विप्लवको चेतावनी : विद्रोहमा सामेल भएकालाई अपराधीकरण गरे फेरि युद्ध लड्छौँ

नेकपा विप्लवका महासचिव नेत्रविक्रम चन्द विप्लवले तत्कालीन विद्रोहमा सामेल भएकालाई अपराधीकरण गरे फेरि युद्ध लड्ने चेतावनी दिएका छन् । 

जनअधिकार अभियान नेपालको आठौँ वार्षिक साधारणसभा एवं प्रगतिशील कानुन व्यवसायी एसोसियसन दोस्रो राष्ट्रिय सम्मेलन तथा संयुक्त उद्घाटन समारोहमा बोल्दै उनले परिर्वतनका लागि लड्नेहरूलाई दोषारोपण गरे फेरि लड्न तयार रहेको चेतावनी दिए । 

‘जसले गर्दा देश आज यहाँ आइपुगेको छ । उनीहरूलाई अपराधीकरण गरेर, पूर्वाग्रह राखेर, सामान्य कार्यकर्तादेखि कमान्डरसम्मलाई दोषारोपण गरिन्छ भने त्यसको प्रतिवाद हामी गर्छौं,’ उनले भने, ‘फेरि लड्न परे लडिन्छ, तर सहिँदैन ।’

उनले १० वर्षे सशस्त्र आन्दोलनलाई विभिन्न नाम दिने गरिएको भन्दै त्यसलाई उचित मूल्यांकन गर्न माग गरे । 
‘पहिलो न्याय १० वर्षे जनयुद्धलाई हुनुपर्यो, त्यो क्रान्ति हो कि होइन ? त्यसको न्वारन हुनुपर्यो । त्यो उग्रवादी समूहले लडेको लडाइँ हो कि नेपाली जनताले लडेको लडाइँ हो ?’ उनले भने, ‘के हो त्यही लेख्नुपर्छ । जसले गर्दा देश आज यहाँ आइपुगेको छ ।’ 

संसद भ्रष्टाचारीको अखडा बनेको उनको आरोप छ । ‘संसद गफ गर्ने, जनतालाई ठग्ने, नक्कली कुरा गर्ने ठाउँ, तस्करहरुको अखडा हुनुुभएन, भ्रष्टाचारीको अखडा हुनुभएन, तर संसदले संविधानलाई कार्यान्यवन हुने तहमा ल्याउनु पर्छ,’ यो संविधान तुलनात्मक रूपमा प्रगतिशील रहेको बताउँदै उनले भने, ‘यो संविधानको अनुसन्धान भने पनि यसको निमार्ण भने पनि १० वर्षको जनयुद्धको लडाइँ, बलिदान, त्याग, अनुसन्धानसँग जोडिएको संविधान यो जरुर हो ।’ 

उनले संविधानमा भएको हरेक कानुन व्यवहारमा व्यक्त हुनुपर्ने भन्दै यस्तो नभए संविधान कागजको खोस्टोबाहेक केही नरहने बताए । 



‘संविधान भनेको जनता, देश, परिस्थिति हो, यदि यसलाई जनतासँग अलग गर्ने हो भने त्यसको औचित्य समाप्त हुन्छ । नेपाली जनता र देशमा यो संविधान कति प्रतिविम्बित भएको छ र यसले जनता र समाजलाई कति समातेको छ,’ उनले भने ‘त्यसका आकांक्षा चाहनालाई प्रतिनिधित्व गर्ने कसरी गरेको छ । त्योसँग जोडेर हेर्नुपर्छ त्यो हिसाबले यो संविधान ठिक छ, तर जनताले जस्तो खालको संविधानको आशा राखेका थिए । त्यो पूरा हुन सकेको छैन ।’ 

यो संविधान अपूर्ण रहेकाले यसलाई विकास गरेर पूर्णता दिएको समयसापेक्ष संविधानको माग रहेको उनले बताए । 
उक्त कार्यक्रममा जनअधिकार अभियान नेपालप्रगतिशील कानुन व्यवसायी एसोसियसन अध्यक्ष एवं वरिष्ठ अधिवक्ता एकराज भण्डारी, नागरिक अगुवा डा.सुन्दरमणि दीक्षित, मावनअधिकारकर्मी चरण प्रसाईं, अधिवक्ता शिव रेग्मी, प्रगतिशील कानुन व्यवसायी एसोसियसन सचिव एवं अधिवक्ता देवी भण्डारी, नेकपा विप्लव स्थायी कमिटी सदस्य कर्णजित बुढाथोकी (सुशील)लगायतको उपस्थिति थियो ।



  • प्रकाशित मिति : असोज ६, २०८० शनिबार १८:२३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया