logo-img

राज्य निरीह बन्दा चिकित्सकविरुद्ध आक्रमण बढ्यो : डा.कालुसिंह खत्री

केही दिन यता स्वास्थ्य संस्थाहरूमा चिकित्सकमाथि कुटपिटका घटना सार्वजनिक भइरहेका छन् । चिकित्सकमाथिको आक्रमणले अस्पताल बन्द गरेर चिकित्सकहरू आन्दोलित छन् । नेपाल मेडिकल काउन्सिलको अद्यावधिक विवरण अनुसार ३२ हजार २१८ चिकित्सक दर्ता भएका छन् । आफन्तको मृत्यु भएपछि अधिकांश चिकित्सकहरूले लापरबाही गरेको संज्ञा दिँदै हातपात गर्ने गरेको पाइएको छ ।

सरोकारवालाहरू बिरामी, बिरामीका आफन्त तथा चिकित्सकबीच बिरामीको उपचारका बारेमा निरन्तर संवाद हुन नसक्दा चिकित्सकहरू कुटिने घटना बढी रहेको नेपाल मेडिकल काउन्सिलका सदस्य डा.कालुसिंह खत्री बताउँछन् । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (संशोधनसहित) ले गरेको कसुर र दण्ड सजायसँग सम्बन्धित व्यवस्था भए पनि यो व्यवस्था कार्यान्वयन हुन सकेको छैन । 

चिकित्सकमाथि भइरहेको आक्रमण र यसले निम्त्याउने प्रभावमा केन्द्रित रहेर नेपाल मेडिकल काउन्सिलका सदस्य डा. खत्रीसँग गरिएको कुराकानी : 



पछिल्ला दिनमा चिकित्सकमाथि साङ्घातिक आक्रमण बढी रहेको छ, कसरी हेर्नुभएको छ ?

साङ्घातिक आक्रमणको विषयवस्तु त साह्रै डरलाग्दो छ । हाम्रो समाज के अराजकतातर्फ अग्रसर भएको हो ? दण्डहीनता, राज्य विहीनता, कानुनविहीनतातर्फ अग्रसर भएको हो ? यो प्रश्नलाई आम नेपाली नागरिकले गम्भीर रूपमा मनन गर्ने बेला भइसकेको छ । आम नेपाली मात्र नभएर सम्पूर्ण राष्ट्रिय मूलधारका राजनीतिकर्मीहरूले बुझ्न जरुरी छ । राज्य भनेको एउटा प्रणाली हो । 

मात्रै यो जमिन होइन । यस्तै अराजक हुँदै जाने हो भने हामी कता अग्रसर हुँदै छौ ? हामी असफल राष्ट्रतर्फ अग्रसर हुने सङ्केत देखिँदै छ । यसलाई रोक्न जरुरी छ । यो चिकित्सकमाथि भएको हिंसा भनेको त कम्प्लिट्ली राज्य विहीनता हो । हामी मणीपाल अस्पतालको घटना हेर्यौं भनेदेखि प्रहरीको अगाडि बसेर डाक्टरले कुटाई खाइरहेका छन् । अझ त्यसमाथि प्रहरी बाहिर आएर सानसँग मैले डाक्टरलाई कुटेर आएँ भन्छन् । 



यो भन्दा दण्डहीनको अवस्था कहिले हुनसक्छ ? जहिले पनि असुरक्षा हुँदा खेरी जानुपर्ने प्रहरी कहाँ हो ।  मान्छेले सुरक्षाका लागि खोज्ने प्रहरी प्रशासन हो । त्यो प्रहरी प्रशासन नै दण्डहीनताको अवस्था सृजना भइसकेको छ भनिसकेपछि यो राज्य कहाँ छ त ? राज्य नै नभएको अवस्था होइन र यो ।

उपचारका क्रममा असमझदारी हुँदा पनि चिकित्सकमाथि आक्रमण हुन्छ भनिन्छ वा अरू कुनै कारण पनि हुने गर्छ ?



अवस्था त्यस्तो मात्रै होइन । पछिल्लो पटक हेटौंडाको घटना म जोड्न चाहन्छु । हेटौंडामा बिरामीको उपचार भएको करिब एक महिना १५ दिन पश्चात् चिकित्सकमाथि टोल छिमेकका मान्छे भएर योजनाबद्ध साङ्घातिक आक्रमण भएको छ । पूर्व तयारीका साथ गरिने साङ्घातिक आक्रमणलाई क्षणिक आवेग वा क्षणभरको परिवेशमा भएको मान्न सकिँदैन । 

यो हुनुको अर्थ के भएको बुझिन्छ भने यो देश दण्डहीन हुँदै गइरहेको छ । राजनीतिक संरक्षकले दण्डहीनतालाई प्रश्रय दिइरहेका छन् । कुनै न कुनै प्रमुख दलको संलग्नता देखिने गर्छ । दल भन्नाले दलले संरक्षण दिएका व्यक्तिहरू । र, तिनीहरूलाई स्थानीय प्रशासनले कुनै कारबाही नगर्ने उल्टो जी, हजुरी गरेको प्रस्ट देखिन्छ । 

कतिपय घटनास्थलहरूमा मेडिकल काउन्सिलको तर्फबाट म पनि स्वयं पुगेको छु । त्यहाँ पुग्दा पनि मैले प्रहरीको निरीहता बाहेक केही देखेकै छैन । किन भन्दा दलका नेता, कार्यकर्ता संरक्षक हुनुहुन्छ, केही गर्न सकिँदैन । प्रत्येक दलआवद्ध व्यक्तिलाई यो देशको कानुनबाट छुट छ भन्ने किसिमको भाष्य निर्माण गर्दै गइरहेका छौँ । त्यसले गर्दा यो स्थिति सृजना भएको हो ।

सडक आन्दोलन पटक पटक हुन्छन्, सम्झौतामा टुङ्गिन्छन्, बीचमा चिकित्सक सुरक्षा सम्बन्धी कानुन पनि बने, कानुन पूर्ण भएर कार्यान्वयन नभएको कि कानुन नै अपूर्ण छ ?

कानुन पूर्ण थियो । तर, कानुन कार्यान्वयनको पक्ष एकदमै फितलो देखियो । कानुन भनेको कागजमा लेखिएका शब्द होइनन् । कागजमा लेखिएको शब्दको भरमा सबै कुरा हुने भए त हाम्रो संविधानमा त यो देश स्वर्ग नै लेखिएको छ नि तर स्वर्ग त छैन । व्यवहारिक रूपमा लागू हुनुपर्छ । राज्यको उपस्थिति भनेकै त्यही हो, लेखिएको कानुन कार्यान्वयन गर्नलाई ।  

मन्त्रीपरिषद् भनेकै त्यही हो, प्रहरी प्रशासन भनेकै त्यही हो । तर, यस्तो देखियो प्रहरी प्रशासन, मन्त्रीपरिषद् त्यसलाई आफ्नै धुन बाहेक अरू मतलब छैन । यो देशमा कानुन कसरी परिपालन गराउने ? कानुनी राज्य कसरी स्थापित गराउने भन्ने त देखिँदै देखिएन । 

मणीपाल, लमजुङको घटना हेर्नुभयो भने त प्रहरीको अगाडि हातपात भइरहेको छ, प्रहरीको अगाडि घाँटी समाउने कार्य भइरहेको छ । अनि प्रहरी मौन छ, चुपचाप छ किन भन्दा खेरी कहीँ न कहीँ कुनै न कुनै दलको संलग्नता छ । यसको अर्थ के हो भन्दा खेरी हिजोको दिनमा यो व्यवस्था प्राप्ति गर्दा खेरी राजा फालेर सबै समान हुन्छन् भनेको त्यो नभएर दलभित्र सबै राजा हुन्छन् भन्ने खालको भाष्य स्थापित गरिँदै छ ।

चिकित्सकहरू पनि दलमा आबद्ध हुन्छन्, उनीहरूले किन आफ्नो दललाई दबाब दिन सक्दैनन् ?

सबै जनाले आफ्नो दलीय आबद्धता छोडेर भए पनि होमिन बाध्य हुन्छन् र, होमिन्छन् । यसमा मेरो दल र तेरो दल भन्ने प्रश्न नै रहँदैन । सिद्धान्तप्रतिको एउटा आस्था होला तर यसरी गलत परिस्थिति र गलत भाष्य निर्माण गर्ने व्यक्तिहरूलाई बोक्न सकिँदैन । तिनीहरूलाई साथ समर्थन दिन सकिँदैन ।

चिकित्सकहरू सेतो कोटसहित सडकमा छन्, अब कार्य स्थलमा कहिले फर्किने ?

जबसम्म यस किसिमको दण्डहीनतालाई प्रश्रय दिने खालको अहिलेको व्यवस्था अन्त्य हुँदैन । हामी यो पटक स्पष्ट सन्देश दिन चाहन्छौँ, हामीलाई चलाएर बिच्काएमा राजनीतिकर्मीलाई हामी छोड्नेवाला छैनौँ । यसमा संलग्न प्रहरी मात्रै दण्डित भएर पुग्दैन । प्रहरी प्रशासन परिचालन गर्ने सर्वोच्च व्यक्तिदेखि लिएर तल्लो तहसम्मका सबै दण्डित भएपश्चात् मात्रै हामी कार्यस्थलमा फर्कन्छौँ ।

कतै चिकित्सकका कामहरूले नै उत्प्रेरकको भूमिका पनि खेलिरहेको छ की भनेर पनि त हेर्नुपर्ला नि ?

के छ भने चिकित्सकीय अभ्यासको क्रममा त्रुटी नै हुँदैन भन्ने छैन । त्रुटी हुन्छ । त्रुटी नियमन गर्नलाई मेडिकल काउन्सिल रहेको छ । मेडिकल काउन्सिलले धेरै हदसम्म आफ्नो भूमिका परिपालन गर्न नसकेको हो की भन्ने प्रश्न रहिरहन्छ । अब त्यसमा यावत समस्याहरू छन् । अहिलेको संरचनागत कुराहरू होलान् । कतिपय ऐन संशोधन, नियमावली संशोधन राज्यले नगरिदिएर  मेडिकल काउन्सिल स्वयंले पनि कतिपय चिजहरू गर्न नसकिरहेको अवस्था छ । 

चिकित्सकको पाटोबाट त्रुटी भन्दा पनि बढी क्षणिक आवेग भन्दा पनि बढी यो उद्दण्डता, दण्डहीनतालाई प्रश्रय दिने व्यक्तिहरूको संलग्नता बढी देखिन्छ । केही हदसम्म काउन्सिलमा पर्ने उजुरीहरूमा चिकित्सकको त्रुटी भेटिने गरेका छन् । तर, यसरी उद्दण्डता, अराजकता फैलाउने व्यक्तिहरूको केसमा धेरै केसहरू हामीले अध्ययन गरेका छौँ । कुनै किसिमको त्रुटी भेटिँदैन । उनीहरूको माग के हुन्छ भन्दा मेरो मान्छे अजम्मरी हुनुपर्‍यो, त्यो त संसारमा सम्भव नै छैन । त्यो असम्भव चिज त कसैले गर्न सक्दै सक्दैन । केही पाटोमा चिकित्सकको कमजोरी होलान् ।

त्यसलाई क्रमशः सुधार गर्नुपर्नेछ । क्रमिक सुधार हुन्छन् पनि । तर, अहिले देश राज्य विहीनता जस्तै भयो । म अहिले स्वयं मेडिकल काउन्सिलमा छु । छानबिन गर्ने समितिको प्रमुख छु । तर, एकोहोरो त हुन सक्दैन । एकातर्फ चिकित्सकको त्रुटीको छानबिन गरेर कारबाही पनि हुने अर्कोतर्फ कार्यक्षेत्रमा कुनै पनि किसिमको राज्यको उपस्थित नरहने । राज्यविहीन भइरहनुपर्ने हो भने मैले त्यो चिकित्सकबाट के अपेक्षा राख्ने । मैले त्यसलाई रिस्क लिएर उपचार गर भन्ने की नभन्ने उसलाई कुनै आकस्मिकतामा हात हाल भन्ने की नभन्ने । 

राज्य टुलुटुलु हेरेर बस्ने हो भने भोलिको दिनमा ठूला ठूला जटिल शल्यक्रिया कसले गर्छ यो देशमा । र, के बुझ्न जरुरी छ भने चिकित्सकीय कामलाई पेसा भनिँदैन संसारभर । यो त अभ्यास हो । हामीले पनि अभ्यास भन्छौँ । किनभने जति अभ्यास हुँदै जान्छ उति नै तिखारिँदै जाने हो । उति नै नयाँ नयाँ कुरा पत्ता लाग्दै जाने हो । साइन्स इन्कम्प्लिट छ । हरेक दिन नयाँ कुरा निस्किन्छ । भनिसकेपछि यसमा अभ्यास गर्ने व्यक्तिलाई हरेक परिणामलाई त्रुटी भनेर लापरबाही भन्नुहुँदैन । 

हाम्रो परिणाम त प्रस्ट छ नि कुनै पनि बिरामी उपचार गर्न गयो भनेदेखि कुनै पनि शल्यक्रिया गर्दा खेरी दुई वटामध्ये एउटा परिणाम आउँछ, कि उ बाँच्छ, कि उ मर्छ । बीचको परिणाम हुन्छ र । आधा बाच्ने आधा मृत्यु हुने भन्ने त संसारमा कतै पनि हुँदैन । प्रत्येक मृत्यु लापरबाही नै हो भन्न थाल्ने हो भने अस्पताल त सबै बन्द गरिदिए भयो । घरमा कोही मर्दैनन्, बाटोमा कोही मर्दैनन् । अस्पतालमा चिकित्सकले मात्रै मार्ने हुन् र । समाज यति अराजक । असहिष्णु,उद्दण्ड हुन मिल्दैन । 

देशमा कानुनी व्यवस्था कायम गर्ने हो । सबै सिस्टमका लागि भिड्ने हो । र, यसको मुख्य दायित्व त राजनीतिकर्मीकै हो । हामी प्रणालीमा विश्वास गर्छौँ । हरेक ठाउँमा व्यक्ति हाबी हुँदै जाने हो भने कसरी यो समाज अगाडि बढ्छ । अघिल्लो वर्ष दुई हजार आठ सय चिकित्सक नेपाल बाहिर गए । यो वर्ष अझै बढ्ने क्रम छ । भन्नुको अर्थ वर्षेनी तीन हजारदेखि ३ हजार पाँच सय चिकित्सक नेपाल बाहिर गइरहेका छन् । 

हामी कहाँ नयाँ दर्ता हुने एक हजार भन्दा तल झरिसकेको अवस्था छ । यो भनेको साह्रै भयावह अवस्था हो । यही अवस्था रहिरहे अबको पाँच सात वर्षमा हामी चिकित्सक विहीन हुन्छौं । अहिलेको सामाजिक, राजनीतिक परिवेशले क्षेत्रले त स्वास्थ्यलाई कम्प्लिट्ली कोल्याप्स बनाउन खोज्दै छ । अब त हाम्रो नियन्त्रण भन्दा बाहिर जान्छ ।  

  • प्रकाशित मिति : असोज १२, २०८० शुक्रबार ११:४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया