पाठेघरको मुखको क्यान्सर भएका प्रत्येक तीन जनामध्ये दुईको मृत्यु
किशोरीलाई एचपिभी खोप लगाइँदै

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

आजबाट १४ वर्ष उमेर पूरा भएका र १५ वर्ष ननाघेका किशोरीलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइँदै छ । स्वास्थ्य सेवा विभागले पाठेघरको मुखको क्यान्सर रोगको रोकथाम गर्न यो रोग विरुद्धको २० हजार मात्रा एचपिभी खोप लगाउन लागेको जानकारी दिएको हो । 

विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले हाल उपलब्ध भएको एचपिभि खोप ६ महिनाको अन्तरालमा २ मात्रा लगाउनुपर्ने बताए । उनले खोप दुई मात्रा पूरा गरेमा लक्षित गरेको प्रजातिबाट हुने संक्रमणबाट ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गरिने बताए । यो खोप यौन सम्पर्क हुने उमेर भन्दा पहिले नै दिएमा बढी प्रभावकारी हुने विभिन्न अध्ययनले देखाएको छ । पहिलो मात्रा खोप लगाउँदा उमेर खुल्ने आधिकारिक प्रमाण, दोस्रो मात्राको हकमा पहिलो मात्रा लगाएको खोप कार्ड आवश्यक पर्ने बताए । 

डा. गौतमले भने, ‘सन् २०२० को तथ्याङ्कले पाठेघरको मुखको क्यान्सर तीन जनालाई लाग्यो भने दुई जनाको मृत्यु भएको देखाएको छ । त्यही भएर पनि उच्च प्राथमिकताका साथ सञ्चालन गर्न लागिएको छ । डेमोष्ट्रेसन कार्यक्रम भनेर सञ्चालन गर्न लागिएको छ । यसपश्चात राष्ट्रिय खोप कार्यक्रममा राखेर अन्य उमेर समूह(१० देखि १४ वर्ष ) का लागि क्रमशः एक वर्षपछि खोप कार्यक्रम सञ्चालन गर्नेछौँ ।’

देशभरका सबै किशोरीलाई निःशुल्क एचपिभी खोप उपलब्ध हुन्छ : मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले देशभरका सबै किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क खोप ‘एचपीभी’ उपलब्ध गराउने बताएका छन् । 

बुधबार काठमाडौंको थापाथलीस्थित प्रसूति अस्पतालबाट खोप अभियानको उद्घाटन गर्दै उनले पाठेघरको मुखको क्यान्सर अत्यन्तै जटिल रोग भएकाले रोकथामको लागि ७७ वटा जिल्लाका सबै किशोरीहरूले पाउने गरी सुरुवात गरेको बताए । 



उनले भने, ‘किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क खोप ‘अत्यन्तै जटिल रोगको समस्या र जति न्यूनीकरण गर्दा गर्दै देखिरहेको अवस्थामा भएकाले यो रोग नलागोस् भन्नका लागि सिमित श्रोत र साधनको हिसाबले सुरुवात गरेका छौँ । उमेर समूहलाई ध्यानमा राखेर दिइने खोप ७७ वटा जिल्लाका सबै किशोरीहरूले पाउनुपर्छ । यसको लागि नेपाल सरकार र स्वास्थ्य मन्त्रालयले पहल गर्छ ।’ 



  • प्रकाशित मिति : भदौ २७, २०८० बुधबार १२:४४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया