त्रिवि पुस्तकालयमा आइएसबिएन नम्बर वितरणमा अनियमितताको आरोप

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयअन्तर्गतको केन्द्रीय पुस्तकालयमा अन्तर्राष्ट्रियस्तरको पुस्तक नम्बर (आइएसबिएन) मा अहिलेसम्म करिब ६० हजार पुस्तक दर्ता भएका छन् । तीमध्ये पुस्तकालयमा २७ हजार पुस्तक मात्रै प्राप्त भएको जनाइएको छ । 

नेपालबाट प्रकाशित हुने पुस्तकलाई अन्तर्राष्ट्रिय बजारमा लैजानका लागि सो आइएसबिएन नम्बर अनिवार्यरूपमा लिनुपर्ने हुन्छ । पुस्तक प्रकाशकले सो आइएसबिएन प्राप्त गरेपछि पुस्तकलाई विश्व बजारमा किनबेच गर्न सकिन्छ ।  

आइएसबीएनको व्यवस्थाले नेपालबाट के कति पुस्तक प्रकाशित भए भनेर अभिलेख राख्नसमेत सहज हुने केन्द्रीय पुस्तकालयका निमित्त प्रमुख सागरराज सुवेदी बताउँछन् । सन् २००० मा नेपालले यसको सदस्यता प्राप्त गरेको थियो भने २०५६ माघ २२ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आइएसबिएनको शुभारम्भ गरेका थिए ।  

त्यतिबेला इन्टरनेसनल स्ट्यान्डर्ड बुक नम्बरको केन्द्रीय कार्यालय जर्मनीमा रहेकामा हाल बेलायतको लन्डनमा रहेको छ । सो कार्यालयले आइएसबिएन वितरणको जिम्मा नेपालमा भने त्रिवि केन्द्रीय पुस्तकालयलाई प्रदान गरेको छ । 

पुस्तकहरूलाई प्रदान गरिने अन्तर्राष्ट्रिय मानक पहिचान निःशुल्क नै दिने सो कार्यालयको प्रावधान रहे पनि नेपालमा भने शुल्क लिने गरिएको र त्यसवापत जम्मा हुने रकमको सदुपयोग नभएको नेपाल पुस्तक संघले दाबी गरेको छ । यसमा छानबिन गरी आइएसबिएनबापत उठाइने रकमको नियमन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, त्रिवि उपकुलपतिको कार्यालय, केन्द्रीय पुस्तकालयलगायत विभिन्न निकायसमक्ष ज्ञापनपत्र बुझाएको छ । 

यसरी लिने गरिएको रकमको कुनै अभिलेख नभएको र अमुक संस्थासँग मिली भागबन्डाका रूपमा प्रयोग गर्ने गरिएको ज्ञापनपत्रमा उल्लेख छ । केन्द्रीय पुस्तकालयले सुरुमा २५ रुपैयाँबाट सुरु भएर हाल ३ सय रुपैयाँ लिने गरेको छ ।



पुस्तकलाई दिइने यस्तो नम्बर विश्वव्यापीरुपमा मेसिनद्धारा पुस्तक पहिचान गरी प्रयोग गर्ने उद्देश्यले बनाइएको हो, तर व्यवहारमा भने त्यसो भएको पाइएको छैन । नेपाली प्रकाशक तथा लेखकहरूलाई निःशुल्क दिनुपर्ने उक्त आइएसबिएन वापत रकम लिएर गर्ने गरेको भए पनि उपयुक्त ढङ्गबाट त्यसको दर्ता भएको पाइएको छैन । 

क्रमाङ्क नम्बर वितरण पद्धतिलाई सूचना प्रविधिको माध्यमबाट व्यवस्थित नगरी झारा टार्ने काम मात्र गरिनुले सम्पूर्ण नेपाली प्रकाशक तथा लेखकहरुमाथि अन्याय भएको संघका महासचिव महेन्द्र सिवाकोटीले बताए । 



नेपाली नागरिकले बुझाएको रकम सरकारी कोषमा दाखिला हुनुपर्नेमा त्यसो नगरी भागवण्डामा दुरुपयोग भएको हुँदा यसको तत्काल निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने, त्यसो नभएमा अदालतमार्फत कानुनी उपचार खोजिने उनको भनाइ छ ।

हालसम्म उक्त क्रमाङ्कबापत उठेको लगभग १ करोड ६० लाख रुपैयाँबाट प्रकाशक र लेखकहरूबाट उपलब्ध गराएका पुस्तकहरूको छुट्टै पुस्तकालय स्थापना गर्नुपर्ने र त्यसका लागि आवश्यक भौतिक संरचना र सामग्री किन्ने भनिए पनि हालसम्म त्यस्तो कुनै पनि काम भएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यता पुस्तकालयका निमित्त प्रमुख सुवेदीले भने आइएसबिएनबापत उठेको रकममा कुनै हिनामिना नभएको, पारदर्शी ढङ्गबाट हिसाब राखिएको र निश्चित प्रक्रियाअनुसार नै खर्च हुने हुँदा अनियमित नभएको बताए । रासस  

  • प्रकाशित मिति : असोज १०, २०८० बुधबार १३:०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया