नेपाल यसरी बन्न सक्छ विदेशीका लागि शैक्षिक गन्तव्य

बर्सेनि लाखौँको संख्यामा विद्यार्थी बाहिरिरहेका छन् । लाखौँ विद्यार्थी पढाइको सिलसिलामा विदेश गइरहँदा नेपाली अर्बौँ रुपैयाँ पनि बाहिरिइरहेको छ । बर्सेनि लाखौँको संख्यामा विद्यार्थी विदेश जाँदा यसले देशमा विद्यार्थी जनशक्तिको अभावको संकेत देखिन थालेको छ । उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्यामा कमी भएपछि विज्ञले क्याम्पसलाई मर्ज गरेर गुणस्तरीय शिक्षा प्रदान गर्न सुझाब दिइरहेका छन् ।  

विश्वविद्यालय अनुदान आयोगले समेत मर्जमा जाने क्याम्पसलाई सहयोग उपलब्ध गराउने गरी कार्यक्रम अघि बढाउन थालेको छ । विभिन्न विश्वविद्यालयका मुलुकभरका एक सय ५० आंगिक क्याम्पसमध्ये २१ वटा क्याम्पसमा एक सयभन्दा पनि कम विद्यार्थी भर्ना भएका छन् । पाँच सय ३७ सामुदायिक क्याम्पसमध्ये दुई सय १८ क्याम्पसमा एक सयभन्दा पनि कम विद्यार्थी रहेको विश्वविद्यालय अनुदान आयोगले जनाएको छ ।

विश्वविद्यालयमा विद्यार्थीको चाप घट्नुको पछाडि बहुपक्षीय पाटा रहेको विश्वविद्यालयका उपकुलपति, डिन तथा प्राध्यापक बताउँछन् । विद्यार्थी कम हुनुको मुख्य कारण वैदेशिक आकर्षण रहेको उनीहरूको भनाइ छ ।

नेपालकै विश्वविद्यालयमा विद्यार्थी अड्याउन सरकारले नीति बनाउनुपर्ने शिक्षाविद् विद्यानाथ कोइराला बताउँछन् । यसका साथै उनले नेपाललाई शैक्षिक हबका लागि पनि सरकारले पहल गर्न आवश्यक रहेको बताए । 

‘नेपालको पढाइ र गराइको बीचमा सम्बन्ध राख्न नसक्दा विद्यार्थी विदेसिँदै छन् । यसलाई समयमै रोक्न आवश्यक छ । अहिलेका विद्यार्थीले तत्कालीन फाइदा खोज्छन्,’ शिक्षाविद् कोइराला भन्छन्, ‘तत्कालीन फाइदा भनेको कमाउँदै पढ्ने हो । त्यसैले सरकारले शिक्षाको नीतिमा परिवर्तन गर्न आवश्यक छ । स्वदेशी विद्यार्थीलाई नेपालमै पढ्ने र कमाउने वातावरण निर्माण गर्नुपर्छ ।’

‘विदेशी विद्यार्थीलाई पनि नेपालमा पढ्ने वातावरण निर्माण गर्न सहज छ । नेपालको वातावरणले विदेशी आकर्षित गर्छ । यहाँको संस्कृति, रहनसहनको अध्ययन गर्ने बाटो खोलिदियो भने विदेशी विद्यार्थीलाई पनि नेपालमा सहजै भित्र्याउन र पढाउन सकिन्छ,’ उनले भने । 



उनका अनुसार सरकारले अब पनि शिक्षा नीतिलाई परिवर्तन गरेन भने विद्यार्थीको चरम अभाव झेल्नुपर्छ । ‘सरकारको आगामी कदम भनेको स्वदेशका विद्यार्थी देशमै राख्ने नीतिका साथै विदेशी विद्यार्थी लक्षित पाठ्यक्रम निमार्ण गरेर उनीहरूलाई पनि नेपालमा बोलाउनुपर्छ,’ शिक्षाविद् कोइरालाले भने ।  

यस्तै, अधिकांश विद्यार्थी पढ्न जानेभन्दा पनि कमाउने उद्देश्यले विदेश गइरहेको इन्टरनेसनल एजुकेसन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइप्यान)का महासचिव रेस्टा झा बताउँछन् । 



‘पछिल्लो समय युवामा नेपालमा केही पनि छैन भन्ने सोच पलाएको छ । जसलाई हटाउन एकदम आवश्यक छ । उक्त सोच युवामाझबाट हटाउनका लागि सरकार र निजी पक्षबाट काम गर्न एकदमै जरुरी छ,’ महासचिव झाले भने, ‘नेपालमा पर्यटन व्यवसाय कस्तो राम्रो छ । यहाँको संस्कृतिलाई देखाउन सक्यौँ भने एकदम राम्रो हुन्छ । पर्यटनले नेपाललाई कहाँबाट कहाँ पुर्याइदिन्छ । यसमा आइडिया र प्रविधि हुन आवश्यक छ ।’

उनका अनुसार सम्भावनाका विभिन्न क्षेत्रलाई पहिचान गरेर काम गर्न आवश्यक छ । ‘पढ्नका लागि विदेश नै जानुपर्दैन । अन्तर्राष्ट्रिय डिग्री नेपालमै पनि केही कलेजले दिइरहेका छन् । स्वदेशमै इन्टरनेसनल डिग्री पाइरहेको छ भने विदेश किन जाने ?,’ उनले भने । 

‘नेपालको जस्तो भौगोलिक अन्त कहाँ छ ? नेपालमा यस्तो राम्रो मौसम छ । अन्तराष्ट्रिय विद्यार्थीलाई नेपालमा राम्रो सेवा, सुविधा दिन सक्यौँ भने बाहिरबाट विद्यार्थी आउन सक्छन्,’ महासचिव झा भन्छन्, ‘यसबारेमा कसैले कुरा गरिरहेका छैनन् । विदेश जाने कुरा मात्र भइरहेको छ । विदेशी विद्यार्थी कसरी भित्र्याउनेतिर सरकार तथा निजी क्षेत्रले ध्यान दिन जरुरी छ । चिकित्सा क्षेत्रमा बाहिरबाट विद्यार्थी आइरहेका छन् । त्यसैगरी, अन्य क्षेत्रमा पनि ल्याउन पहल गर्नुपर्छ ।’

उनका अनुसार विदेशी विद्यार्थी विभिन्न विधामा नेपालमा भित्र्याउन सकियो भने देशको अर्थतन्त्रलाई उकास्न मद्दत पुग्छ । 

नेपाललाई शैक्षिक हब बनाउनका लागि निजी क्षेत्र र सरकारले सहकार्य गर्न आवश्यक छ । ‘हामीले शिक्षा र विभिन्न क्षेत्र, जस्तैः पर्यटन, होटल व्यवसाय, ,कृषि, कलालाई पनि सँगसँगै लैजानुपर्छ,’ महासचिव झा भन्छन्, ‘अहिले जुन संख्यामा विद्यार्थी विदेश गइरहेका छन्, त्यसलाई समयमै रोकिएन भने नेपालमा युवा भेटिन नै मुस्किल पर्छ । युवा पुस्ताजति विदेश अनि नेपालमा वृद्धवृद्धा मात्र रहनेछन् ।’ समयमै सरकार र निजी क्षेत्र मिलेर नेपाललाई शैक्षिक गन्तव्य बनाउनमा काम गर्न एकदमै जरुरी रहेको उनको भनाइ छ । 

चिकित्सा शिक्षामा भित्रिँदै विदेशी विद्यार्थी 

नेपालमा चिकित्सा शिक्षाको स्नातक तह अध्ययनका लागि विदेशी विद्यार्थीको आकर्षण बढ्दो छ । नेपाली विद्यार्थी अध्ययनका लागि विदेशिने क्रम बढिरहेकै बेला नेपाल भने चिकित्सा शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको गन्तव्य बन्न थालेको छ । 

नेपालका विभिन्न मेडिकल कलेजमा एमबिबिएस अध्ययनका लागि यस वर्ष पाँच देशका तीन सय ८९ जना विदेशी विद्यार्थी भर्ना भएका छन् । नेपालमा एमबिबिएस र बिडिएस पठनपाठन हुने २१ वटा मेडिकल कलेज छन् ।

एमबिबिएसमा देशभर एक हजार ८ सय ९५ सिटमध्ये विदेशी विद्यार्थीका लागि पाँच सय ३४ छन् । तीन सय ८९ जना विदेशी विद्यार्थीमध्ये ९० प्रतिशत भारतका छन् भने अरू श्रीलंका, माल्दिभ्स, भुटान र अमेरिकालगायत देशका छन् ।

  • प्रकाशित मिति : असोज ८, २०८० साेमबार १८:३३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया