पहाडी जिल्लामा चामल पठाउँदै खाद्य संस्थान

सुदूरपश्चिमका सात पहाडी जिल्लामा चाडपर्व नजिकिरहेका बेला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय धनगढीले खाद्यान्न (चामल) निर्यात गरिरहेको छ ।

सुदूरपश्चिमका पहाडी जिल्लाका डिपो र बिक्री केन्द्रका लागि चालू आर्थिक वर्षको सुरुको कोटा ४० हजार क्विन्टल चामल रहे पनि चालू आव सुरु भएको दुई महिना बितिसक्दा पनि चामल ढुवानीको ठेक्का प्रक्रिया सकिएको छैन ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय धनगढीका प्रमुख इन्जिला बस्नेतले चामल पठाउनका लागि ठेक्का प्रक्रिया अन्तिम चरणमा रहेको जनाउँदै हाल पछि स्वीकृत हुने र भाडा दिनेगरी आवश्यक जिल्लामा चामल पठाउने काम जारी रहेको बताइन् ।  

कैलाली र कञ्चनपुरमा धान खरिद गरी पहाडी जिल्लामा चामल पठाउने गरिएको सुदूरपश्चिममा कर्मचारी अभावकै कारण डिपो हटाएर बिक्री केन्द्र सञ्चालन गरिएको छ । ‘अहिले दार्चुलाको खण्डेश्वरी र बाजुराको कोल्टीमा डिपो र बाँकी सात पहाडी जिल्लाका विभिन्न स्थानमा ३६/३७ बिक्री केन्द्र सञ्चालमा छन्,’ प्रमुख बस्नेतले भनिन्, ‘पहिले सबै ठाउँमा डिपो थिए अहिले कर्मचारी अभावले बिक्री केन्द्रमा परिणत गर्नुपर्ने अवस्था आयो ।’ 

उनले केन्द्रले १ सय ६ जना नयाँ कर्मचारी पदपूर्ति गरिसकेको जानकारी दिँदै चाँडै पुनः डिपो नै सञ्चालनमा आउनेमा आशावादी रहेको बताइन् । सुदूरपश्चिममा सबैभन्दा बढी बाजुरामा गत आर्थिक वर्षमा १७ हजार क्विन्टल चामल बिक्री भएको थियो । चालू आवका लागि १२ हजार क्विन्टल कोटा निर्धारण गरिएको छ ।

‘अहिले बाजुराको कोल्टी डिपोमा पाँच सय क्विन्टल चामल मौज्दात छ’, बस्नतेले भनिन्, ‘बाजुरामा एउटा बिक्री केन्द्र र एउटा शाखा कार्यालयसमेत सञ्चालित छ ।’ त्यसैगरी, दार्चुलाको खण्डेश्वरी डिपोमा भने चामल अभाव देखिएको छ । त्यहाँ एक सय क्विन्टन मात्रै चामल मौज्दात रहेको छ ।



खण्डेश्वरी डिपोबाट वार्षिक दुईदेखि ४ हजार क्विन्टलसम्म चामल खपत हुन्छ । चालू आवमा खडेश्वरीका लागि १ हजार क्विन्टल कोटा निर्धारण गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अनुसार ११ बिक्री केन्द्रसमेत रहेको दार्चुलाका लागि ११ हजार ५ क्विन्टल चामल निर्धारण गरिएको छ । 

‘आवश्यकताअनुसार चामल थप हुन्छ’, बस्नेतले भनिन्, ‘आगामी चाडपर्वहरूका लागि सुदूरपश्चिमका नौवटै जिल्लामा सुपथ मूल्य पसलसमेत सञ्चालन गर्ने तयारी छ ।’ उनले चाडपर्वमा सुदूरपश्चिमका पहाडी जिल्लामा खाद्यान्न अभाव नहुने बताए ।   



बैतडी र डोटीबाहेक सबै जिल्लामा खाद्यका शाखा कार्यालय छन् । सुदूरपश्चिमका पहाडी जिल्लामा गत आर्थिक वर्षमा ४४ हजार क्विन्टन चामल खपत भएको थियो । ‘धान खरिद कैलाली र कञ्चनपुरबाट हुन्छ’, उनले भनिन्, ‘वार्षिक ३० देखि ५० हजार क्विन्टल चामल आवश्यक पर्छ ।’ 

पछि स्वीकृत गराउने गरी अहिले बाजुरा, डडेल्धुरा, बझाङ, अछाम र दार्चुलालगायतका जिल्लामा गरी १५ हजार क्विन्टल चामल निर्यात भइसकेको उनले जानकारी दिए । रासस 

  • प्रकाशित मिति : असोज ४, २०८० बिहीबार १३:४९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया