा संलग्न हाल फरार चिनियाँ नागरिक लुई हानसोङसँग ११ पटक सम्पर्क गरेको थिए भने सुन तस्कर दाओजिन वाङले पनि महरालाई ११ पटक फोन सम्पर्क गरेका सिआइबीले बुझाएको प्रतिवेदनमा उल्लेख छ । 

सुन तस्करसँग पटक–पटक सम्पर्क भए पनि राहुललाई अनुसन्धानको दायरामा ल्याउन प्रहरीले निकै ढिलाइ गरेको थियो । सुन ल्याउने समूहको नेटवर्कसँग सम्पर्कमा रहेको देखिएकाले ‘लिंक चार्ट’मा नाम उल्लेख गरिएको, तर कसैसँग फोन सम्पर्क भएकै आधारमा त्यही विषयमा कुरा भएको भन्ने अवस्था नरहेकाले अनुसन्धान नभएको सिआइबीले दाबी गर्दै आएको थियो । र, यस प्रकरणमा अनुसन्धान जारी रहेको पनि जनाएको थियो । 

यता, मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ३५ बमोजिम थप प्रमाण फेला परे महरा बाबुछोरा कारबाहीमा पर्न सक्ने बाटो पनि खुल्ला थियो । कुनै मुद्दा अदालतमा दायर भइसकेपछि त्यस्तो मुद्दामा अन्य सम्बद्ध थप प्रमाणबाट मुद्दा दायर भइसकेका अभियुक्तबाहेक अन्य अभियुक्तउपरसमेत दाबी लिन पर्ने भएमा वा मुद्दा दायर भई अभियुक्त कायम भइसकेका व्यक्तिउपर थप अभियोग लगाउनुपर्ने देखिएमा त्यसको कारण खुलाई थप अनुसन्धान गर्न लगाई अन्य थप अभियुक्तको हकमा समेत थप दाबी लिई सरकारी वकिलले मुद्दा दायर गर्न सक्ने व्यवस्था मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ३५ ले गरेको छ । 

यो दफाले महरामाथि छानबिन गर्न राज्य तयार भए अझै पनि मुद्दा चलाउन सकिने बाटो खोलिदिएको छ । अहिले छोरा पक्राउ परे पनि बाबु महरा पक्राउ पर्नेमा धेरैले आशंका गरिरहेका छन् । महरा उपाध्यक्ष रहेको माओवादी केन्द्रले नै गृह प्रशासनको नेतृत्व गरिरहेको छ भने प्रधानमन्त्रीसमेत उनकै पार्टीको भएकाले उनलाई थप संरक्षण मिल्न सक्ने धेरैको आकलन छ ।   

उक्त प्रकरणमा सत्तारुढ माओवादीका उपाध्यक्ष महरालाई जोगाउन स्वयं प्रधानमन्त्री पुष्पकमल दाहाल नै लागिपरेको भन्दै विपक्षी दल एमालेले सदनमा कुरा उठाउँदै आएको छ । महरामाथि छानबिनको माग राख्दै जनस्तरबाटै पनि सरकारमाथि दबाब बढ्दै गएको छ । यद्यपि, प्रधानमन्त्रीले आजै मात्र भ्रष्टाचारविरुद्धको कारबाही कांग्रेस–एमालेप्रति लक्षित नरहेको भन्दै माओवादीकै कोही वा स्वयं आफैँ संलग्न भएको भेटिएमा कारबाहीको दायरामा आउने बताएका छन् । 

कसरी जोडिए महरा बाबुछोरा ?

१० पुस ०७९ मा दुबईबाट आएका चिनियाँ नागरिक ली हानसङको लगेजमा ७३ बट्टामा ७३० थान भेप भेटिएको थियो । एकैपटक यति धेरै परिमाणमा भेप आएको भन्दै विमानस्थल भन्सारले समातेको थियो । अनुसन्धान गर्दै जाँदा भेपभित्र सुन भेटियो ।  

‘इलेक्ट्रिक सिगरेट’ (भेप) एक महिना १९ दिनसम्म त्रिभुवन विमानस्थलको आगमन कक्षमा रोकिन्छ । उक्त भेप स्टोरको १११ नम्बर कोठामा राखिन्छ । भेप हेर्ने जिम्मेवारी नायब सुब्बा रेवन्त खड्कालाई तोकिन्छ । नासु खड्कासँग मिलेर भन्सार एजेन्ट दिनेश बस्नेतले सुन गायब पार्छन् । त्यहाँ अर्कै भेप बट्टामा भरेर राखिन्छ । अर्को भेप थन्क्याएर सुन गायब भएपछि भन्सारले अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई दिन्छ । 

सिआइबीले नासु खड्का, बस्नेत, वेदप्रकाश अग्रवाल, साहेवराव पाण्डुरङ मगर, अमृत कार्की, निर्मलकुमार विक, दीपेश बस्नेत, गोपाल सुवेदी र रामकेशव थापा तस्करीमा संलग्न भएको निष्कर्ष निकाल्छ । त्यसपछि अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं प्रतिवेदन बुझाउँछ । 

अहिले दीपेश बस्नेत, गोपाल सुवेदी र रामकेशव थापा फरार छन् । बाँकी सबै हिरासतमा छन् । सिआइबीले अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनअनुसार महरा बाबुछोराले भन्सार विभागका कर्मचारीलाई पटक–पटक फोन गरेर भन्सार कार्यालयमा रहेको ई–सिगरेट लिलामी गर्न दबाब दिएका थिए ।
साथै, प्रतिवेदनमा महरा बाबुछोरा र सुन आयातकर्ता चिनियाँ नागरिक एवं अरू सम्पर्कसूत्रसमेतको टेलिफोन नम्बरसहित उल्लेख छ ।

  • प्रकाशित मिति : भदौ १४, २०८० बिहीबार १९:१४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया