logo-img

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

प्रत्येक वर्ष २८ सेप्टेम्बरमा मनाइने सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

सन् २०१९ अक्टोबर १५ मा संयुक्त राष्ट्र सङ्घको महासभाको ७४ औँ सत्रले यो दिवस मनाउने निर्णय पारित गरेको थियो । युनेस्कोको सिफारिस र विश्वमा लोकतन्त्रका लागि सूचनामा पहुँचको आवश्यकतालाई ध्यानमा राखी संयुक्त राष्ट्र संघको महासभाले यो ऐतिहासिक निर्णय गरेको थियो । 

त्यसबेलादेखि विश्वभर र नेपालले यो दिवसलाई सम्झना मात्रै नभइ सूचनाको हकलाई सर्वसाधारण नागरिकका बीचमा पुर्‍याउने उद्देश्यसहित विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदै आएका राष्ट्रिय सूचना आयोगले जनाएको छ । 



जुलाई २०११ मा, संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार समितिले सूचनामा पहुँचको अधिकार अभिव्यक्ति स्वतन्त्रताको एक अन्तर्निहित हिस्सा हो भन्ने विषयलाई स्वीकार गरेको थियो । 

यो अधिकारका मुख्य दुई आयाम छन् । पहिलो राज्यलाई सीमित अवपादबाहेकका सूचना दिने दायित्व र सार्वजनिक हितका सूचना स्वतः प्रकाशित गर्ने । संयुक्त राष्ट्र सङ्घको दिगो विकास लक्ष्यको सूचकाङ्क १६.१०.२ ले सूचनाको हकसम्बन्धी प्रभावकारी कानुन निर्माण तथा कार्यान्वयन गर्ने जिम्मेवारी तोकेको छ । 

सूचनामा पहुँचले सार्वजनिक निकायको पारदर्शिता र जवाफदेहिता बढाउँछ, भ्रष्टाचारका अवसर घटाउँछ, सचेतनाका कारण सेवा प्रवाहमा सुधार गर्छ, सुशासनका लागि योगदान गर्छ, सूचना खोज्न नागरिकलाई सशक्त बनाउँछ, नागरिकको सहभागिता बढाउँछ, सार्वजनिक निकाय र नागरिकबीचको खाडल घटाउँछ र सार्वजनिक निकायउपर सर्वसाधारण नागरिकको विश्वास बढाउँछ ।  



विशेष गरी ग्रामीण क्षेत्रका नागरिक, सीमान्तकृत समुदाय र पिछडिएका समुदायमा सूचनाको हकका बारेमा अझै पर्याप्त जानकारी र चेतना पुग्न बाँकी रहेको छ । आयोग, सूचनाको हकका अभियानकर्मी तथा आमसञ्चार माध्यमबाट सूचना प्रवाह गर्नुपर्ने जिम्मेवारीमा रहेका सार्वजनिक निकाय र सूचनाको आवश्यकता पर्ने नागरिक तहमा चेतनाको स्तर बढाउन प्रयास भइरहेको आयोगले जनाएको छ ।  

युनेस्कोले यस वर्षको दिवसका लागि सूचनामा पहुँचका लागि अनलाइन स्पेशको महत्व भन्ने नारा तय गरेको छ । यसै विषयलाई प्राथमिकतामा राखेर विविध कार्यक्रमको आयोजना गरिरहेको छ । यही विषयवस्तुमा केन्द्रित रहेर आयोगले पनि अनलाइन स्पेश र सूचनाको हक : अवसर र चुनौती विषयक राष्ट्रिय गोष्ठीको आयोजना गरी अनलाइन स्पेशको सदुपयोगबाट सूचनाको हकको प्रवर्द्धनका लागि प्रयास गर्ने प्रमुख आयुक्त एवं आयुक्तले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । 



पछिल्लो अवधिमा आयोगले सही सूचना प्रवाहका लागि सामाजिक सञ्जाल, इन्टरनेट, इमेलजस्ता विद्युतीय माध्यमको सदुपयोगमा जोड दिँदै आएको छ । यसबाट स्वाभाविकरूपमा सूचना मागकर्ता र सार्वजनिक निकायलाई सहज बनाएको विश्वास आयोगको रहेको छ ।

यस अवसरमा सूचनाको हकका लागि राष्ट्रिय महासंघले पनि सम्मेलन गर्न लागेको जनाइएको छ । सम्मेलनमा देशभरका चार सय जनाको सहभागिता रहने अध्यक्ष उमीद बागचन्दले जानकारी दिए ।  

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले सूचनाको हकको अभियानलाई तल्लो तहसम्म पुर्‍याउन राजधानीमा एक दिने राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।देशभर सूचनाको हकको महत्त्व र आवश्यकता महसुस गराई आमजनताले समेत सूचना माग्ने वातावरण बनाउन अभियानकर्ता, पत्रकार, नागरिक समाज, कानुन व्यवसायी, महिला, युवा, विद्यार्थी र काठमाडौं उपत्यकाभित्र रहेका सरकारी कार्यालयका सूचना अधिकारीको समेत सहभागितामा सम्मेलन आयोजना गर्न लागिएको महासङ्घले जनाएको छ ।

सम्मेलनका विषयमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष बागचन्दले समन्वयात्मकरूमा बृहत्तर छलफल गर्ने थलोका रुपमा सम्मेलन गर्न लागिएको बताए ।

नेपालको संविधानको धारा २७, सूचनाको हक सम्बन्धी ऐन २०६४, नियमावली २०६५, कार्यविधि एवं निर्देशिकासमेत बनिसक्दा पनि तीनै तहको सरकारले सूचनाको हकको विषयलाई आफ्नो बजेट, नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेका छैनन् ।  

  • प्रकाशित मिति : असोज ११, २०८० बिहीबार ७:७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया