म पनि अष्ट्रेलिया जान्छु

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

हजुरलाई पक्कै लाग्यो कि मेरा पछाडिको सिटबाट भूत प्रेतले मलाई डर दिएका होलान् । भविष्यबारे सोचेर बाँचिरहेको मान्छेलाई वर्तमान जति डरलाग्दो त के होला र ! सपनामा रुमल्लिरहेको मान्छेलाई यथार्थ जति डरलाग्दो त के होला र ! हो भविष्यमै रमाइरहेको म पछाडि फर्केर हेर्दा मेरा भूत र वर्तमान मलाई हेर्दै टोलाइरहेको देखेर  म डराएँ ! म झस्किएँ ! हुन पनि सपना देख्ने मानिस कालको भूतले भन्दा भूतको कालले नै बढी डराउने गर्छ ।

म हतार–हतार चोकमा ओर्लिएँ र आत्तिँदै घर पुगेँ । बुवा आमाले म आत्तिएको थाहा पाउनुहुन्छ कि जसरी र सुटुक्क आफ्नो कोठामा पुगी ओछ्यानमा पल्टिएँ । बिहान जोसका साथ निस्किएको मेरो साँझ सबै ऊर्जा शान्त भइसकेको थियो । छोरा आएको आमाले कति छिटो थाहा पाउँछिन्, भान्सामा तरकारी केलाइरहेकी मेरी आमा कोठामा आउनुभयो ।

‘समीर आज सीधै कोठामा आएछस् त, सर्वत-पानी बनाएर राख्दिएकी थिएँ, गर्मीको मौसम छ, फेरि खास्सै पानी पनि खाँदैनस् दिउँसो बाहिर हुदाँ’ 

‘हजुर दिउँसो घरै हुनुन्थ्यो, म बाहिर के खान्छु के खादिनँ हजुरलाई कसरी थाहा हुन्छ, आमा ?' 

म उठेँ, एक गिलास पानी पिएँ । दोस्रो गिलास भरिने बेलासम्म मैले आमाको मुख हेर्न सकिरहेको थिइनँ । मलाइ थाहा थियो, मेरी आमालाई मैले कति लिटर पान खाएँ मात्रै होइन, कति मिटर हासेँ र कति किलोमिटर निरास भएर हिँडे भन्ने मेरो मुख हेरेर थाहा पाउँछिन् । मेरी आमाले मेरो कराएको पेट, डराएको मन, हराएको
हिम्मत, फरफराएको आँखा, रमाएका पल सब थाहा पाउँछिन् । म खोच्च्याउँदै घर आएँ भनी बाटोको कुनचाहिँ ढुंगाले मेरो छोरोको खुट्टामा ठेस लाग्योसम्म थाहा पाउँछिन् । धेरैबेर म मौन रहन सकिनँ र आमालाइ अँगालेर रोएँ ।

आमालाइ यो पनि थाहा थियो कि म किन रोइरहेको छु। धेरै बेरपछि आमाको मुखबाट बोली निस्कियो– पीर नगर बाबु, बुबा तँलाई विदेश पठाउनेबारे सल्लाह गर्न छिमेकी अंकलको घर जानुभएको छ ।’



मेरो मन थोरै धैर्य भयो आफ्नो छोरालाई अष्ट्रेलिया पठाइसकेका अंकलले पक्कै पनि राम्रै सल्लाह दिन्छन् भन्ने कुरामा म ढुक्क थिएँ । म पनि आमासँगै भान्सातिर लागेँ ।

भान्साको झ्यालबाट बुवा आफ्नो साइकलमा घरतर्फ आइरहेको देखेँ । बुवाले साइकल चलाउँदा सन्तुलन मिलाएजस्तै बनाउनु छ हाम्रो परिवार पनि मैले कल्पना गरेँ । मेरो बुवा पेसाले शिक्षक, विद्यार्थीको भविष्य बनाउन आफ्नो जीवन समपर्ण गरेका मान्छेले आफ्नो छोरोको बारेमा सोच्दैनन् होला त भन्ने सोचेँ अनि मुस्कुराएँ ।



मेरा पो अनेक सपना छन् । बुवा–आमाको लागि त सपना भनेकै म । म दिनभरि हारेर घर आउँदा पनि अर्को दिन उही ऊर्जा र विश्वाससहित संसार जित्न पठाउन तयार मेरी आमा ! आफ्नै सपनासँग हरेर घर आउँदा पनि अर्को दिन फेरि सामर्थ्य र हिम्मतसहित आफ्नो सपना पूरा गर्न प्रेरणा दिने मेरा बुवा ! मेरा मनमा खेलेका सम्पूर्ण डर अब शान्त भयो ।

हामी तीन एक भएर खाना खायौँ । म बुवाको मुखबाट मैले चाहेको शब्द सुन्न आतुर थिएँ । बुवा पनि मेरो धैर्यताको जाँच लिएजसरी मौन हुनुन्थ्यो । मास्टर हुन नि मेरा बा त पाठ पढाउने, परीक्षा लिने कुरामा खुबै माहिर । यस्तै सोच्दै बुवाको मुख हेर्दै बसेको रहेछु । टोलाएको देखेर बुवा बोल्नुभयो– मैले कुरा मिलाइसकेको छु, बटौलीको बजारमा यही हप्ता अष्ट्रेलिया छात्रवृत्ती कार्यक्रम रहिछ । छिमेकी अकंलको छोरो पनि त्यहीँबाट गएको रहेछ, भोलि जाउँला बुझ्न ।

'बुवाछोराको कुरा क्या मिल्छ है' म पनि त्यहाँ जाउँला भन्ने सोच बनाएको थिएँ मैले मनमनै कुरा गरेँ । जिन्दगीले देखाएको सपना र सपनाले देखाएको जिन्दगीमा कति फरक छ है ! दुई शब्द यताउता गराउँदा बिल्कुलै फरक अर्थ राख्ने शब्दझैँ साबै चिज यताउता गराउन मिल्ने भए यो संसार कति फरक हुन्थ्यो होला है । मैले यताउता गराएर अर्थ बिगारेको शब्दजस्तै भगवानले कहिल्यै मेरा दुई स्तम्भ यताउता नगरून् । बुवाआमालाइ हेर्दै म आफ्नो कोठातिर लागेँ । क्रमश: ...

  • प्रकाशित मिति : भदौ १८, २०८० साेमबार १६:४७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया