राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको आग्रह : संविधानअनुसार बन्न बाँकी कानुनको छिटो तर्जुमा गरौँ
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानअनुसार बन्न बाँकी कानुनको यथाशीघ्र तर्जुमा गरी कानुनी रिक्तता पूरा गर्दै संविधानको कार्यान्वयनलाई पूर्णता दिनुपर्ने आवश्यकता औंल्याएका छन् ।   

संविधान दिवस, २०८० का अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष तिमिल्सनाले लामो संघर्ष, त्याग र बलिदानको फलस्वरूप नेपाली जनताले आफ्ना प्रतिनिधिमार्फत आफ्नो  संविधान आफैं लेख्ने अवसर पाएकाले संविधान राज्यको मूल कानुन भएकाले यसको मर्म र भावनाबमोजिम राज्यको शासन व्यवस्था सञ्चालन गर्न, संविधानमा व्यवस्था गरिएका जनताका आधारभूत मौलिक हक तथा मानवअधिकारको कार्यान्वयन गर्दै लोकतन्त्रका लाभहरूको समतामूलक र समवन्यायिक वितरण गर्नतर्फ ध्यान जानु जरुरी रहेको उल्लेख गरेका छन् ।   

‘अहिले जनतामा बढ्दो निराशाको फाइदा उठाउँदै अराजकता मच्चाउने र धमिलो पानीमा माछा मार्न खोज्ने पक्षले यसलाई आफ्नो स्वार्थ पूरा गर्ने अवसरका रुपमा प्रयोग गर्ने कोशिस गरिरहेका छन्,’ अध्यक्ष तिमिल्सनाले जारी गरेको सन्देशमा भनिएको छ, ‘संविधानको रक्षा र कार्यान्वयनमा क्रियाशील शक्तिले उच्चतम समझदारी बनाएर अघि बढ्नुपर्ने आवश्यकता अहिले रहेको छ भने अबका दिनमा हाम्रा प्रयास शासन व्यवस्था सुदृढ र संस्थागत गर्दै सुशासन कायम गर्नतर्फ केन्द्रित हुनुपर्दछ ।’

संविधान जारी भएको आठ वर्षको यस अवधिमा राजनीतिक परिवर्तन संस्थागत भए पनि जनताले तुरुन्त आर्थिक विकास, सामाजिक न्याय र सुशासनको अनुभूति गर्न नपाएकाले जनाउँदै उनले सन्देशमा संविधानले परिकल्पना गरेका विषयलाई कार्यान्वयन गर्नसकेमा मात्र सङ्घीयता र गणतन्त्र बलियो हुने भएकाले सरकार र सम्बद्ध सबै पक्षलाई संविधानको दिगो कार्यान्वयनमा ध्यानाकर्षण गराएका छन् ।  

‘अहिले पनि संविधानअनुसार बन्नुपर्ने धेरै कानुनहरू बनाउन नसक्दा मुलुकले अङ्गीकार गरेको सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहयुक्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासकीय व्यवस्थाको कार्यान्वयनमा समेत कठिनाइ भइरहेका छन्,’ उनले भनेका छन्, ‘संविधानमा भएका व्यवस्थाको कार्यान्वयनमार्फत नागरिकका आधारभूत आवश्यकता परिपूर्तिका साथै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा हुनेछ भन्ने विश्वास व्यक्त गर्दै पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ 






  • प्रकाशित मिति : असोज ३, २०८० बुधबार ९:३६:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया