चिकित्सा शिक्षा सरोकार समितिले तोड्यो अनशन, ३८ दिनदेखिको आन्दोलन स्थगित

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले, माग पुरा गर्ने आश्वासन दिएपछि, चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समिति नेपालले आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्कालको लागि फिर्ता लिएको छ । विगत ३८ औँ दिनदेखि १४ सूत्रीय माग राखेर २५ वटा संस्थागत समर्थनमा  आन्दोलन गरिरहेको सङ्घर्ष समितिले स्वास्थ्य मन्त्रीको आग्रहमा आन्दोलनका सम्पूर्ण कार्यक्रम  तत्कालका लागि फिर्ता लिएको हो । 

स्वास्थ्य मन्त्री बस्नेतले आफैँ गएर माइतीघरमा अनशनरत आन्दोलनकारीलाई अनशन तोडाएका छन् । अनशन तोड्ने क्रममा मन्त्री बस्नेतले चिकित्सा क्षेत्रको समस्या समाधानको लागि शिक्षा, स्वास्थ्य मन्त्रालय, चिकित्सा शिक्षा आयोग र प्रधानमन्त्री आफै पनि सक्रिय भएको भन्दै समस्या निकट भविष्यमा समाधान हुने विश्वास व्यक्त गरे । 

‘यो समस्या समाधान गर्ने विषयमा सरकार लागि नै सकेको अवस्था भएको हुनाले यो कारबाहीको अवस्थामा नै अगाडि बढिसकेको छ त्यस कारणले तपाईँहरू अब धर्ना नै बस्न नपर्ने गरी समस्या समाधान हुन्छ,’ उनले भने ‘जति गर्न पर्ने हो, के के कारणले कमी कमजोरी देखिएको हो त्यसलाई सुधार गर्न र समग्र रूपमा नेपालमा डाक्टर र नर्सहरूको उत्पादन बढाउनका लागि स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोग र प्रधानमन्त्री आफै यसमा सक्रिय भएको हुनाले यो समस्या निकट भविष्यमा समाधान हुने विश्वास व्यक्त गर्दछु ।’ 

उनले यस क्षेत्रमा भएका राम्रा कुरालाई आत्मसाथ गर्ने र कमी भएको कुराहरूलाई सुधार गर्दै जानुपर्ने भन्दै यस्तो नगरे पाँच वर्षपछि देशमा डाक्टर र नर्सहरू पाउन गाह्रो हुने बताए । उनले प्रधानमन्त्रीले अमेरिकादेखि चीनसम्म आफ्नो कुरा राख्नुपर्ने समयमा यसरी धर्ना गर्नु राम्रो नभएको भन्दै प्रधानमन्त्री फर्किएपछि स्वास्थ्य समस्या समाधान गर्ने हिसाबले अगाडि बढ्ने बताए । 

‘मन्त्रिपरिषद्को बैठकमा चिकित्सा शिक्षा ऐन संशोधन गरेर नेपालमा स्वास्थ्यकर्मीहरू मुलुकलाई चाहिने जति यही उत्पादन गर्ने, सकिन्छ भने दक्ष जनशक्ति बाहिर पठाउन सकिन्छ भने त्यो पनि राष्ट्रको लागि राम्रै हो । प्रधानमन्त्रीले यो कुरा गम्भीर छ, यसबारेमा शिक्षा, स्वास्थ्य मन्त्रालय, चिकित्सा शिक्षा आयोग र प्रधानमन्त्री आफै बसेर छलफल गरौँ भनेर भन्नु भयो जसअनुसार हामीले २ दिनसम्म छलफल गरेका थियौँ । यो संशोधन गरेर जाने हिसाबले नै प्रधानमन्त्रीको निर्देशन भइसकेको छ,’ उनले भने । 



चिकित्सा शिक्षा सरोकार तथा सङ्घर्ष समितिका संयोजक निर्मल सापकोटाले स्वास्थ्य मन्त्रालयसँगको छलफलपछि तत्कालका लागि आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित भएको जानकारी दिए । उनले भने ‘तत्कालका लागि आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको छ । अहिले हामी कार्य समितिको बैठकमा छौँ औपचारिक जानकारी केही बेरमा गराउने छौँ ।’  



  • प्रकाशित मिति : असोज १, २०८० साेमबार १७:१९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया