सुदूरपश्चिममा डेङ्गु : ८ महिनामा तीनको मृत्यु, ८ सय बढी सङ्क्रमित

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

बितेको ८ महिनामा सुदूरपश्चिममा ८ सय ७७ जनालाई डेङ्गुको सङ्क्रमण देखिएको छ । सुदूरपश्चिममा सबैभन्दा बढी सङ्क्रमण कैलाली, कञ्चनपुर र पहाडी जिल्ला दार्चुलामा देखिएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत हेमराज जोशीले डेङ्गु सङ्क्रमणबाट कञ्चनपुरमा दुई र दार्चुलामा एक गरी तीन जनाको मृत्यु भएको जानकारी दिए । ‘तथ्याङ्कानुसार यहाँ गत माघ महिनायता आठ सय ७७ जनामा सङ्क्रमण देखिसकेको छ’, उनले भने, ‘तर पछिल्लो समय सङ्क्रमण नियन्त्रण हुँदै आएको छ ।’ 

यहाँ सुदूरपश्चिम प्रदेश सरकारले सङ्क्रमित बिरामीको व्यवस्थापनमा सहजीकरण गर्ने, जिल्लामा रहेको स्वास्थ्य कार्यालयले सोसम्बन्धी सचेतना र कर्मचारीको क्षमता अभिवृद्धि गर्ने र स्थानीय पालिकाले लामखुट्टेको लार्भा नष्ट अभियान सञ्चालन गरिरहेको जानकारी दिए ।  

सुदूरपश्मिमा गत माघदेखि हालसम्म कैलालीमा ३ सय ७६, दार्चुलामा १ सय ९६, कञ्चनपुरमा एक सय ५९, अछाममा ५२, बाजुरामा ३२, डोटीमा १९, बझाङमा १३ र बैतडीमा ९ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गर्मी हुने क्षेत्रमा देखिँदै आएको डेङ्गुको सङ्क्रमण यसपटक सुदूरपश्चिमका पहाडी जिल्लामा समेत देखिएको छ । सङ्क्रमितमा ज्वरो आउने, आँखा दुख्ने, हातखुट्टा र ढाड दुख्नेलगायतका लक्षण देखिने गरेको छ ।

त्यसैगरी स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले डेङ्गु रोकथाम र सचेतना अभियान नौवटै पालिकामा सञ्चालनमा रहेको बताए । ‘कञ्चनपुरमा सङ्क्रमितमध्ये ८५ प्रतिशत भीमदत्त नगरपालिकामा प्रभावित छन्,’ उनले भने, ‘भीमदत्तका १९ वटै वडामा रोकथामका लागि सक्रियता बढेको छ ।’



उनले वडा–वडामा माइकिङ गर्ने, जोगिने उपायबारे नागरिकलाई जानकारी गराउनेलगायतका काम चलिरहेको बताए । ‘स्थानीय तहसित मिलेर लार्भा खोजेर नष्ट अभियान पनि सबै पालिकामा सञ्चालन गरेका थियौँ’, उनले भने, ‘पानी पर्ने क्रम चलिरहेकाले अझै यसको जोखिम कायम छ ।’ 

उनले यसको रोकथामका लागि जिल्ला प्रशासन कार्यालयबाट पनि नौवटै पालिकालाई पत्राचार भएको जानकारी दिए । रासस 



  • प्रकाशित मिति : असोज १०, २०८० बुधबार ९:४९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया