logo-img

निर्वाहमुखी कृषि प्रणाली परिवर्तन नभएसम्म विकास सम्भव छैन : स्वर्णिम वाग्ले

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

सांसद तथा अर्थशास्त्री डाक्टर स्वर्णिम वाग्लेले निर्वाहमुखी कृषि प्रणालीबाट परिवर्तन नभएसम्म विकास सम्भव नभएको बताएका छन् । 

‘नेपालको आर्थिक कूटनीतिको भूत र भविष्य’ विषयक अन्तरक्रियामा उनले नेपालमा अझै पनि अन्य क्षेत्रको तुलनामा कृषि क्षेत्र उत्पादनमुखी र आशा बोकेको क्षेत्र भए पनि यसलाई आधुनिकीकरण गर्न नसकिएको बताए । 

उनले वर्ष भरी काम गरेर खान नपुग्ने कृषि प्रणाली छोडेर नयाँ तर उत्पादनमुखी कृषि प्रणाली अवलम्बन गर्न सके मात्र विकास सम्भव हुने धारणा राखे । 

वाग्लेले भने, ‘कृषिको २४ प्रतिशतको हिस्सा घट्नुपर्छ भन्छु म,घट्छ पनि । तर, उत्पादकत्व चाहिँ बढ्नुपर्‍यो । कृषि क्षेत्रको अंश घटिरहेको छ । किनकि त्यो निर्वाहमुखी कृषिबाट हामी सबै भागेका हौँ । १६, १७ घण्टा काम गर्दा पनि बल्लबल्ल दुई छाक खान सक्ने कृषिबाट भागेका हौँ र भाग्नै पर्छ । नभए विकास नै हुँदैन । तर, यसको ठाउँमा थोरै इनपुटले पनि धेरै आउने खालको उच्च उत्पादन हुने कृषिमा हामी जानुपर्छ ।’

उनले कृषि मात्रै नभएर उद्योगको योगदानलाई पनि दश देखि १२ प्रतिशत सम्म पुर्‍याउन सकिने बताए । उनले ग्रिन इनर्जिको क्षेत्रमा नेपालमा सम्भावना देखिएको भन्दै त्यसतर्फ थप अध्ययन गर्नुपर्नेमा जोड दिए । 

‘नेपालको हकमा अब चाहिँ हामीले ग्रिन इनर्जिको बारेमा अध्ययन गर्नुपर्छ । मलाई लाग्छ बिसौँ शताब्दीको औद्योगीकरणको मोडलबारे कुनै सम्भावना नै थिएन नेपालको । अब चाहिँ जलवायु परिवर्तनले गर्दा विश्व नै कार्बन उत्सर्जनलाई न्यूनीकरण गर्नेमा लागेकाले हाम्रो लागि केही नयाँ सम्भावना ग्रिन इनर्जिको क्षेत्रमा देखिन्छ,’ वाग्लेले भने । 



सांसद वाग्लेले नेपालको पर्यटनमा ठूलो सम्भावना रहेको भन्दै हाल यो क्षेत्रको ११ प्रतिशतको योगदानलाई बढाएर २५ प्रतिशत सम्म पुर्‍याउनुपर्नेमा जोड दिए । तर, नेपालमा आउने पर्यटकको बसाई लम्ब्याउने र उनीहरूले खर्च गर्ने क्षमतामा वृद्धि गराउन योजनाबद्ध रूपमा काम गर्नुपर्ने उनको भनाई छ ।



  • प्रकाशित मिति : असोज १२, २०८० शुक्रबार १४:३७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया