मुस्ताङको कैकु-खन्ती खण्ड कालोपत्र, छोटियो यात्राअवधि
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

मुस्ताङको थासाङ गाउँपालिका–५ कैकुखोलादेखि गाउँपालिकाको केन्द्र खन्ती जोड्ने सडक कालोपत्र भएपछि यात्राअवधि छोटिएको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरीडोरको बेनी–जोमसोम–कोरला सडक योजना अन्तर्गत कैकुखोला–खन्ती खण्डको १६ किलोमिटर सडक कालोपत्र गर्ने काम सम्पन्न भएको हो ।

योजना प्रमुख जगत प्रजापतिले सडक कालोपत्र भएपछि एक घण्टा तीस मिनेटको यात्रावअधि ३० मिनेटमा छोटिएको जानकारी दिए । ‘कैकुखोला–खन्ती खण्डमा सडक कालोपत्र भएपछि एक घण्टा यात्रा अवधि छोटिएको छ,’ उनले भने, ‘मुस्ताङका स्थानीय बासिन्दाका साथै पर्यटक र तिर्थयात्रीलाई सहज भएको छ ।’

११ मिटर फराकिलो बनाइएको सडकमा नाली, ग्यावीयन पर्खाल निर्माण र ग्राभेलपछि ७ देखि ८ मिटरको चौडाइका दरले आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको हो । उकालो सडकमा ढलान गरिएको छ। भीरको जोखिमयुक्त सडकको डिलतर्फ साइडबार राखिएको छ ।

सडक कालोपत्र भएपछि यात्रा अवधि छोटिएको र आवत जावत सहज भएको स्थानीयबासीहरुले बताएका छन् । मालढुंगा देखि कोरला नाकाको २०२ किलोमिटर दुरीको सडक विस्तार गर्न सञ्चालित १२ वटा प्याकेज मध्य कैकु–खन्ती खण्डको मात्रै पूर्णरूपमा कालोपत्र भएको हो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाको तेस्रो प्याकेजमा पर्ने सो सडक कालोपत्र गर्न वि.स. २०७४ जेठमा शर्मा–गजुरमुखीसँग ठेक्का सम्झौता भएको थियो ।

कैकु–खन्ती सहित बेनी–जोमसोम खण्डको चार प्याकेज (भाग)मा छुट्टा छुट्टै निर्माण कम्पनीहरुसंग दुई अर्ब पचास करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।



शर्मा–गजुरमुखीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपाने (राजन)ले कम्पनीले ठेक्का लिएको राहुघाट र लेतेखोलाको मोटरेबल पुल निर्माणको काम पनि सकिएको जानकारी दिए ।

‘शर्मा–गजुरमुखीले ठेक्का लिएको तीन वटा प्याकेज मध्य दुई वटा प्याकेज कालोपत्र र दुई वटा पुल निर्माण सकिएको छ,’ उनले भने ‘७५ प्रतिशत भौतिक प्रगति भएको दोस्रो प्याकेजको म्याग्दी खण्डमा पहिरोले धेरै क्षति गरेको छ। यो खण्डलाई पूर्णता दिने प्रयासमा छौँ । छाक्ताङ खोलाको मोटरेबल पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।’



वि.सं २०७४ मा सुरु भएको चीनको स्वशासित क्षेत्र कोरला नाका जोड्ने २०२ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाको १२ वटा खण्डमा निर्माण भइरहेको छ ।

हालसम्म मुस्ताङको सात वटा खण्ड निर्माण सकिएको आयोजनाको भौतिक प्रगति करिब ७५ प्रतिशत छ । ११० किलोमिटर दुरीको जोमसोम–कोरला खण्डको सात मध्य छ वटा खण्डको सडक ग्राभेल गरेर ठेकेदारले हस्तान्तरण गरिसकेका योजना प्रमुख जगत प्रजापतिले बताए । आठ वटा पक्की पुल र तीन वटा बेलिब्रिज निर्माण सकिएका छन् ।

थप एक वटा मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । १२ वटा मोटरेबल पुल निर्माणाधीन छन् । थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताव गरिएको आयोजना प्रमुख प्रजापतिले बताए । यो सडकलाई गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको छ ।

सडकले पूर्वाधार, आर्थिक, व्यापारी, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको म्याग्दी प्रदेशसभा क्षेत्र (क) बाट निर्वाचित गण्डकी प्रदेश सांसद हरिबहादुर भण्डारीले बताए । रासस

  • प्रकाशित मिति : भदौ २१, २०८० बिहीबार ९:२३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया